मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २७ मंगलबार २१:o९:oo
Read Time : < 1 मिनेट
समाचार

विमानस्थलमा दुई महिनादेखि सुन बरामद ठप्प 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार २१:o९:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीका लागि पनि बदनाम छ। विगतमा विमानस्थलकै कर्मचारीको मिलेमतोमा ठुलो मात्रामा सुन तस्करी भएको बाहिर आइसकेको छ।

मिलेमतो नहुँदा पनि विभिन्न सामानभित्र लुकाएर ल्याइएका सुन हरेक हप्ताजसो बरामद हुन्थ्यो। तर, पछिल्लो दुई महिनायता विमानस्थलमा तस्करीको सुन बरामद हुन सकेको छैन। यसलाई सुरक्षा अधिकारीले अनौठो मानेका छन्। ‘सुन तस्करी नै भएको छैन,’ एक प्रहरी अधिकारीले भने, ‘कि हामीलाई झुक्याउने गरी नयाँ शैलीमा भइरहेको हुन सक्छ, हामी बुझिरहेका छौँ।’ बजेटमा सरकारले सुनमा लगाएको करका कारण पछिल्लो समय सुनको बिक्री कम भएकाले पनि तस्करी पनि कम भएको आकलन गरिएको छ। यद्यपि नेपालमा तस्करी हुने धेरै सुन भारततर्फ जाने भएकाले सुन बरामद ठप्प हुनुमा कारण भन्सारले पनि पत्ता लगाउन सकेको छैन। 

विमानस्थलका प्रहरी कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौर पछिल्लो दुई महिनायता तस्करीको सुन बरामद हुन नसकेको र यसको कारणबारे आफू पनि अनविज्ञ रहेको बताउँछन्। भरियाका रूपमा कमजोर आर्थिक अवस्थाका व्यक्तिलाई प्रयोग गरेर तथा वैदेशिक रोजगारीबाट फर्किएकालाई प्रयोग गरेर तस्करी हुने सुन विगतमा दैनिकजसो बरामद हुने गरेको थियो  ।

विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख दिलीपकुमार गौतम सुन तस्करी कम हुनुका धेरै कारण रहेको बताउँछन्। आफूहरूले चेकजाँचमा कडाइ गरेकाले पनि तस्करी कम भएको उनको भनाइ छ। ‘माग कम भएर पनि तस्करी कम भएको हुन सक्छ,’ उनी भन्छन्, ‘पछिल्लो समय बैंकहरूले पनि एकदमै कम सुन मगाएका छन्, गत आर्थिक वर्षको पाँच महिनामा त सुन नै आयात गरिएको देखिएन, भारतमा नेपालमा भन्दा सुन सस्तो छ भन्ने सुनिएको छ, त्यो पनि एउटा कारण हुन सक्छ ।’