Skip This
राष्ट्रिय गौरवको आयोजना : २५ वर्षअघि बन्न थालेको गिरिजाप्रसाद क्रिकेट रंगशाला अझै अधुरै 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
गिरिजाप्रसाद क्रिकेट रंगशालाको वर्तमान अवस्था ।
गणेश लम्साल विराटनगर
२o८२ श्रावण २७ मंगलबार १o:o४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय गौरवको आयोजना : २५ वर्षअघि बन्न थालेको गिरिजाप्रसाद क्रिकेट रंगशाला अझै अधुरै 

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १o:o४:oo

विराटनगर महानगरपालिका १९ बैजनाथपुरमा २०५७ सालदेखि निर्माण सुरु भएको गिरिजाप्रसाद क्रिकेट रंगशाला २५ वर्ष पुगिसक्दा पनि अझै अलपत्र अवस्थामा छ । अधिग्रहण भएको १७ बिघा जमिनमा बनेका केही संरचना पनि जीर्ण भइसकेका छन् । रंगशालामा समान्य घेराबारबाहेक अन्य खासै काम केही पनि भएका छैनन । धुलाम्मे क्रिकेट मैदानभित्र झारले भरिएका छन् । अरूतिर पनि अधुरा संरचना र वरिपरि झार–जंगलबाहेक केही छैन ।

सरसफाइ गरेर सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको यो रंगशालामा अझैसम्म एउटा व्यवस्थित कार्यलय र हेरचाह तथा व्यवस्थापनका लागि कर्मचारीहरूसमेत छैनन् । एकजना बृद्ध सुकेरेलाल सरदारदम्पतीले नि:शुल्क रंगशालाको समान्य निगरानी गरिदिँदै आएका छन् । रंगशालाभित्र अहिले बिजुलीसमेत बल्दैन भने जडान गरिएका सोलार पनि संरक्षण अभावमा थोत्रा भएर बल्दैनन् । हेरालु सुकरेलाल र उनको परिवार रंगशालाभित्रको अधुरो भवनमा टुकीकै भरमा बस्दै आएको छ । सातौँ राष्ट्रिय खेलकुदको समयमा बनाइएका टेनिस कोर्ट र सुटिङ भवन पनि जीर्ण भइसकेका छन् । क्रिकेट मैदानभित्र बनेका केही संरचनाको अवस्था पनि उस्तै जर्जर छ । बन्न लागेका केही संरचना पनि सबै अलपत्र र अधुरा छन् । तत्काल बैजनाथपुर हाल गिरिजा प्रसाद क्रिकेट रंगशाला विराटनगर–सहिद रंगशालाबाट झन्डै पाँच किलोमिटर उत्तर–पश्चिम दूरीमा पर्छ ।

रंगशालाका लागि १७ बिघा जग्गा खरिद
२०५७ सालमा सरकारले ८५ लाख रूपैंयामा १६ बिघा नौ कट्ठा जग्गा खरिद गरेर प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माण थालेको थियो । तर, हालसम्म क्रिकेट मैदानको सामान्य घेराबार र एउटा सानो खुला दर्शक प्यारापिट बनाउने काम मात्र भएको छ । यो रंगशाला मोरङको क्षेत्र नम्बर ४ मा पर्दछ । यसैले बैजनाथपुर क्रिकेट रंगशालालाई क्रिकेट मैदान मात्र नभएर बहुआयामिक स्पोर्टस् कम्प्लेक्सको रूपमा विकास गर्ने जनप्रतिनिधिदेखि संघ र प्रदेश सभाका उम्मेदवारले चुनावी मुद्दा बनाउँदै आएका छन । मोरङको क्षेत्र नम्बर ४ मा पर्ने यो रंगशालालाई स्पोर्टस् कम्प्लेक्सको रूपमा विकास गर्ने पहिले कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश आचार्य त्यसपपछि वामगठबन्धनका अमनलाल मोदीले प्रतिबद्धता गरेका थिए । यति मात्र होइन विराटनगर महानगरपालिकामा उम्मेदवार बनेका र बन्ने वडाध्यक्षदेखि प्रमुख र उपप्रमुखहरूले पनि यही रंगशालाको निर्माण कार्यलाई पूरा गर्न प्रतिबद्धता पत्रमा जनाउने गरेका छन् । प्रस्तावित गिरिजाप्रसाद क्रिकेट रंगशाला सबै खेलका गतिविधि आयोजना गर्न मिल्ने स्पोर्टस् कम्प्लेक्सको रूपमा विकास गर्ने भन्दै उम्मेदवारहरूले साझा चुनावी मुद्दा बनाए पनि पूर्णरूपमा स्तरोन्नति नहुँदा अझै घाँसे मैदानमै परिणत भइरहेको छ । बजेट अभावले अझै अन्य महत्वपूर्ण संरचनाहरू निर्माण हुन सकेका छैनन् ।

तत्काल बैजनाथपुर क्रिकेट रंगशाला निर्माणका लागि संरक्षण कर्ता तोकिएका महेश रिजालले रंगशालाको अवस्था पहिलेभन्दा र केही सुधार भए पनि बजेट अभावमा स्तरोन्नति कार्य अधुरै हुँदा अपूरो नै रहेको बताए । ‘रंगशालमा अझै चारैतर्फ प्यारापिट र पेभिलियन निर्माण गर्न बाँकी नै छ । तारजालीको ठाउँमा पक्की संरचना बनाएर घेराबार पनि भएको छैन । पेभिलियनका लागि आधारभूत जग खडा गरे पनि बजेट अभावमा काम अगाडि बढ्न सकेको छैन । सचिवालयको कार्यालय, खेल र खेलाडीका लागि आवश्यक भवन पनि बनेका छैनन् ।’ मोरङ खेलकुद परिषद्का क्रिकेट प्रशिक्षक महेश रिजालले रंगशालाको निर्माण सुस्त रहेको स्विकार्दै हिउँदमा प्रतियोगिता आयोजना हुँदा झार जंगल सरसफाइ गरेर आयोजना गराउने गरेको बताए । प्रशिक्षक रिजालले भने, ‘यसपालि पाँच करोड बजेट परेको भन्ने सुनिएको छ सायद अधुरा भवन पूरा हुन्छन् होला ।’

अधुरै अवस्थामा सातौँ राष्टिय खेलकुद सम्पन्न 
निर्माण सम्पन्न नभए पनि अधुरै अवस्थामा ०७३ मा बैजनाथपुर क्रिकेट रंगशालालाई समेत प्रयोग गरेर सातौँ राष्ट्रिय खुलकेद सम्पन्न गराइएको थियो । यहा“ क्रिकेट, सफ्ट टेनिस र सुटिङ खेलको अस्थायी पूर्वाधार तयार भएको थियो । पुरुष क्रिकेट खेलका लागि राष्ट्रिय खेलकुद परिषद्ले ६० लाख रुपैयाँको लागतमा (टर्फ विकेट) क्रिकेटको घा“से मैदान तयार गरेको थियो । मैदानको ३० यार्डमा घा“स रोपिएको थियो । त्यसैगरी, ४० लाखको लागतमा सुटिङ भवन र रेन्जको निर्माण गरिएको थियो । रंगशालाको अवस्थाबारे मोरङ क्षेत्र नम्बर ४ का सांसद तथा पूर्वमन्त्री अमनलाल मोदीले रंगशालाको सबै निर्माण कार्य सम्पन्न हुन करिब दुई अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेका छन् ।

कोशी सरकारबाट पनि बेवास्ता 
प्रदेश सरकारले पनि उक्त रंगशालाको स्तरोन्नति गरेर प्रदेशस्तरीय विभिन्न प्रतियोगिता सम्पन्न गराउने आश्वासन दिए पनि पूरा नभएको विराटनगरका क्रिकेटप्रेमीहरूको गुनासो छ । कोशी प्रदेश खेलकुद बोर्डका सूचना अधिकारी कालिदास भट्टराईले बैजनाथपुर रंगशालाको सबै संरक्षण र विकास कार्य सोझै राखेपले नै हेर्दै आएकाले आफूहरूलाई बजेट, कर्मचारी र अवस्थाबारे केही जानकारी नहुने बताए । बैजनाथपुर क्रिकेट रंगशालाको निर्माण कार्य पटक–पटक भ्रष्टाचार ढिलासुस्ती र अनियमिताको विवादमा पनि आउने गरेको छ । चार वर्ष प्रदेश सरकारले विनियोजन गरेको ३० लाख रुपैयाँमा स्तरीय पिच बनाउने बहानामा अनियमिता भएको थियो । तत्कालीन सामाजिक विकासमन्त्री जीवन घिमिरेले क्रिकेटका लागि अन्तर्राष्ट्रियस्तरको पिच बनाउन ३० लाख रुपैयाँ विनियोजन गरे पनि उक्त रकम खाल्डोमा माटो पुरेरै सकिएको थियो । 

मोरङ खेलकुद विकास समितिका सदस्यसचिव विनोदराजन पोखरेल भन्छन्–गौरवको आयोजना भएकाले माथिबाटै सबै हेरिन्छ । कति बजेट परेको छ र के–के संरचना कहिलेसम्म निर्माण हुन्छन् भन्नेबारे केही जानकारी छैन । हामीले त सुरक्षाको अवस्था बुझिदिने मात्र हो ।

क्रिकेट संघ मोरङ अध्यक्ष महम्मद कुरैसी भन्छन्– क्यान मोरङलाई वेलावेला जिल्ला खेलकुदसँग समन्वय गरेर क्रिकेट प्रतियोगिता गराउनेबाहेक अरू केही जानकारी छैन ।