
सिराहा प्रहरीले हवाई फायर गरेर एकजना भारतीय नागरिकलाई अवैध आगुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला ग्रामपञ्चायत वीरपुर ९ बस्ने ३८ वर्षीय श्यामसुन्दर पासवान रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झाझपट्टीबाट प्रहरी नायब निरीक्षक रामबालक ठाकुर, जिल्ला प्रहरी कार्यालय सिराहाबाट प्रहरी सहायक निरिक्षक शिव मैनाली र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले श्याम सुन्दरलाई पक्राउ गरेको जनाए।
भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर भएको बिआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकलमा सवार अह्या सुन्दरलाई सीमावर्ती नवराजपुर गाउँपालिका ४ कुर्सन्डीमा चेकजाँच गर्न रोक्न खोज्दा भाग्न लागेपछि प्रहरीले टाइप 77 पेस्तोलवाट हवाई फायर गरेको प्रहरी प्रवक्ता डिएसपी पासवानले बताए। प्रहरीले हवाई फायर गरेपछि पक्राउ परेका श्याम सुन्दरको साथबाट खैरो हिरोइन करिब ५० ग्राम बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका श्याम सुन्दरलाई लागुऔषध खैरो हिरोइन र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा राखी थप अनुसन्धान कार्य भइरहेको डिएसपी पासवानले बताए।