
मध्य–साउनको झरीसँगै अपि, नाम्पा हिमालमुनिका बस्ती कुहिरोले छपक्कै ढाकिएका छन् । कतिखेर घाम, कतिखेर हुस्सु र कुहिरो अनि बादल वर्षाको लुकामारीले यहाँको मौसम चलायमान छ । करिब सात हजार जनसंख्या भएको अपि हिमाल गाउँपालिकाको मध्यभाग भएर आफ्नै रफ्तारमा चमेलिया नदी बगेको छ । नदी वारिपारिका घुसा, खण्डेश्वरी, खात्तीलगायत गाउँमा यतिवेला यहाँको विशेष पर्व ‘सुर्माभवानीको जात’को धुमधाम तयारी चलिरहेको छ ।
साउन–८ गते औँसीका दिनदेखि औपचारिक रूपमा सुरु भएको सुर्माभवानीको जात(जात्रा)का लागि पञ्चमीदेखि तयारी अघि बढेको छ । जातका विशेष आकर्षणका रूपमा रहने ‘बिरे’हरू परिवारबाट छुट्टिएर अलग्गै बसिरहेका छन् । कतिपय बिरेहरू औँसीको दिनदेखि नै घरबाट मन्दिर तथा सामुदायिक भवनमा बसिरहेका छन् भने पञ्चमीदेखि सबै बिरेहरू घरबाट छुट्टिएका छन् । ‘बिरे’ भन्नाले सुर्माभवानीको जातका लागि दिनमा एक छाक खाने, मुहानको पानीमा हरेक दिन दुईचोटि नुहाउने, खाली खुट्टा हिँड्ने, रुद्राक्षको माला लगाएर बिहान–बेलुका शंख बजाउँदै आराधना गर्ने व्यक्ति हो । बिरेहरूलाई दुई श्रेणीमा विभाजन गरिएको हुन्छ । पहिलोचोटि धार्मिक यात्रामा सहभागीलाई बालोबिरे भन्ने गरिन्छ । बालोबिरेहरूले निकै कडा सामाजिक अनुशासनमा बस्नुुपर्ने हुन्छ । त्यस्तै एकचोेटि पहिले यात्रामा सहभागी भइसकेको व्यक्तिलाई बुढो बिरे भनिन्छ ।
बिरेहरू स्थानीय विशेष पहिरनसहित खाली खुट्टा अपि हिमाल गाउँपालिकाका विभिन्न गाउँबाट घाजिर र क्षेत्ती गाउँ पुग्छन् । त्यहाँबाट २४.५ किलोमिटर टाढा बझाङको सिमानामा पर्ने सुर्मासरोवर पुग्ने गर्छन् ।
सुर्मासरोवरमा देवीको आराधना गरी तलाउको माटोलाई प्रसादको रूपमा लिएर फर्कन्छन् । बिरेहरू सुर्मासरोवर जाँदा कापुचुली हिमालको आधार शिविर हुँदै पाँच हजार मिटरको उचाइबाट हिँड्ने गर्छन् । त्यसपछि कालिगाड हुँदै अर्काे पाँच हजार मिटरको दुबई पास भएर बिरे ओडार बस्नुपर्छ । दोस्रो दिन सरोवर पुगी पुन: बिरेओडार बसी अर्काे दिन क्षेत्ती गाउँ फिर्ता हुने चलन छ ।
अपि हिमाल गाउँपालिका–४ खण्डेश्वरीका ज्येष्ठ नागरिक बहादुर ठेकरेका अनुसार करिब ११औँ शताब्दीबाट सुर्माभवानीको जात निरन्तर रूपमा चल्दै आएको छ । सुर्माभवानीको चैत(लोक गायन)मा उल्लेख भएको प्रसंगअनुसार थार (जंगली जनावर)को भेषमा आएकी सुर्मादेवीलाई बझाङबाट आएका सिकारीले लखेट्दै ल्याएको र उक्त थार सरोवरमा पसेर आफ्नो साक्षात रूप देखाएपछि देवी पुज्ने क्रम थालनी भएको विश्वास गर्छन् ।
तत्कालीन समयमा घोगाडीका राउद भन्ने व्यक्तिले सुर्माभवानीको जातको सुरुवात गरेका थिए भन्ने मान्यता छ । उनीहरूमध्ये एक भाइ बझाङ र अर्काे भाइ दार्चुलाको क्षेत्ती बस्न थालेपछि दुवैतर्फबाट बर्सेनी देवीका लागि कठिन धार्मिक यात्राको थालनी भएको स्थानीय जानकार ठेकरे बताउँछन् । जुन हालसम्म चल्दै आएको छ । पूजाका लागि उच्च हिमाली क्षेत्रमा कठोर यात्रा गर्दै सुर्मासरोवर पुगेर हरेक तेस्रो वर्ष ठुली जात (जात्रा) मनाउने चलन चल्दै आएको स्थानीयको भनाइ छ ।
सुर्माभवानीले निर्माण गरेको भनिएको सुर्मासरोवर धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । यो समुद्री सतहबाट चार हजार तीन सय मिटरको उचाइमा छ ।
सुर्मासरोवरसम्मको यात्राका क्रममा खाली खुट्टा हिँड्ने गरिन्छ । कसैकसैले भाङ (गाजा)को दोचा लगाएर जाने गर्छन् । स्थानीयहरू प्राय: खाली खुट्टै हिँड्ने गर्छन् भने अन्य जत्तोर (जात्रामा जाने)हरूले दोचा लगाउने अनुमति पाउँछन् ।
खाली खुट्टा हिँड्नु वा दोेचा लगाउनुका पछाडि धार्मिक कारण छ । स्थानीय मान्यताअनुसार जब सुर्माभवानी हिमालतिर लागिन्, उनको पछिपछि निजेरी भन्ने सुर्माकी बहिनी पनि साथसाथै हिँडिन् । सुर्माभवानीले दोचा लगाएको भएर फटाफट हिँड्दै सरोवरमा स्नान गरिन् भने जुत्ता लगाएकी निजेरी ढिला पुगिन् । निजेरीले सुर्मासँग स्नान गर्ने ठाउँ माग्दा सरोवरको आधा भाग दिएकाले अहिले पनि तालको आधा पानी कालो र आधा पानी चम्किलो देखिने स्थानीय जानकार दलजित बोहरा बताउँछन् ।
उनका अनुसार तलाउको चम्किलो भाग सुर्माभवानीको हो भने कालो भाग निजेरीको हो । निजेरीलाई नकारात्मक शक्ति भएकी देवी र सुर्मालाई सकारात्मक शक्तिको प्रतीकको रूपमा लिने गरिन्छ । सुर्माभवानीले लगाएको दोचालाई पवित्र मान्ने गरिन्छ । तर, नकारात्मक शक्तिको रूपमा चिनिने निजेरीले जुत्ता लगाएको भन्दै निषेध गरिन्छ । अपि हिमाल गाउँपालिकाको अन्तिम बस्ती क्षेत्ती र दोस्रो अन्तिम बस्ती घाजिर गाउँमा मेला अवधीभर जुत्ता, चप्पल लगाएर हिँड्न पूर्ण रूपमा निषेध गरिने घाजिरका स्थानीय केशव धामी बताउँछन् ।
उच्च लेकाली हावापानी, यहाँको मौलिक संस्कृति तथा खानपानका लागि प्रशिद्ध सुर्माभवानीको जात १७ दिनसम्म चल्छ । औँसीको दिनपछि दसौँ दिनमा रतेडी हुन्छ । रतेडीबाट नै सुर्माभवानीको जात्रा पूर्ण रूपमा सुरु हुन्छ । त्यसपछि सात दिनसम्म यो जात्राको चहलपहलले खण्डेश्वर क्षेत्रको अन्तिम बस्ती क्षेत्ती र त्यसभन्दा तलको घाजिर गाउँमा पर्वको रौनकता छाउँछ । जुन आइतबारदेखि सुरु हुन गइरहेको छ ।
पहिलो दिन : रतेडी
औँसी वा पञ्चमीबाट एक छाक खाएर देवीको भक्तिका लागि बसिरहेका बिरेहरू नवमीका दिन घाजिर र क्षेत्ती गाउँतर्फ अघि बढ्छन् । त्यो राति यी दुई गाउँमा भव्य रतेडी मनाइन्छ । क्षेत्ती र घाजिर गाउँ यो क्षेत्रका बासिन्दाका पुर्ख्यौली गाउँ हुन् । यी गाउँ पुग्न अपि हिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीबाट एक दिन पैदल हिँड्नुपर्छ । रतेडीका लागि विभिन्न ठाउँमा बसोवास गर्नेहरू आ–आफ्ना पुर्ख्यौली गाउँ फर्किने गर्छन् । त्यस्तै अन्य क्षेत्रबाट सहभागी हुन आउनेहरू पनि रतेडीको दिनदेखि यी दुई गाउँमा आएर बसोवास गर्ने धामीको भनाइ छ ।
उनका अनुसार यहाँ आउने भक्तजनलाई उबादेशी, उनादेशी र बाइदेशी गरी तीन भागमा विभाजन गरिन्छ । उबादेशी भन्नाले क्षेत्ती गाउँ पुख्र्यौली भएका, उनादेशी भन्नाले घाजिर गाउँ पुर्ख्यौली घर भएका र बाइदेशी भन्नाले यी दुइ गाउँबाहेकका ठाउँबाट आउने जत्तोर (पर्वमा सहभागी) हुन् ।
रतेडीका दिन स्थानीयले पाथा गाउँनजिकको जंगलबाट निगालोको ‘बिरेलौरो’ काटेर ल्याउँछन् । सुर्माभवानीको जातमा सहभागी हुने बिरेहरूका लागि बिरेलौरो तयार पारिन्छ । बिरेलौरो तीन किसिमको हुन्छ । उबादेशी र उनादेशीकालाई ६ फिट लामो लौरो दिइन्छ भने बाइदेशीलाई साढे चार फिटको लौरो प्राप्त हुन्छ । त्यस्तै यो धार्मिक यात्रामा नेतृत्वदायी भूमिका खेल्न घाजिर र क्षेत्तीबाट दुईजना तोकेर उनीहरूका लागि साढे सात फिटको लौरो तयार पारिन्छ । उनीहरूलाई मूला भन्ने गरिन्छ । दुवै मुलाले सात दिनसम्म जातको नेतृत्व गरेर स्थानीय नियम पालना गराउँछन् ।
रतेडीको साँझ गाउँ प्रवेश गर्ने बिरे तथा अन्य पाहुनालाई घाजिर गाउँमा भव्य स्वागत गरिन्छ । क्षेत्ती गाउँमा भने यो दिन पुर्ख्यौली घर भएका बिरेहरूलाई मात्र जान अनुमति हुन्छ । स्वागतका क्रममा स्थानीय चाहाई नाच र ढाका बाजा बजाउने चलन छ ।
गाउँमा सबैजनाको स्वागत गरिसकेपछि घरघरमा भाग लगाएर खाना र बस्नको व्यवस्था गरिन्छ । यसरी एउटै घरमा दसौँजना बस्नुपर्ने अवस्था आए पनि त्यसको तयारी पहिलेदेखि नै गरिने पूर्वगाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल बताउँछन् । जातको अवधिभर गाउँमा आएर बस्ने जोकोहीले पनि नि:शुल्क खान–बस्न पाउँछन् । गाउँबाहिरबाट आउने हरेक व्यक्तिलाई देवीका भक्त मानेर नि:शुल्क खान–बस्नको व्यवस्था गर्ने चलन रहेको घाजिर गाउँकी बासिन्दा कौसा ठेकरे बताउँछिन् ।
रातभरि स्थानीय सांस्कृतिक लोकगायन गाएर रतेडी मनाइन्छ । रतेडीमा देवी–देवताका चैत, भाडिखेल, ढुस्को, फाग, धारुगीत, भल्लाउलो गाउने चलन छ ।
दोस्रो दिन : घाजिरबाट क्षेत्ती
जात्राको दोस्रो दिन घाजिरबाट क्षेत्ती जाने गरिन्छ । घाजिर गाउँमा आएर बसेका बिरेहरूसहितको लस्कर क्षेत्ती गाउँ जाँदा जुत्ता लगाउन र छाता ओड्न पाइँदैन । त्यस्तै टाउकोमा टोपी अनिवार्य लगाउनुपर्छ । यात्राका क्रममा जोला निसान (झन्डा), ढाके (बाजा), पुजारी, मुला र बिरेहरू क्रमश: हिँड्ने गर्छन् । स्थानीय वेशभूषामा सजिएका महिला पछिपछि बिदाइ गर्न हिँड्छन् । यात्रामा ढाको बजाएर चाहाई खेल्दाको प्रस्तुति बेजोड र मनमोहक हुने स्थानीय बासिन्दा जोहार सिंह मन्याल बताउँछन् । साढे एक किलोमिटर उचाइमा उक्लिएपछि क्षेत्ती गाउँबाट स्वागतका लागि सांस्कृतिक झाँकी आउँछ । दुवैतिरको समूह क्षेत्तीको ‘काना ढुँ ढुँ’ भन्ने ठाउँमा भेट हुन्छ । त्यहाँ एउटा सीमारेखा बनाइएको हुन्छ । घाजिर माइती भएका क्षेत्तीका दिदीबहिनीहरूले त्यो रेखा नाघेपछि मात्र अन्य यात्रु अगाडि बढ्न पाउँने मन्यालले जानकारी दिए ।
क्षेत्ती गाउँ प्रवेश गर्दा सुर्माभवानीका छोरा धौलापुर देवताका धामीलाई काँधमा चढाएर क्षेत्तीको मण्डपमा पुर्याइन्छ । त्यहाँ गाउँवासीले भव्य स्वागत गरेर सांस्कृतिक झाँकी प्रदर्शन गर्छन् भने साँझ घरघरमा लगेर मिठोमसिनो खुवाएर बसालिन्छ ।
तेस्रो दिन : क्षेत्तीबाट बिरेओडार
यो दिन सयौँ बिरेहरू सुर्मासरोवरका लागि प्रस्थान गर्छन् । बिरेहरूको संख्या एक सय ५० देखि दुई सयसम्म पनि पुग्ने गर्छ । कारण विशेषले यो संख्या तलमाथि हुन सक्छ । खण्डेश्वरीका स्थानीय ब्राह्मण विष्णु जोशीका अनुसार यात्राका लागि चोखोभोको बसेर आएकाहरूबाहेक अरूलाई यो यात्रामा सहभागी हुन निषेध गरिएको छ । हरेक बालोबिरेसँग एकजना बुढो बिरे हिँड्ने चलन छ । बालोबिरेहरूलाई सुर्माभवानीको भक्तका रूपमा विशेष पोसाक र शृंगारपटारसहित तयार पारेर पठाइन्छ । आधा बाटोसम्म बिरेहरूको झोला कनेरी (सहयोगी)ले बोकेर लग्छन्, त्यसपछि बुढा बिरेहरूले बोक्छन् । बालोबिरेहरू प्राय: झोला नबोकी हिँड्छन् ।
बिरेहरूलाई बाटोमा खानमा लागि लाडुच्युडा, साकार गेडीजस्ता स्थानीय परिकार तयार पारेर लग्ने गरिन्छ । क्षेत्तीबाट हिँडेको केही घण्टामा ‘अन्नीखाना’ भन्ने ठाउँमा पुगिन्छ । बिहान केही नखाई हिँडेका यात्री यहाँ पुरी, तरकारी, सुर्खानीजस्ता खानेकुरा खाजाका रूपमा खान्छन् । खानेक्रममा पनि विशेष नियमको पालना गर्नुपर्छ । हरेक यात्रीले खानेकुरा पाए–नपाएको यकिन गरेपछि मात्र मुलाले सम्पूर्णलाई एकैचोटि खान सुरु गर्ने अनुमति दिन्छन् । त्यसपछि मात्र खाजा खान सुरु गरिन्छ । अन्नीखानामा खाजा खाइसकेपछि त्यहाँ बचेको खानेकुरा त्यहीँ छाड्नुपर्छ ।
यात्राका क्रममा आफूखुसी कसैले कुनै खालको खानेकुरा खान पाउँदैन । मुलाको अनुमतिविना, अगाडि पछाडि हिँड्न र बाटो छाडेर दायाँबायाँ जान पनि नमिल्ने चलन छ । मुलाहरूले बस्न आदेश नदिँदासम्म हिँडिराख्नुपर्ने हुन्छ । कहीँ रोकिनुपर्यो वा कसैलाई कुनै समस्या पर्यो भने मुलाको अनुमति आवश्यक हुन्छ ।
केही घण्टाको उकालोपछि यात्रा ‘लाडचढाउना’ भन्ने ठाउँमा रोकिन्छ । त्यहाँ देवतालाई लाडुच्युडा चढाएर प्रसादका रूपमा बिरेहरूले पनि बाँडेर खाने गर्छन् । त्यसपछि पाँच हजार मिटरको उचाइमा पुगिन्छ ।
डडेल्धुरा, बैतडीका विभिन्न ठाउँबाट देखिने अपि, नाम्पा हिमशृंखलासँगै देख्न सकिने कापुचुली हिमालको फेदबाट बिरेहरूको यात्रा अघि बढ्छ । कापुचुली आधार शिविर भएर बिरफट्टा ठड्युल पासबाट कालीगाड झर्न अढाइ घण्टा लाग्छ । यो ओरालो भिरमा यात्रा निकै चुनौतीपूर्ण हुन्छ ।
बझाङ भएर बग्ने कालंगा नदीको मुहान नै कालीगाड हो । यहाँबाट फेरि उकालो सुरु हुन्छ । यो उकालो पनि ठाडै भएकाले यात्रीलाई चुनौती सिर्जना हुन्छ । साँझ अँध्यारो हुने वेलासम्म उकालो काटेर फेरि पाँच हजार मिटरको उचाइमा रहेको ‘दुबइखान’ पुग्ने गरिन्छ । दुबई पास भएर केही घण्टा ओरालो र तेर्साे बाटो पछ्याउँदै राति ११ बजेदेखि २ बजेसम्म बिरेहरू यस दिनको गन्तव्य बिरेओडार पुग्ने क्रम सुरु हुन्छ ।
यहाँ दुइटा ओडार छन् । उत्तरतर्फको माथिल्लो एउटा ओडारमा क्षेत्तीका बिरेहरू र त्यसभन्दा तलको ओडारमा घाजिरका बिरेहरू बस्छन् । बालाबिरेहरू अनिवार्य ओडारमा बस्नुपर्छ भने बुढा बिरे र अरूहरू नजिकका भेडीखर्कमा गएर पनि बस्न पाउँछन् । यहाँ पुगेर कुनै पनि खानेकुरो खान पाइन्न । ओडारमा पूरै रात भोकै बस्नुपर्छ ।
चौथो दिन : सुर्मासरोवर
सुर्माभवानीको जात्राको यो दिन सबैभन्दा महत्वपूर्ण दिन हो । अघिल्लो दिन उच्च हिमाली क्षेत्रमा करिब २० किलोमिटर खाली खुट्टा हिँडेर ओडारमा भोकभोकै बसेका बिरेहरू बिहान स्नान गरेर सुर्मासरोवरका लागि हिँड्छन् । बिरे ओडारबाट केही घण्टाको यात्रा सर्वाधिक कठिन हुन्छ । यसक्रममा चार हजार मिटरको उचाइमा पुगेपछि घुँडा र कुइनोले टेक्दै हिँड्नुपर्छ । यसरी हिँड्दा दायाँबायाँ कतै हेर्न मिल्दैन । बाटोमा आँखा अगाडि देखा पर्ने हरेक ढुंगामा हरियो झार राख्दै देवीको नाम जप्दै हिँड्नुपर्छ । घुँडा र कुइनो टेकेर हिँड्दा मुखमा हरियो घाँस राख्नुपर्ने नियम छ । सरोवरनजिक पुग्दा करिब तीन सय मिटरभन्दा बढी हात र खुट्टाले घिस्रेर हिँड्नुपर्छ । देवीलाई खुसी पार्न र आफूले गरेका गल्ती कमजोरीप्रति माफी माग्दै यसरी हिँड्ने चलन रहेको मुला हरिमल मन्यालको भनाइ छ । ‘मुखमा घाँस राखेर माफी याचना गर्ने र अगाडि देखिने ढुंगालाई देवताको प्रतीकका रूपमा घाँसले पूजा गर्ने चलन छ,’ मन्याल भन्छन् ।
तलाउको किनारमा पुगेपछि बिरेलौरो पानीमा डुबाएर अर्पण गरिन्छ । त्यसपछि देवीलाई चढाउन लगेको चाँदीको सानो काइँयो, सुनको टिलो (टुक्रो), सिक्का तथा अन्य चिनाबाना तलाउमा चढाइन्छ । तलाउको किनारमा श्राद्ध गर्ने, पिण्डदान गर्ने कामसमेत हुन्छ । केही घण्टासम्म चल्ने देवीको पूजापछि तलाउको माटोलाई ‘गंगामाटी’का रूपमा थैलीमा भरेर ल्याउने गरिन्छ । दार्चुलातर्फका बिरेहरूले बिदाइ गरेपछि मात्र बझाङतर्फको समूह तलाउमा आएर स्नान गर्न पाउँछ । बझाङबाट आउने तीर्थालुहरू तालमा भाला हान्दै, होहल्ला गर्दै आउने गर्छन् ।
सरोवरबाट फर्किएर बिरेहरू त्यो साँझ पुन: ओडारमै बस्छन् । त्यसपछि हरेक बिरेहरूबाट घिउ, तेल, पिठो संकलन गरेर पुरी पकाउँदै रातभरि भोज गरिन्छ । तेस्रो दिन दिउँसो मात्र खाना खाएका बिरेहरूले चौथो दिन राति करिब २२ घण्टापछि खान पाउँछन् ।
पाँचौँ दिन : बिरेओडारबाट क्षेत्ती
यो दिन यात्रीहरू बिरेओडारबाट बिहानै हिँड्छन् । फर्किंदा भने जाने वेलाकोजस्तो कठोर नियम पालना गर्नुपर्दैन । आ–आफ्ना समूहमा, आ–आफ्ना सुविधाअनुसार फर्किन पाउँछन् । त्यसपछि सबैजनाले बिरफट्टो भन्ने ठाउँमा आएर जम्मा हुनुपर्छ । साढे चार हजार मिटरको उचाइमा यहाँ बिरेदौडको आयोजना गरिन्छ । उकालोमा करिब दुई सय मिटरको दौडमा बालाबिरेहरू मात्र सहभागी हुन पाउँछन् । दौड जित्नेले मुलाबाट अबिरको टीका पाउँछन् भने विजेतालाई मुलासँगै हिँड्ने अधिकार प्राप्त हुन्छ ।
बिरेदौड सम्पन्न भएपछि क्षेत्तीतर्फको ओरालोमा बालाबिरेहरूले ब्रह्मकमल फूल टिप्ने गर्छन् । साढे चार हजार मिटरको उचाइमा लटरम्म फुलेको ब्रह्मकमल फूल टिपेर माला साट्न बगरमा फूलहरूको माला गाँस्ने काम हुन्छ । ब्रह्मकमललाई स्थानीयहरू ब्रह्मकोइला पनि भन्ने गर्छन् । शरीरभरि ब्रह्मकमलको फूल लगाएर साँझ पर्ने वेलामा क्षेत्तीगाउँतर्फ अघि बढ्छन् ।
क्षेत्ती गाउँमा बिरेहरूको भव्य स्वागत हुन्छ । सरोवरबाट ल्याएको गंगामाटी निधारमा लगाउँदै आफन्तहरूसँग खुसियाली मनाइन्छ । त्यो साँझ बिरेहरूलाई घरघरमा लगेर खुवाउने गरिन्छ । यो दिन क्षेत्ती गाउँका जुनसुकै घरमा जोसुकै गएर पनि खान र बस्न पाउने छुट हुन्छ । सरोवरबाट आउने बिरेहरूलाई देवीका अवतार मानेर घरघरमा भित्र्याएर राख्ने चलन रहेको स्थानीय युवा हेम बोहरा बताउँछन् ।
छैटौँ दिन : क्षेत्तीबाट घाजिर
जात्राको छैटौँ दिन क्षेत्तीमा विश्राम लिएका बिरेहरू घाजिर गाउँ पुग्छन् । स्थानीयद्वारा नाचगान गर्दै, चाहाई खेल्दै गाउँमा बिरेहरूको स्वागत गरिन्छ । सुर्माभवानीको मन्दिरमा पूजा गरेर घाजिर गाउँका बिरेहरू त्यहीँ बस्छन् भने क्षेत्ती गाउँका बिरेहरू फर्किन्छन् । यो दिन साँझदेखि नै भाडीखेल खेलेर रमाइलो गरिन्छ । घाजिर पुगेर सुर्माभवानीको जात्रा समापन हुन्छ । तर, क्षेत्ती गाउँमा भने जात्राको एक दिन अझै बाकी रहन्छ ।
साताैँ दिन : छैठ
जात्राको सातौँ दिन क्षेत्तीमा छैठको रौनक थपिन्छ । उबादेशी अर्थात् क्षेत्ती गर्खा पुर्ख्यौली भएकाले आफ्नो जेठो छोराको छैठ दिने चलन छ । छैठ दिनका लागि छोरा जन्मिने घरका हरेकले अनिवार्य रूपमा बोका वा बाख्रीको बलि दिने र भोज खुवाउने चलन रहेको स्थानीय दलजित बोहराले बताए । उनका अनुसार कुनै समय क्षेत्ती गाउँको मन्दिरमा जेठो छोरा वा छोरीको बलि दिने परम्परा थियो । कालान्तरमा आएर त्यो परम्परा पशुवलि दिने चलनमा बदलिएको हो । छैठसँगै हरेक तेस्रो वर्ष लाग्ने सुर्माभवानीको ठुलो जात्रा औपचारिक रूपमा समापन हुन्छ ।