
सरकारले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रवीन्द्रलाई प्रोत्साहस्वरूप पाँच लाख रुपैयाँले सम्मान गर्न लागिएको प्रधानमन्त्री केपी ओलीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई भने दुई लाखसहित सम्मान गरिने सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । रवीन्द्रले गत साता भारतको नोयडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा चोङरङ कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै बान्टमवेट च्याम्पियन उपाधि जितेका थिए ।
उनी यो फाइट जित्ने पहिलो नेपाली खेलाडी हुन् । उनले यस जितपछि आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा सुधारेका थिए । यसैगरी, कोरेनको पाँच फाइटको रेकर्ड तोडिएको छ । यसअघि बझाङका रवीन्द्रलाई काठमाडौं महानगरपालिकाले दुई लाखसहित पुरस्कृत गरेको थियो ।