Skip This
शान्तिवार्ताका नाममा रुसलाई युक्रेनी भूमि कुनै हालतमा दिन्नौँ : जेलेन्स्की
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
२o८२ श्रावण २६ सोमबार १o:२५:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

शान्तिवार्ताका नाममा रुसलाई युक्रेनी भूमि कुनै हालतमा दिन्नौँ : जेलेन्स्की

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार १o:२५:oo

 युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले शान्तिका नाममा रुसलाई आफ्नो भूमि कुनै हालतमा नदिने बताएका छन् । युद्ध अन्त्य गर्ने प्रयासमा वासिङटन र मस्कोले शिखर सम्मेलन गर्न सहमति जनाएपछि युक्रेनी राष्ट्रपतिले यस्तो बताएका हुन् । युक्रेन र युरोपले किभलाई वार्ताको हिस्सा बनाउनुपर्ने चेतावनीको बाबजुद पनि राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पले अगस्ट १५ मा अमेरिकी राज्य अलास्कामा भेटेर तीन वर्षदेखि चलिरहेको द्वन्द्व समाधान गर्ने प्रयास गर्नेछन् ।

शुक्रबार शिखर सम्मेलनको घोषणा गर्दै ट्रम्पले थप विवरण नदिई ‘युक्रेन र रुस दुवैको भलाइका लागि केही क्षेत्र साटासाट गरिने’ बताएका थिए । ‘युक्रेनीहरूले आफ्नो भूमि कब्जाकर्तालाई दिनेछैनन्,’ जेलेन्स्कीले केही घण्टापछि सामाजिक सञ्जालमा भने । ‘हामीविरुद्धको कुनै पनि निर्णय, युक्रेनविनाको कुनै पनि निर्णय पनि शान्तिविरुद्धको निर्णय हो । तिनीहरूले केही पनि हासिल गर्नेछैनन्,’ उनले भने ‘हामीविना वा युक्रेनविना युद्ध समाप्त हुन सक्दैन ।’

बेलायतका प्रधानमन्त्री केयर स्टारमरसँगको टेलिफोन वार्तामा जेलेन्स्कीले युक्रेनका सहयोगीलाई दिगो शान्ति प्राप्त गर्ने दिशामा ‘स्पष्ट कदम’ चाल्न पनि आग्रह गरे । संयुक्त राज्य अमेरिका, इयू राष्ट्रहरू र बेलायतलगायत किभका सहयोगीका राष्ट्रिय सुरक्षा सल्लाहकार बेलायतमा पुटिन–ट्रम्प शिखर सम्मेलनअघि शनिबार भेला भएका थिए । यस वर्ष रुस र युक्रेनबिचको तीन चरणको वार्ता फलदायी हुन सकेको छैन र युद्धरत पक्ष आ–आफ्ना अडानमा अडिग रहेकाले शिखर सम्मेलनले शान्ति पुनस्र्थापित गर्छ वा गर्दैन भन्नेमा शंका छ । फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा पूर्णस्तरीय आक्रमण सुरु गरेदेखि दसौँ हजार मानिस मारिएका छन् भने लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

पुटिनले युद्धविरामका लागि संयुक्त राज्य अमेरिका, युरोप र किभबाट धेरैपटक गरिएको आह्वानको प्रतिरोध गरेका छन् । जेलेन्स्कीले किभ ‘शान्ति पुनस्र्थापना गर्न सक्ने वास्तविक निर्णयका लागि तयार’ रहेको बताए । २५ वर्षभन्दा बढी समयदेखि रुसमा सत्तामा रहेका पूर्वकेजिबी अधिकारी पुटिनले यस चरणमा जेलेन्स्कीसँग वार्ता गर्ने कुरालाई अस्वीकार गरेका छन् । युक्रेनका नेताले त्रिपक्षीय शिखर सम्मेलनका लागि जोड दिइरहेका छन् र बारम्बार पुटिनलाई भेट्नु नै शान्तितर्फ प्रगति गर्ने एक मात्र तरिका भएको बताएका छन् ।