
कोही शिरमा ताज देख्छु कोही शिरमा नाम्लो,
कोेही घाँटीमा हार देख्छु कोही घाँटीमा दाम्लो...
पाँच मिनेट ३५ सेकेन्डको यो गीत अहिले नेपाली बजारमा चर्चामा छ । धनीले गरिब वर्गमाथि गर्ने विभेद र अत्याचार यो गीतको मूल विषय हो । ‘नाम्लो’ नामक यो गीत अछाम जिल्लाको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले गाएका हुन् ।
गजलकार नवीन चिरागले लेखेको नाम्लो गीतमा सम्पन्न वर्गले गरिब समुदायमाथि गर्ने थिचोमिचो र त्यसले उनीहरूमाथि भइरहेको विभेद बोलिएको छ ।
सम्पन्न वर्गको लवाइखवाईमा देखिने तडकभडक र अभावमा तड्पिएको गरिब समुदायबिच सामाजिक दूरी बढ्न थालेपछि यो गीत तयार गरिएको गायक साउदले बताए । ‘जनप्रतिनिधि भएपछि कुना कन्दरा पुगे,’ उनले भने, ‘जहाँ पुगे त्यहाँ विभेदै विभेद पाए । त्यसपछि पहिलोपटक यो गीत गाएको हुँ ।’ गीतका लेखक चिरागले पठाएका धेरै गीतहरूमध्येबाट छनाेट गरेर नाम्लोमै आवाज दिनअघि सरेको साउदले बताए । ‘यो गीत गाएपछि आनन्द आएको छ,’ उनले भने, ‘समाजको वास्तविक चित्र सुनाउन पाएँ, सानैदेखिको गीत गाउने धोकोपनि मेटेँ ।’ गरिबीले मानिसहरू निराश हुने दिन आउन नहुने भन्दै उनले सामाजिक विभेदहरू अन्त्यबारे चिन्तन गरिनुपर्ने बताए ।
नाम्लो र दाम्लोको भरमा धानिएका जीवनको उत्थान होस् भन्ने उद्देश्यले यो गीत लेखेका चिरागसँग अझै ६० बढी गीत र तीन सय बढी गजल तयार छन् । गजलकार चिराग नेपालमा औँलामा गनिने गजलकारमध्ये एक हुन् । उनको रेकर्डिङ भएको भने यो नै पहिलो गीत हो ।
२०७३ सालमा रचना गरिएको नाम्लो गीत रेकर्डिङपश्चात् यसको छायांकन काठमाडौंको जर्सिङपौवामा गरिएको थियो । जसमा गायक साउद, यशु भट्टराई र रेनु कुमालले मुख्य पात्रका रूपमा अभिनय गरेका छन् । यो गीतमा ढकारी गाउँपालिकाकै वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर थापासहित रिजन धामीलगायतको पनि अभिनय छ ।