
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसालाई रास्वपा र राप्रपाले मानव तस्करीसँग जोडेको भन्दै आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै घिमिरेले गोयबल्स शैलीमा दुष्प्रचार गरिएको टिप्पणी गरे।
उनले भने, ‘संसदमा उभिएर सधैँ गालीगलौज गर्ने, भिजिट भिसाका नाममा मानव तस्करी गरियो भन्ने । भिजिट भिसा भनेको मानव तस्करी हो ? भिजिट भिसामा बाहिर कतै पनि नजाने कुन सांसद हुनुहुन्छ ?’
झन्डै ७० दिनदेखि रास्वपा र राप्रपाले संसद् बहिष्कार गरेको उल्लेख गर्दै उनले संसदमा आफ्ना कुरा राखेर हिँड्ने गरेकोमा पनि गम्भीर आपत्ति जनाए।
उनले भने, ‘संसदमा आफ्नो कुरा सुरुमा राख्ने, त्यसपछि संसद् बहिष्कार गरेर हिँड्ने।’ रास्वपा र राप्रपाको मागबारे ध्यानाकर्षण भइसकेको उल्लेख गर्दै उनले थपे, ‘तैपनि यो अभियान र अभ्यास बन्द भएको छैन। कति दिनसम्म यो चल्ने हो ?’