मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 30 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

खुला सीमाका कारण चोरी निकासी र राजस्व चुहावटको चुनौती : उद्योगमन्त्री भण्डारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३९:oo

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा)को आयोजनामा ‘लजिस्टिक विकास र बिबिआइएन कनेक्टिभिटी’ शीर्षकमा केन्द्रित ३१औँ कार्गो दिवस मंगलबार काठमाडौंमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै नेफा अध्यक्ष राजेन्द्र संग्रौलाले देशको समृद्धिको मूल कुञ्जी लजिस्टिक क्षेत्रमा रहेको उल्लेख गरे। उनले नेपालजस्तो स्थलरुद्ध देशका लागि निकासी–पैठारी व्यापारलाई सहज, सस्तो र प्रतिस्पर्धी बनाउन लजिस्टिक प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिए। ‘समुन्द्रपार व्यापारलाई सरल बनाउँदै लजिस्टिक लागत घटाउने र कानुनी संरचना परिमार्जन गर्न जरुरी छ,’ उनले भने।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खुला सीमाका कारण चोरी निकासी र राजस्व चुहावटको चुनौती रहेको बताए। उनले व्यवसायलाई प्रविधिमैत्री बनाउँदै व्यापार सहजीकरण गर्ने नीति सरकारको प्राथमिकता रहेको स्पष्ट पारे।

‘चोरी निकासीभन्दा वैधानिक माध्यमबाट सामान भित्र्याउने प्रणाली सुदृढ बनाइँदैछ,’ मन्त्री भण्डारीले भने। साथै, उनले निकासी पैठारीसम्बन्धी पुराना कानुनहरू संशोधनका लागि संसदमा प्रस्ताव दर्ता भइसकेको जानकारी पनि दिए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ढुवानी पूर्वाधारको अभावले नेपालको निर्यात व्यवसायमा अवरोध आइरहेको उल्लेख गर्दै निजी क्षेत्रमै आधारित यो क्षेत्रमा सरकारले सहज र स्पष्ट नीति ल्याउनुपर्ने बताए। ‘निजी क्षेत्रले यातायात सहजीकरणमा खेलेको भूमिकाको सरकारले कदर गर्दै मागहरू सम्बोधन गर्नुपर्छ,’ उनले भने।

कार्यक्रम संयोजक नरेशकुमार अग्रवालले कार्गो दिवसलाई केवल उत्सव नभई नीति निर्माण र कार्यान्वयनबिच संवाद स्थापित गर्ने साझा मञ्चका रूपमा लिनुपर्ने बताए। ‘लजिस्टिक प्रणाली सशक्त नबनाई नेपालले उत्पादन लागत घटाउन सक्दैन,’ उनले भने, ‘लजिस्टिकमा सरकारी लगानी र स्पष्ट नीति अपरिहार्य छन्।’

कार्यक्रमको पहिलो सत्रमा ‘नेफा वार्षिक अवार्ड २०२५’ वितरण गरिएको थियो। उक्त अवार्ड लजिस्टिक क्षेत्रका विशिष्ट योगदानकर्ताहरूलाई प्रदान गरिएको हो। साथै, कार्यक्रममा सहयोग पुर्याउने विभिन्न संघसंस्थाहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

दोस्रो सत्रमा आयोजित अन्तरक्रियामा ‘लजिस्टिक विकास र बिबिआइएन कनेक्टिभिटी’ शीर्षकमा विविध पक्षबाट छलफल गरिएको थियो। यसमा नेपाल सरकारका उच्च अधिकारी, एसियाली विकास बैंकका प्रतिनिधि, विमान सेवा प्रदायक, सिपिङ कम्पनी, निजी क्षेत्र र अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहभागिता थियो।

छलफलमा बिबिआइएन सन्धिको सन्दर्भमा ढुवानी मार्ग विस्तार, नीतिगत समन्वय तथा अन्तर्राष्ट्रिय व्यापारलाई सरल बनाउने उपायहरूमा जोड दिइएको थियो। सहभागीहरूले नेपालमा लजिस्टिक पूर्वाधार विकासका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको धारणा राखेका थिए।

तेस्रो सत्रमा ‘फेलोसिप एन्ड ट्रेड मिट’ सञ्चालन गरियो, जहाँ कार्यपत्र प्रस्तुति, भिडियो डकुमेन्ट्री प्रदर्शनी र नेटवर्किङ अवसरहरू प्रदान गरिएको थियो। कार्यक्रममा वाणिज्य, उद्योग, पर्यटन, बैंकिङ, बिमा, प्रविधि, उत्पादन र ढुवानी क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।