
कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयकी प्रशासन प्रमुख सारदा सुवेदी प्रत्येक शुक्रबार अपराह्न उपकुलपति डा. सुवासश्री पोखरेलको कार्यकक्षमा पुग्छिन । शनिबार कहाँ र कसरी श्रमदान गर्ने, को–को सहभागी हुन्छन भन्ने विषयमा उपकुलपतिको स्वीकृति लिन्छिन् । त्यसपछि ‘वाट्सएप’मार्फत सबै पदाधिकारी, विभागीय प्रमुख, कर्मचारी, होस्टल वार्डन तथा सुरक्षा इन्चार्जहरूलाई सूचना पठाउँछिन । सूचना अनुसार शनिबार विहानै उपकुलपति,रजिष्टार, डिन, परीक्षा नियन्त्रक, विभागीय प्रमुखहरु अनि प्राध्यापक, शिक्षक, प्रशासन प्रमुखदेखि सामान्य कर्मचारी र विद्यार्थीहरू हातमा हँसिया, फरुवा, कुटो , खन्ती र दाँते बोकेर विश्वविद्यालयको तोकिएको स्थानमा आइपुग्छन् । अनि सबै सामुहिक रुपमा सरसफाई र सौन्दर्यीकरण गर्नमा जुट्छन् ।
मनमोहन प्राविधिक विश्वविद्यालयको बुढीगंगा ४ स्थित केन्द्रीय कार्यालयको प्रांगणमा आजकल प्रत्येक शनिबार बिहान यस्तै दृश्य देख्न सकिन्छ । शनिबार बिदाको दिन भएपनि यहाँका पदाधिकारी, कर्मचारी र विद्यार्थीहरू बिहानको समय ‘मर्निङ वाक’ हैन, ‘विश्वविद्यालय क्लिनिङ’ र ‘ब्युटिफिकेसन’मा खर्च गर्न थालेका छन्। स्कुल अफ इन्जिनियरिङका प्रशासन अधिकृत महेश राई भन्छन्, ‘सामुहिक श्रमदानले शरीर चलायमान हुन्छ, सहयोगी भावना बढ्छ र आफनो विश्वविद्यालय हो भन्ने माया पनि पलाउने रहेछ ।’
उनीहरु हरेक शनिबार समुहमा कहिले उपकुलपतिको कार्यालय, कहिले स्कुल अफ इन्जिनियरिङ, त कहिले स्कुल अफ एप्लाइड साइन्स एन्ड टेक्नोलोजीको परिसर अनि कहिले कर्मचारीको निवास र विद्यार्थीको छात्राबास अगाडि पछाडी सरसफाई गर्छन अनि वृक्षारोपण र फूलबारीको गोडमेल गरेर सौन्दर्यीकरण गर्छन् । ‘आफ्नो कार्यस्थल र बसोबासको ठाउँ आफैँले सफा गर्दा माया र अपनत्व झनै बढ्ने रहेछ’ उपकुलपति कार्यालयका वरिष्ठ लेखा अधिकृत सुजन भुर्तेल श्रमदानको अनुभव सुनाउँछन् ।
प्रशासन प्रमुख सुवेदीका अनुसार प्रत्येक शनिबार श्रमदानका लागि फरक फरक प्लटको छनोट गरिन्छ । त्यहाँ विश्वविद्यालयका पदाधिकारीहरु उपकुलपति, रजिष्ट्रार, डिनदेखी कर्मचारीहरु परीक्षा नियन्त्रक, प्राध्यापक, शिक्षक, लेखापाल, चौथो तहका कर्मचारी, चालक, विद्यार्थी, र सुरक्षा टोली समेत सामूहिक रूपमा श्रमदानमा सहभागी हुन्छन् । विश्वविद्यालयले श्रमदानका लागि आवश्यक उपकरण, फुल, फल र रुखका विरुवाहरु जुटाइदिन्छ र सहभागीहरूलाई चिया, बिस्कुट र पानी उपलब्ध गराउँछ ।
‘प्राविधिक विश्वविद्यालय भनेर हैन गरेर देखाउने संस्था हो । त्यसैले आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने सोचले हामीले यो अभ्यास सुरु गरेका हौं’, उपकुलपति डा. सुवासश्री पोखरेलले भने।