
मनोहर दास मूल नेपाल टेनिस संघको ११औँ विशेष साधारणसभा तथा निर्वाचनबाट आगामी चार वर्षका लागि अध्यक्षमा निर्विरोध चयन भएका छन् । शनिबार मूलको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध नै चयन भए ।
मूल यसअघि नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक थिए । संयोजकअघि महासचिवको जिम्मेवारीमा पनि थिए । तर, यो निर्वाचनसँगै टेनिस संघ पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय विवादमा प्रवेश गरेको छ ।
सरकारलले मूललाई मान्यता दिँदा ओलम्पिकले ज्योति रानालाई मान्यता दिएको छ । यसअघिका पौडी, कुस्ती, उसु, ब्याडमिन्डन, टेबल टेनिस संघ यही विवादले अझै समाधान पाएको छैन ।
कुपन्डोलस्थित होटेल हिमालयमा भएको साधारणसभाको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए । यता, उपाध्यक्षमा दिनेश तुलाधर, विनोद कायस्थ र राजु श्रेष्ठ चुनिए ।
महासचिवमा निरेशबहादुर श्रेष्ठ, सचिवमा अजय विष्ट र कोषाध्यक्षमा जयजीव हाडा रहेका छन् । सदस्यमा विष्णुबहादुर थापा, प्रीति बराल, गोपालप्रसाद ज्ञवाली, अशोक गुरुङ, प्रवीण वैद्य, रविन प्रधान, गोकुल श्रेष्ठ, कवीन्द्र पन्त, निशान्तकुमार लामिछाने र सुन्दरबहादुर केसी छन् ।