मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 01 August, 2025
Invalid date format १२:४५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पर्यटक बढेपछि गोठमै आम्दानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४५:oo

बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटक पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान–बस्नमा सघाउँदै आएका गोठालाको आम्दानी बढ्न थालेको हो ।

पदमार्गआसपास र बुकीपाटनमा चिया–नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । पाटन पुगेका पर्यटक गोठमै बस्ने र खाने गर्दा भैँसीको दुध, घ्यू तथा भेडाको मासु खपत हुन थालेको र यसले आयआर्जनमा वृद्धि भएको गोठालाहरू बताउँछन् । पर्यटकलाई भैँसीको दुधसँगै खिर, चिया, मोही तथा दही खुवाएर आम्दानी गर्न थालिएको गोठालाहरूको भनाइ छ ।

बुकीपाटनका भैँसीगोठाला ७२ वर्षीय देवबहादुर विकले चरिचरनका रूपमा रहेको बुकीपाटन पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताए । ‘पहिला त ढोरपाटन ल्याएर घिउ बिक्री गरिन्थ्यो, माेही फालिन्थ्यो । हाल बर्खामा पनि पर्यटक भरिभराउ छन्, मोहीसमेत बिक्री हुन्छ,’ उनले भने, ‘पर्यटक बढेपछि यही गोठमा समेत बस्न आउँछन्, भैँसीको दुधको खिर पकाएर खुवाउँछु । गोठमै दुध, मोही बिक्री भएपछि बोकेर ढोरपाटन जानैपर्दैन ।’

बुकीपाटन उक्लनले बिचबाटोको चेप्टेढुंगामा गोठबाटै चिया बिक्री गरेर गुमानसिंह कुमाईंले पनि राम्रो आम्दानी गरिरहेका छन् । बुकी उक्लनेलाई प्रतिगिलास रु. १०० मा चिया बिक्री गर्दै आएको उनको भनाइ छ । दुधको चिया खपत भएपछि घिउ र दही बनाउने झन्झट नभएको कुमाईंले बताए ।

उनको गोठमा एकैदिन एक सय गिलाससम्म चिया खपत हुने गर्छ । तीनवटा भैँसी र ६० वटा बाख्रा पाल्दै आएका कुमाईंको घुम्ती गोठ पदयात्रा गर्ने छेउमै भएकाले असारयता दुध र चिया निकै खपत भएको हो । ‘बुकीमा चरेका भैँसीको दुधको चिया पदयात्रीले निकै मीठो मानेर खाने गरेका छन्, दुधबाट चिया बनाउन थालेपछि यो ‘सिजन’मा घिउ बनाउन आवश्यक छैन,’ उनले भने, ‘पर्यटकका कारण गोठमै पैसा आएको छ, पहिला–पहिला खेर जाने मोही पनि हाल महँगाे मूल्यमा बिक्री हुन्छ ।’

ढोरपाटनमा एक वर्षमै आठ हजारले पर्यटक वृद्धि भएपछि यसपटक बुकीपाटन गुल्जार बनेको छ । प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको संख्या बर्सेनि बढ्दै गएपछि घोडा सफारी, घरवास र गोठमा बस्ने पर्यटकका कारण आयआर्जनमा सघाउ पुगेको हो ।

ढोरपाटन सिकार आरक्षमा पहिले सिकार खेल्न विदेशी पर्यटक मात्र आउने गरेकामा पछिल्लो समय आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, निसेलढोर, ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायत क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक पनि यहाँ आउने गरेका छन् । समुद्री सतहदेखि दुई हजार नाै सय मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन् ।