मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण ११ आइतबार १२:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्ला-मुगु लिंकरोड : लोतीखोलामा ‘बेलिब्रिज’ जडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण ११ आइतबार १२:२६:oo

हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलिब्रिज निर्माण सम्पन्न भएको छ। चार करोड  ९८ लाखमा बेलि ब्रिज जडान गर्ने काम सम्पन्न भएको हो।

पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर नरेशराज जैसीलेका अनुसार ४२ मिटर लम्बाइको उक्त बेलिब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको र पुलको ३.१५ मिटर उचाइ, तीनवटा प्यानल र तीनवटा डेक राखिएको छ ।

लोती खोलामा पुल नहुँदा स्थानीयवासी समस्यामा रहेका थिए। हिउँदयाममा खोलामा पानी घटेपछि खोलाबाटै सवारीसाधन वारपार गर्दथे भने हल्का सवारी साधनका लागि काठको पुल बनाइएको थियो। 

वर्षातमा आएको खोलाले पुल बगाएपछि मानिससमेत तुइनमा तर्न बाध्य थिए। हुम्ला र मुगु जोड्नका लागि मात्र नभई चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङ आवतजावत गर्न पनि गाउँपालिकावासी तुइनमै निर्भर थिए।

चङ्खेली गाउँपालिकाका तीनवटा वडा तुइन तरेर गाउँपालिका केन्द्रमा आउनुपर्ने समस्या  अन्त्य भएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए। उनका अनुसार निरन्तरको पहलपश्चात् बेली ब्रिज छोटो समयमा निर्माण सम्पन्न भएको हो।

पुलले मुगु, जुम्लालगायतका नागरिकलाई कैलाश मानसरोवर दर्शन गर्न र हुम्लाका नागरिकलाई रारा ताल अवलोकनका लागि बाजुरा भएर जानुपर्ने बाध्यता मात्र टरेको छैन, अब तिनै जिल्ला सदरमुकामसँग सिधा आवतजावत हुने भएको छ।

यही साउन १३ गतेका दिन औपचारिक रूपमा उद्घाटन गरी हुम्ला मुगु लिंक हुने भएको छ । चङ्खेलीका सलीसल्लाबाट मुगु जिल्लाको भट्याचौरसम्म ग्रामीण पहुँच कार्यक्रम (र्‍याप थ्री)ले निर्माण सम्पन्न गरेको करिब चार वर्ष पूरा भएपश्चात् यो बेलिब्रिज निर्माण भएको छ।

कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत जिल्लास्थित पूर्वाधार विकास कार्यालयसँग २०८१ साल मंसिर २३ गते सम्झौता भई असार २२ गते सम्पन्न भएको उक्त बेलिब्रिज करिब पाँच महिनामा सम्पन्न भएको हो।