
नेपाल आयल निगम लिमिटेडले गत आर्थिक वर्ष ०८१/८२ मा अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटको तुलनामा आधा मात्रै भाउ घटाएर १४ अर्ब नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा १३.६४ प्रतिशतले गिरावट आएको थियो । तर, आयल निगमले स्वचालित मूल्य प्रणालीविपरीत गत आवमा पेट्रोल ६.४३ प्रतिशत, डिजेल र मट्टीतेल ७.५ प्रतिशत तथा हवाई इन्धन ८.७५ प्रतिशत मात्रै मूल्य घटाएर चर्को नाफा असुल गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १९ सय १० रुपैयाँ यथावत् छ ।
निगमले अन्तर्राष्ट्रिय बजारमा घटबढ भएकै दरमा नेपाली बजारमा पनि मूल्य समायोजन गर्ने गरी स्वचालित प्रणाली लागू गरेको दाबी गर्दै आएको छ, तर व्यवहारमा भने उपभोक्तामैत्री मूल्य कायम गर्न सकेको छैन । निगम स्रोतका अनुसार गत आवमा कुल तीन खर्ब ६७ अर्ब रुपैयाँको पेट्रोलियम कारोबार भएको छ । त्यसमध्ये, इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई तेल खरिद गरेबापत दुई खर्ब ६४ अर्ब भुक्तानी गरिएको स्रोतको भनाइ छ । सरकारलाई विभिन्न शीर्षकमा एक खर्ब २४ अर्ब कर बुझाएको निगमको अप्रशोधित वित्तीय विवरणमा उल्लेख छ ।
गत आवमा प्रत्येक महिना एक अर्बभन्दा बढी नाफा सुनिश्चित गरेर निगमले मूल्य समायोजन गरेको स्रोतको भनाइ छ । ‘स्वचालित प्रणाली भनेर हल्ला मात्रै गरिएको छ, गत आवमा अर्बभन्दा बढी नाफा सुनिश्चित नभएको कुनै महिना नै भएन,’ स्रोतले भन्यो, ‘ठुला पूर्वाधार निर्माण गर्न लागेकाले नाफा भएको रकम प्रयोगमा आउने देखिन्छ । तैपनि, उपभोक्तामैत्री मूल्य कायम गर्न व्यवस्थापनले ध्यान दिए संस्थाकै गरिमा माथि उठ्ने थियो ।’ आयल निगमका प्रवक्ता मनोज ठाकुरले भने स्वचालित मूल्य प्रणालीलाई कडाइका साथ लागू गरिएको दाबी गरे । आइओसीबाट प्रत्येक १५ दिनमा आउने नयाँ मूल्यसूची सार्वजनिक नै गरेर सोहीअनुसार मूल्य निर्धारण गर्दै आएको उनले बताए । ‘हामीले खरिद गर्ने इन्धनको भाउबारे प्रत्येक १५ दिनमा जानकारी सार्वजनिक गर्र्दै आएका छौँ,’ उनले भने, ‘आइओसीबाट खरिद दर कति बढेर वा घटेर आउँछ, सोहीअनुसार नेपालमा मूल्य समायोजन हुने गरेको छ ।’
निगमले चर्को नाफा राख्ने मात्र होइन, अन्य शीर्षकमा छुट्याएको रकमले गर्दा पनि अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन हुन नसकेको स्रोतको भनाइ छ ।
पेट्रोल–डिजेलबाट मात्र दैनिक दुई करोड नाफा
आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, ०८० अनुसार पेट्रोलमा २ प्रतिशत र डिजेलमा २.५ नाफा सुनिश्चित गरेर उपभोक्ता मूल्य समायोजन गर्दै आएको छ । देशभर दैनिक औसतमा पेट्रोल १८ लाख ५३ हजार लिटर र डिजेल ४४ लाख ६८ हजार लिटर खपत हुने गरेको छ । हालको मूल्यअनुसार २.५ प्रतिशतका दरले पेट्रोलमा दैनिक ७३ लाख ६५ हजार र डिजेलमा २ प्रतिशतका दरले दैनिक एक करोड ३४ लाख नाफा निगमले सुनिश्चित गरेको छ । जसकारण दैनिक पेट्रोल–डिजेलबाट मात्रै दुई करोड सात लाख रुपैयाँ नाफा असुल्दै आएको छ ।
निगमले पेट्रोल–डिजेलबाट असुलेको नाफाबाट केही रकम ग्यासको घाटा पूर्तिका लागि खर्चने गरेको छ । तर, दुईथरी मूल्य निर्धारण गरी ग्यासको घाटा पूर्ति गर्न निगमले चासो दिने गरेको छैन ।
स्वचालित प्रणाली पूर्ण कार्यान्वयन गरिएको छ : मनोज ठाकुर, प्रवक्ता, आयल निगम
स्वचालित मूल्य प्रणालीलाई कडाइका साथ लागू गरिएको छ । आइओसीबाट प्रत्येक १५ दिनमा आउने नयाँ मूल्यसूची सार्वजनिक नै गर्ने गरेका छौँ । हामीले खरिद गर्ने इन्धनको भाउ प्रत्येक १५ दिनमा आइओसीबाट आउने गरेको छ । उक्त मूल्यबारे जानकारी सार्वजनिक गर्र्दै आएका छौँ । आइओसीबाट खरिद दर कति बढेर वा घटेर आउँछ, सोहीअनुसार नेपालमा मूल्य समायोजन हुने गरेको छ ।
चितवनको लोथरमा सबैभन्दा ठुलो डिपो निर्माण सुरु
९१ हजार नौ सय किलोलिटरको भण्डारणगृह र अमलेखगन्जदेखि लोथरसम्म ६२ किलोमिटर लामो पाइपलाइन बन्ने
आयल निगमले चितवनको लोथरमा ९१ हजार नौ सय किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण सुविधासहितको हालसम्मकै सबैभन्दा ठुलो डिपो निर्माण सुरु गरेको छ ।
शुक्रबार दिउँसो लोथरस्थित २३ बिघा १२ कट्ठा जमिनमा कार्यालय उद्घाटन गरेर डिपो निर्माण सुरुवात गरिएको परियोजना संयोजक प्रदीप यादवले जानकारी दिए । ‘यहाँ हालसम्मकै सबैभन्दा ठुलो ग्रिनफिल्ट टर्मिनल बन्नेछ,’ उनले भने, ‘डिपोसम्म तेल ल्याउन अमलेखगन्जबाट पाइपलाइनसमेत विस्तार हुनेछ ।’
परियोजना संयोजक यादवले निर्माण सुरु भएको ५४ महिनामा काम सक्नुपर्ने सम्झौता भएकाले तोकिएको समयभित्रै निर्माण सक्ने योजना रहेको बताए । उनका अनुसार ६२ किलोमिटर दूरीको अमलेखगन्ज–लोथर पाइपलाइनको चार अर्ब २८ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको छ भने लोथरमा निर्माण हुने भण्डारणगृहसहितको ग्रिन फिल्ट टर्मिनलका लागि नौ अर्ब ८० करोड ८० लाख रुपैयाँ लागत अनुमान तयार गरिएको छ । पाइपलाइनको खर्च आइओसीले र भण्डारणगृहसहितको टर्मिनल निर्माणको लागत निगमले आइओसीलाई दिने र आइओसीले आफ्नै प्रक्रियाबाट डिपो निर्माण गरिदिने ‘जिटुजी’ सम्झौता भएको यादवले जानकारी दिए ।
दुई सय ७३ किलोलिटर प्रतिघण्टाको गतिमा पेट्रोलियम पदार्थ ढुवानी हुने पाइपलाइनमा जुनसुकै वेला नियमित रूपले ३२ सय किलोलिटर इन्धन स्टोरेज भइरहने निगमले जनाएको छ । वार्षिक २० लाख टन इन्धन ढुवानी गर्न सक्ने क्षमताको पाइपलाइन जडान हुने निगमले जनाएको छ । त्यस्तै, लोथरमा ९१ हजार नौ सय किलोलिटर क्षमताको भण्डारणगृह बन्नेछ । निगमका अनुसार पेट्रोल ३३ हजार, डिजेल ४६ हजार पाँच सय, मट्टीतेल एक हजार ६ सय र हवाई इन्धन १० हजार आठ सय किलोलिटर भण्डारण गर्न मिल्ने स्टोरेज ट्यांक बन्नेछन् । यसबाहेक दुई सय ५० किलोलिटर क्षमताका दुईवटा ट्रान्समिक्स ट्यांक र पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको समान ५० किलोलिटर क्षमताका चारवटा अन्डरग्राउन्ड रिजर्भ ट्यांकीसमेत निर्माण गरिने भएको छ ।