Skip This
क्यानले पायो जर्सीमा वार्षिक दुई करोडभन्दा धेरैको प्रायोजक
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २६ सोमबार o९:४५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्यानले पायो जर्सीमा वार्षिक दुई करोडभन्दा धेरैको प्रायोजक

नासा सेक्युरिटिजसँग क्यानले तीन वर्षका लागि सात करोड रुपैयाँबराबरको सम्झौता गर्‍यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार o९:४५:oo

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रयोजक पाएको छ । क्यानले सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजसँग तीन वर्षका लागि सम्झौता गरेको हो । दुई पक्षबिच वार्षिक २.३६ करोड रुपैयाँको सम्झौता भएको छ । नासाले जर्सी प्रायोजन गरेबापत क्यानलाई तीन वर्षका लागि सात करोड रुपैयाँ दिनेछ ।

क्यानले जर्सी प्रायोजन टेन्डरमा न्यूनतम मूल्य दुई करोड रुपैयाँ राखेको थियो । अब नेपाली टोलीले अस्ट्रेलियामा हुने टी–२० सिरिजमा नयाँ जर्सी प्रयोग गर्नेछ । क्यानका अनुसार नेपालको जर्सीमा नासा सेक्युरिटिजको लोगो राखिएको छ । आइतबार एक कार्यक्रमबिच नयाँ जर्सीसमेत लन्च गरिएको थियो । 

राखेप सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चन्द र नासाका  म्यानेजिङ डिरेक्टर मदन पौडेलले संयुक्त रूपमा जर्सी अनावरण गरेका हुन् । सम्झौतामा क्यानका अध्यक्ष चन्द, क्यानकै जनरल म्यानेजर उत्सव ढुंगाना, नासाका म्यानेजिङ डिरेक्टर मदन पौडेल र नासाका अनिल श्रेष्ठले हस्ताक्षर गरेका छन् । क्यानका सचिव पारस खड्काले बिडिङ प्रक्रियाबाट नासा छनोट भएको बताउँदै तीनवर्षे सम्झौता गरिएको जानकारी दिए । उनले यो ऐतिहासिक सम्झौता भएको समेत बताए ।

अस्ट्रेलियाको सिरिजबाट टी–२० विश्वकपको तयारी 
नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार अस्ट्रेलियाको डार्बिनतर्फ जाँदै छ । डार्बिनमा १४ अगस्टदेखि हुने टप एन्ड टी–२० सिरिजमा सहभागी हुन नेपाली टोली त्यसतर्फ जान लागेको हो । सिरिजमा नेपालले अस्ट्रेलियाको बिग बास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशका ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले यस वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो । नेपालका प्रशिक्षक स्टुअर्ट लले पनि अस्ट्रेलिया भ्रमणले उत्कृष्ट टोली बनाउन सहयोग मिल्ने बताए । 

‘विश्वकपअघि अस्ट्रेलियामा हुने टी–२० सिरिजले नेपालको तयारी राम्रो हुने विश्वास छ,’ आइतबार क्यानले बिदाइ गरेको कार्यक्रममा स्टुवार्टले भने, ‘हामी सिरिजबाट एउटा उत्कृष्ट टोली बनाउँछौँ ।’ यसैगरी, कप्तान रोहितकुमार पौडेलले राम्रो टोली भएकाले प्रभावकारी तयारी हुने बताए । नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० आई सिरिज खेल्दै छ । त्यसपछि नेपाल विश्वकप छनोट खेल्न ओमान जानेछ । ओमानमा नौ टोलीबिच प्रतिस्पर्धा हुनेछ । शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।