मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
अहमद इब्सैस
२o८२ श्रावण ३० शुक्रबार o९:५५:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्रमाण मेटाउन गाजामाथिको कब्जा लम्ब्याउँदै इजरायल

Read Time : > 3 मिनेट
अहमद इब्सैस
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार o९:५५:oo

शुक्रबार इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर कब्जा गर्ने विषयलाई अनुमोदन गर्‍यो । अनुमोदनले जारी इजरायली नरसंहारको अन्तिम चरणलाई औपचारिकता दियो । तर, २२ महिनाको व्यवस्थित नरसंहारपछि यो कब्जालाई अहिले किन औपचारिक बनाउने ? किनभने, गाजाको बाँकी भाग संसारले देख्नुअघि अपराध स्थललाई सफा गर्नुपर्छ । आइतबार इजरायली सेनाले अल–सिफा अस्पतालनजिकैको मिडिया टेन्टमा मिसाइल प्रहार गरेर अल जजिराका पत्रकार अनस अल–सरिफ, मोहम्मद क्रेकेह, इब्राहिम जहेर, मोहम्मद नौफल र मोमेन अलिवाको हत्या गर्‍यो । अक्टोबर २०२३ देखि इजरायलले मारेका २३० भन्दा बढी प्यालेस्टिनी पत्रकार र मिडियाकर्मीको लामो सूचीमा उनीहरूको नाम थपिएको छ ।

इजरायलले सबै विदेशी मिडियालाई गाजामा स्वतन्त्र रूपमा प्रवेश गर्न प्रतिबन्ध लगाएपछि प्यालेस्टिनी पत्रकारहरू इजरायली युद्ध अपराधको कभरेज र दस्ताबेजीकरणका लागि पूर्ण रूपमा जिम्मेवार भएका छन् । यो हत्या उनीहरूलाई रोक्न र मौन राख्नका लागि स्पष्ट सन्देश हो । यसैबिच, गाजामा एयरड्रप उडानमा सवार विदेशी पत्रकारलाई पनि चेतावनी दिइएको थियो । उनीहरूले जारी गरेको हवाई फुटेजमा गाजाको शवको झलक देखाइएको थियो, चकनाचुर कंक्रिट, भग्नावशेष र खोक्रो सडकको संरचना । यो पूर्ण उजाड छ ।

फुटेजले विश्वभरका दर्शकलाई स्तब्ध बनायो । तसर्थ, इजरायल सरकारले यी उडानका भिडियो खिच्न प्रतिबन्ध लगाउने तुरुन्तै चेतावनी दियो । सरकारको आदेश उल्लंघन भएमा सहायता सामग्री रोक्ने उसले चेतावनी दियो ।

इजरायललाई थाहा छ कि उसले गाजामा विदेशी मिडियाको पहुँचलाई सधैँभरि रोक्न सक्दैन । नरसंहार अन्तत: समाप्त हुनेछ, विदेशी पत्रकार र क्यामेरासहित सहायता सामग्री बोकेका सवारी र राहतकर्मीलाई भित्र जान अनुमति दिइनेछ । त्यसैले त्यो दिन आउनुअघि इजरायल प्रमाण मेटाउन दौडिरहेको छ, किनभने एकपटक संसारले गाजा देख्दा यो युद्ध प्यालेस्टिनीहरूको सामूहिक हत्या र उनीहरूको इतिहास मेटाउने प्रपञ्चबाहेक अरू केही थिएनन् भनेर बुझ्न नसकून् भन्ने इजरायल चाहन्छ ।

गाजा सहरको कब्जा भनेको त्यहाँका मानिसको नरसंहार हो । लक्ष्य केवल अपराध ढाकछोप गर्नु मात्र होइन, बरु संसारलाई यो कुरा विश्वस्त पार्नु हो कि मृतकहरू ‘मरेका’ छैनन् र हामी जे देख्छौँ, त्योे होइन ।

गाजामा मृत्यु हुनेको आधिकारिक संख्या ६० हजार रहेको छ, जुन आँकडा धेरै विज्ञको अनुमानमा अत्यन्तै कम हो । अनुमानअनुसार लाखौँ प्यालेस्टिनीहरूको हत्या भएको हुन सक्छ । संयुक्त राष्ट्र संघका विज्ञले अगस्ट ७ मा घोषणा गरेझैँ, ‘इजरायलले गाजाका मानिसलाई कुनै पनि र सबै तरिकाले निर्मूल पार्दै छ ।’ ढाकछोप गर्न अरू धेरै अपराध गरिएका छन् ।

हामीले गाजामा प्रमाण नष्ट गर्ने प्रयासमा इजरायली सेनाको कारबाही विधि पहिले नै देखेका छौँ । नरसंहार गरिएका हजारौँ नागरिकका शवलाई बुलडोजरले सामूहिक रूपमा गाडिएको छ, इजरायली सेनाले प्यालेस्टिनी यातनापीडितको शव रोकेको छ, सेनाले मृत्युदण्डका सम्पूर्ण अपराध दृश्य बालुवामा पुरेको छ, उसले तोडफोड गरेका अस्पतालमा हतियार राखेको छ, सेनाले सुरुङहरू पत्ता लगाउनेबारे झुट बोलेको छ ।

यो सबै इजरायलको अत्याचारको प्रमाण नष्ट गर्ने लामो इतिहाससँग राम्ररी मेल खान्छ । सन् १९४८ देखि इजरायली अधिकारीले लुटिएका प्यालेस्टिनी गाउँ र सहरको भग्नावशेषमाथि निर्माण गरेर प्यालेस्टिनीहरूको जातीय सफायालाई व्यवस्थित रूपमा मेटाएका छन् ।

इजरायली गुप्तचर संस्थाले १९४८ को नाक्बाको समयमा इजरायली सेनाले युद्ध अपराध गरेको प्रमाण प्रदान गर्ने अभिलेखबाट कागजात पनि हटाएको छ । हराएका केही कागजातले प्यालेस्टिनीको नरसंहारको समयमा यहुदी लडाकुको क्रूरताबारे भयानक विवरण दिन्छन् । जस्तै, हेब्रोननजिकैको दावेमेह गाउँमा सयौँ प्यालेस्टिनी पुरुष, महिला र बालबालिका तोपखानाको गोलीबाट मारिएका थिए वा प्रत्यक्ष रूपमा मृत्युदण्ड दिइएको थियो । सन् १९५५ मा प्यालेस्टिनी गाउँको भग्नावशेषमा अमात्जियाको बस्ती निर्माण गरिएको थियो ।

गाजापट्टीको उत्तरी भाग कब्जा गरेर इजरायलले निश्चित रूपमा मेटाउने र झुटा कुरा फैलाउने पहिल्यैका तरिका अपनाउनेछ । उसले अहिलेसम्म गरेजस्तै विदेशी मिडिया कभरेजलाई पनि नियन्त्रण गर्न सक्षम हुनेछ । इजरायली सेनाले कडा सर्तमा आफ्ना सैन्य एकाइसँग सम्मिलित विदेशी पत्रकारलाई गाजामा अनुमति दिएको छ । निश्चित पत्रकारले प्रकाशनअघि सैन्य समीक्षाका लागि सबै सामग्री पेस गर्नुपर्छ, निरन्तर निगरानीमा काम गर्नुपर्छ । पत्रकार प्यालेस्टिनीसँग स्वतन्त्र रूपमा बोल्न सक्दैनन् । यसरी पत्रकार इजरायली सेनाको मुखपत्र बन्छन् र प्यालेस्टिनी नागरिकलाई ‘मानव ढाल’ र गाजा अस्पताल र विद्यालयलाई ‘आतंकवादी केन्द्र’को रूपमा आफ्नो झुट प्रचार गर्छन् ।

पूर्णस्तरीय कब्जाले थप नरसंहार र जातीय सफायालाई सहज बनाउन पनि मद्दत गर्न सक्छ । जबर्जस्ती विस्थापन अस्वीकार गर्नेहरूलाई उनीहरूको हत्यालाई बहाना बनाउन ‘आतंकवादी’ भनेर लेबल लगाइनेछ । उत्तरी गाजामा प्यालेस्टिनीलाई चेतावनी दिँदै पर्चा खसाल्दै उनीहरूले ‘निकासी आदेश’ पालना नगरे उनीहरूलाई ‘आतंकवादी संगठनमा साझेदार’ मानिनेछ भनेर इजरायलले नरसंहारको सुरुवातमा यो रणनीति प्रयोग गर्‍यो ।

आफ्नो सेनाको कर्तुत ढाकछोपका लागि ठुलो मात्रामा विस्थापन गर्न आवश्यक छ, किनभने यसले प्यालेस्टिनीहरू जातीय रूपमा सफाया हुनुको सट्टा स्वेच्छाले बसाइँ सरिरहेका छन् भन्ने नयाँ भाष्य सिर्जना गर्छ । छोटो अवधिको लक्ष्य भनेको दक्षिणमा रहेको यातना शिविरमा पालना गर्न इच्छुकलाई जबर्जस्ती गर्नु र उनीहरूलाई घर र भूमिबाट अलग गर्नु हो । समयसँगै, प्यालेस्टिनीहरूलाई अन्यत्र निष्कासन गर्न र उनीहरूलाई फर्कने अधिकार अस्वीकार गर्न सजिलो हुनेछ । यो त्यस्तै तरिका हो, जसरी नाक्बा शरणार्थीलाई गाजामा भाग्न बाध्य पारिएको थियो, त्यसपछि उनीहरूको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त फिर्ताको अधिकार अस्वीकार गरिएको थियो ।

इजरायलको योजनाप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया केबल निन्दा मात्र भएको छ । जर्मनी गाजामा प्रयोग गर्न सकिने सैन्य निर्यात रोक्ने हदसम्म पुग्यो, जुन २२ महिनाअघि नै गरिनुपर्ने थियो, जतिवेला इजरायलले नागरिकलाई अन्धाधुन्ध बमबारी गर्न थाल्यो । यी कार्य दयनीय छन् । 

अब अन्तर्राष्ट्रिय समुदायले निर्णायक कदम चाल्नुपर्छ । अन्तर्राष्ट्रिय कानुनअन्तर्गत तोकिएअनुसार सैन्य हस्तक्षेप गर्नुपर्छ, जसले इजरायललाई तुरुन्तै हिंसा अन्त्य गर्न, गाजामा अप्रतिबन्धित मानवीय सहायता पुर्‍याउन र प्यालेस्टिनीलाई उनीहरूले पाउनुपर्ने स्वतन्त्रता दिन बाध्य पार्छ । ‘सैन्य अप्रेसन’को आवरणमा यो गायब हुनुभन्दा पहिले इजरायलको अपराधको बाँकी रहेका प्रमाण संकलन गर्न अन्तर्राष्ट्रिय पत्रकारलाई तत्काल पहुँच दिनुपर्छ ।

संसारले प्यालेस्टिनीहरूलाई विश्वास गर्न थाल्ने समय आएको छ । २२ महिनादेखि प्यालेस्टिनीहरूले यो नरसंहार हो भनेका छन् । उनीहरूले भग्नावशेषमुनि फसेका वेला, भोकाएका वेला, आफ्ना बच्चाको लास बोकेर यो भनेका छन् । उनीहरूले भनेका छन् कि इजरायलले आफ्नो रक्षा गरिरहेको छैन, बरु प्यालेस्टिनीहरूलाई मेटाउन खोजिरहेको छ । कब्जा र जातीय सफाया इजरायलीको लक्ष्य हो । इजरायली राजनीतिज्ञले आफैँले यो भनेका छन् । 

अलजजिराबाट