
थाइल्यान्डबाट नेपाल हुँदै भारत गाँजा तस्करी गर्ने समूह सक्रिय भएको छ । पछिल्लो एक वर्षमा यसरी थाइल्यान्डबाट आएको गाँजा ४१ पटक बरामद भएको छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार ४१ पटक गरेर २०६ केजी गाँजा बरामद भएको छ । जसमा ३८ पुरुष र सात महिला पक्राउ परेका छन् ।
नेपाललाई ट्रान्जिट बनाएर गाँजा तस्करी गर्ने गिरोहमा भारतीयहरूकै सक्रियता देखिएको ब्युरोका निर्देशक एसएसपी कृष्णप्रसाद कोइराला बताउँछन् । ‘थाइल्यान्डमा गाँजा वैध भएकाले त्यहाँबाट नेपाल हुँदै भारत जाने गरेको देखिन्छ,’ उनी भन्छन्, ‘प्रारम्भिक अनुसन्धानमा थाइल्यान्डको गाँजामा उच्च टिएचसी हुने भएकाले भारतमा माग भएको बुझिन्छ ।’
प्रहरीका अनुसार थाइल्यान्डमा एक किलोको करिब दुई लाख भारु पर्ने गाँजा भारतमा १० लाख भारुसम्म बिक्री हुने गरेको देखिन्छ । सोहीकारण, यसमा ठुलो समूह सक्रिय देखिएको छ । भारतको तुलनामा नेपालको विमानस्थलबाट सजिलै गाँजा छिराउन सकिने आकलनका आधारमा उनीहरूले नेपाललाई ट्रान्जिट बनाएका छन् । थाइल्यान्डबाट काठमाडौं ल्याएर यहाँबाट सडकमार्ग हुँदै गाँजा भारत लैजाने गरिएको देखिन्छ । नेपालमा पक्राउ पर्नेमा धेरैजसो भारतीय छन् । उनीहरूलाई थाइल्यान्ड सित्तैमा घुम्न जाने प्रलोभनमा पारेर गाँजा तस्करीमा लगाइएको थियो ।
पक्राउ परेका कतिपय व्यक्तिले यसअघि चारपटकसम्म त्यसरी सामान थाइल्यान्डबाट काठमाडौं हुँदै भारत लगेको समेत अनुसन्धानमा खुलेको छ । विमास्थलमा चेकिङ छल्न विभिन्न सामानका बट्टाभित्र प्लास्टिकले बेरेर तस्करी गर्थे । यसरी थाइल्यान्डबाट नेपाल हुँदै भारतमा गाँजा तस्करी हुने नयाँ ट्रेन्ड देखिएको प्रहरी अधिकारी बताउँछन् । यसअघि त्यस्तो समूहले हुलाकमार्फत अमेरिकाबाट गाँजा ल्याउने गथ्र्याे । त्योभन्दा थाइल्यान्डबाट ल्याउन सहज भएपछि त्यही समूह अहिले सक्रिय भएको प्रहरी आशंका छ । सोही आधारमा थाइल्यान्डबाट नेपाल शंकास्पद व्यक्तिमाथि प्रहरीले निगरानी बढाएको छ ।