
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार सुशासन, पारदर्शिता र जनउत्तरदायित्वका साथ अघि बढ्ने बताएका छन्। पद तथा गोपनीयताको शपथपछि पदभार ग्रहण गर्दै उनले बागमती प्रदेशमा सुशासनलाई पहिलो प्राथमिकता दिने घोषणा गरे।
मुख्यमन्त्री बानियाँले मन्त्रालयको संख्या नबढ्ने पनि स्पष्ट पारेका छन्। उनले प्रदेश सरकारलाई सर्वपक्षीय सहभागितासहित समृद्ध बागमती निर्माणतर्फ अघि बढाउने प्रतिबद्धता जनाए। उनका अनुसार अहिलेको संरचनालाई नै व्यवस्थित गर्दै नागरिकलाई छिटोछरितो सेवा र विकासको अनुभूति दिलाउनेतर्फ सरकार केन्द्रित हुनेछ।
‘प्रदेशमा मन्त्रालयको संख्या बढ्दैन। संविधानले अधिकतम २२ मन्त्रालयको व्यवस्था गरे पनि त्यो उपयुक्त होइन,’ उनले भने, ‘बरु संविधान संशोधनमार्फत संरचना घटाएर मर्यादित र प्रभावकारी प्रणालीतर्फ जानुपर्छ।’
पार्टीभित्र देखिएको हालको विवादबारे प्रतिक्रिया दिँदै उनले सरकार परिवर्तन भइरहेको विषय र मन्त्री धेरै भए भनेर प्रदेशको गौरव घटेको कुरा केही हदसम्म सत्य भए पनि यसैलाई चिर्न बागमतीमा नयाँ सरकार बनेको उनले दाबी गरे। ‘हामी यसलाई व्यवस्थापन गर्छौँ। पारदर्शी, उत्तरदायी र जनताप्रति निष्ठावान भएर काम गर्नेछौँ,’ उनले भने।
दलीय विवादका विषयमा उनले विपक्षीसँग सहकार्य गर्ने र आफ्नै दलभित्रको मतभिन्नतालाई छलफलमार्फत समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाए। उनले भने, ‘अब बोल्ने मात्र होइन, काम सुरु हुन्छ । जनतालाई पारदर्शी र जिम्मेवार सरकारको अनुभूति दिलाउँछौँ।’