
हिमाली जिल्ला ताप्लेजुङमा नयाँ उद्यम र रोजगारी वृद्धि भएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष ०८१/८२ मा ताप्लेजुङमा चार सय १७ जनाले नयाँ रोजगारी पाएका छन् । कार्यालय सूचना अधिकारी तथा उद्यम विकास सहजकर्ता नवीन भट्टराईले गत आर्थिक वर्षमा दुई सय ३० पुरुष र एक सय ८७ महिला गरी कुल चार सय १७ जना रोजगारी क्षेत्रमा प्रवेश गरेका छन् ।
यस्तै, आर्थिक वर्ष ०८१/८२ मा ५३ पुरुष र ५० महिला गरी एक सय तीनजना नयाँ उद्यमी थपिएका छन् । नयाँ उद्यमीको सहभागितासँगै रोजगार सिर्जनामा उल्लेख्य वृद्धि देखिएको कार्यालयका सूचना अधिकारी भट्टराईले जानकारी दिए ।
गत आर्थिक वर्षमा ताप्लेजुङमा कुल ९२ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी ४९ वटा कृषि तथा वनजन्य उद्योग छन् । यस्तै, पर्यटन क्षेत्रतर्फ १६, सेवामूलक १५, निर्माण सात, उत्पादनमूलक तीन र सूचना प्रविधिमूलक दुई उद्योग दर्ता भएका छन् । ऊर्जामूलक तथा खनिजजन्य उद्योग भने गत वर्ष दर्ता भएका छैनन् ।
भट्टराईका अनुसार हालसम्म ताप्लेजुङमा उद्योग क्षेत्रतर्फ दुई हजार तीन सय १५ र वाणिज्यतर्फ आठ सय ७९ उद्योगको दर्ता अभिलेखमा छ । आव ०७८/८२ मा एक सय ८४ उद्योग नवीकरण भएका छन् भने दुईवटा उद्योगले स्थान सारी, पाँचवटाले उद्देश्य थप, सातवटाले पुँजी वृद्धि र आठ उद्योगले नाम परिवर्तन गरेका छन् ।
यस अवधिमा एक करोड ७६ लाखबराबरको पुँजी थपिएको छ । उद्योग प्रशासनसम्बन्धी क्रियाकलापमा ६ वटा नामसारी, आठवटा लगत कट्टा, एक उद्योगका लागि सुविधा सिफारिस र अन्य एकलाई सिफारिस प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । राजस्व संकलनतर्फ गत आर्थिक वर्ष कार्यालयले १७ लाख सात हजार ६ सय ४३ रुपैयाँ संकलन गरेको छ ।