
काभ्रेको पनौती नगरपालिका–१, रयालेका ९१ वर्षीय हरिप्रसाद सापकोटा क्रान्तिकारी सोचका व्यक्ति थिए । पत्नीको मृत्यु भएपछि उनले पाँच छोरीहरू सुन्तली, कमला, विमला, निर्मला र राधिकालाई आफैँ पालन–पोषण गरी हुर्काए । उनले छोरीहरूलाई विभेद र अन्यायविरुद्ध लड्न सिकाए ।
आइतबार उनको निधन भयो । स्वास्थ्य समस्याका कारण दुई छोरी सुन्तली र कमला काजकिरिया बस्न सकेनन्, तर विमला, निर्मला र राधिका बुबाको काजकिरिया बसे । कानुनले छोरा–छोरीलाई समान अधिकार दिएको भए पनि उनीहरूले सामाजिक उत्पीडनको सामना गरिरहेका छन् ।
विमला बनेपा नगरपालिकाकी उपमेयर, निर्मला शिक्षक, र राधिका एमाले धादिङ जिल्ला कमिटीकी सचिव हुन् । उनीहरूलाई क्रमश: श्रीमान् हरिशरण दाहाल, नवराज भुर्तेल र सीताराम अधिकारीको साथ छ । तर, समाजका कतिपय व्यक्ति काजकिरिया बस्ने विमला, निर्मला र राधिकाको कदमप्रति असन्तुष्ट छन् ।
नेपालको संविधान र मुलुकी देवानी संहिताले छोरीलाई बुबाको सम्पत्ति, उत्तराधिकारी हुने र काजकिरिया गर्ने अधिकार स्पष्ट रूपमा दिएको छ । तर, सानैमा आमा गुमाएका यी छोरीहरूले विभेदविरुद्ध लड्न सिकाउने आफ्नै बुबाको काजक्रियामै भेदभाव सहनुपरेको छ ।
जीवनको उत्तरार्द्धमा बुबाको पालनपोषण र औषधोपचार छोरीहरूले नै गरे । बुबाका लागि कुनै कमी हुन दिएनन् । मृत्युपछिको संस्कारमा भने समाजले वञ्चित गर्न खोज्यो । तर, सामाजिक अभियन्तासमेत रहेका छोरीहरू समाजको धम्कीबाट डराएनन्, बुबाको काजकिरिया अघि सरे ।
नजिकका दाजुभाइको बहिष्कारसम्मको धम्कीपछि काभ्रे बनेपा नगरपालिकाकी उपमेयरसमेत रहेकी विमलाले पीडा पोखिन् ‘महिलामाथिको विभेद कहिले अन्त्य हुन्छ ? आफ्नो बुबाको काजक्रिया गर्दा सामाजिक बहिष्कारको मिटिङ हुँदै छ । हामीलाई पीडामाथि पीडा थप्ने बहस र बैठक तुरुन्त रोकियोस् । हामीले अरू कसैको वंशमा दखल गरेका छैनौँ । थप पीडा सहन सक्ने अवस्थामा छैनौँ ।’
विमलाले हजारौँ छोरीमाथि न्यायका लागि बहिष्कृत हुनसमेत तयार रहेर अघि बढेको बताइन् । ‘हामीलाई रोक्ने प्रयास र बहस कानुन र संविधानको बर्खिलाप छ । हामीले गरेको यो कामले हजारौँ छोरीमाथि न्याय हुनेछ । १३ दिन बुबाकै घरमा बसेर काजक्रिया गर्न देऊ, पीडा नदेऊ । १३ दिनपछि सधैँका लागि माइतीको ढोका बन्द गरेर कर्म घर फर्कनेछौँ,’ अधिवक्तासमेत रहेकी उनले भनिन् ।
अर्की छोरी राधिकाले बुबाले विभेद र अन्यायविरुद्ध लड्न सिकाएको स्मरण गर्दै भनिन्, ‘बुबाले सानैदेखि विभेद र अन्यायविरुद्ध लड्न सिकाउनुभयो । कहिलै झुक्न दिनुभएन । आज यो समाज तपाईंको काजकिरिया हामीलाई झुकाउने प्रयत्न गर्दै छ ।’ राधिका एमाले धादिङकी सचिव हुन् ।
नजिकका दाजुभाइले बहिष्कारजस्तो गरे पनि तीन दिदीबहिनी काजकिरिया बसेको एमाले काभ्रे जिल्ला कमिटीका सचिव एवं स्थानीय राजकुमार सापकोटाले बताए । ‘हजुरबा अस्पतालमा बित्नुभयो । त्यसपछि दाहसंस्कार, काजक्रिया कसरी गर्ने भन्ने छलफल भयो । छोरीहरूले गर्ने भनेपछि घाटमा गइयो । दागबत्ती दिनुभयो । प्रक्रिया अघि बढ्यो,’ उनले भने, ‘कसैले छोरीले गर्न हुन्छ, कसैले छोरीले गर्न हुन्न भन्ने विवाद भयो । छोरीहरूले आमाको सानैमा निधन भएपछि बुबाले कर्म, शिक्षा सबै दिनुभयो, हामी गर्छौँ, गर्न दिनुस् भन्नुभयो । तर, नजिकका दाजुभाइले नरुचाएजस्तो गरी बहिष्कार गर्नुभयो । उहाँहरूले विभेदविरुद्ध हामी उत्रिन्छौँ भनेर आँट गर्नुभयो । त्यसमा हामी केही दाजुभाइले साथ दियौँ ।’
नियमित कर्मकाण्ड गर्ने पुरोहितले समेत ‘म गर्दिनँ’ भनेर हिँड्न खोजेको उनले सुनाए । कानुनअनुसार कारबाही हुने बताएपछि तत्कालको काम गरे । उनका अनुसार नजिकका दाजुभाइको एउटा समूहले ‘छोरीहरूले लगाएको सेतो कपडा हेर्नुहुँदैन’ भनेर हिँडे । ‘पुरोहित पनि विवाद भएको बहना बनाउँदै नआउने भन्दै हिँडे । त्यसपछि नयाँ पुरोहित बोलाएर काम अघि बढाइयो,’ उनले भने ।
काजकिरिया बसेका हरिप्रसादका छोरीहरूलाई उनका श्रीमान्हरूको साथ छ । ‘बुबा–आमाको मृत्यु हुँदा काजक्रिया गर्न नै रोक्ने यस्ता एकल पक्षीय कुप्रथा र पुरुषवादी सोचको म कडा शब्दमा विरोध गर्छु । महिला पनि समान अधिकार, सम्मान र माया पाउन योग्य मान्छे हुन्, परम्पराको नाममा थोपरिएका यस्ता अन्याय अब चल्दैनन् । पुरुष मात्र होइन, महिला पनि आफ्ना आमा–बुबाको चितासामु गर्वका साथ उभिन सकून्, शोकमा आँसु बगाउन सकून् र आफ्नो धर्म पूरा गर्न सकून्,’ नवराजले भने ।
पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले विभेदबारे आफूकहाँ कुनै सूचना आइनसकेको र अब निगरानी गर्ने बताए । ‘छोरीहरूले दागबत्ती दिएको र माइतीमै बसेर काजक्रिया गर्नुभएको सूचना छ । विभेदबारे मलाई कसैले पनि केही भन्नुभएको छैन,’ उनले भने, ‘सामाजिक विभेद गरिएको हो भने त्यसको विरुद्धमा लाग्छु । तत्काल निगरानी गर्छु । छोरा र छोरीको हक बराबरी हुन्छ । सामाजिक रूपान्तरण हुनुपर्छ ।’
यस्तै, पनौती–१, रयालेका वडाध्यक्ष जयकुमार तामाङले घटनबारे बुझ्ने बताए । ‘मलाई अहिलेसम्म त्यस्तो जानकारी आएको छैन । केही समस्या परे वडा सहजीकरण गर्न तयार छ । घटनाबारे म बुझ्छु,’ उनले भने ।