
केही दिन शिथिल बनेको मनसुन फेरि सक्रिय बनेको छ । मंगलबार साँझबाट देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार बिहीबार बिहानसम्म देशभर वर्षाको सम्भावना छ । ‘आज रातिबाट बुधबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा वर्षाको सम्भावना छ, बुधबार रातिबाट बिहीबारसम्म लुम्बिनीका पश्चिम क्षेत्र, कर्णाली र सुदूर पश्चिममा वर्षा हुने देखिन्छ ।
मनसुनको न्यूनचापीय रेखा नेपालनजिक रहेकाले पूर्वी नेपालबाट वर्षाका गतिविधि बढेका हुन् । कोशी प्रदेशमा ६ घन्टामा ९७ मिलिमिटरसम्म वर्षा भएको छ। ‘मनसुनी रेखा भोलिसम्म पूर्वी र मध्य तराईनजिक रहन्छ, त्यसपछि लुम्बिनी र सुदूरपश्चिमका तराईनजिक हुने देखिन्छ,’ उनले भने। हावाको चाप कम रहेको क्षेत्र बनेको ठाउँमा जलवाष्पयुक्त हावाले रिप्लेस गर्दछ र त्यो बादलले वर्षा गराउँछ।
महाशाखाका अनुसार आगामी २४ घन्टामा मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको आकलन छ ।
मंगलबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। त्यस्तै, कर्णाली र सुदूरपश्च्मिका थोरै स्थानमा पनि वर्षाको आकलन गरिएको छ।