
०८० असारमा मेची राजमार्गअन्तर्गतको पाँचथरमा पर्ने हेवा खोलाले पक्की पुल बगाएयता बर्खा लाग्नेबित्तिकै सधैँ समस्या हुने गरेको छ । अस्थायी रूपमा बनाइएको बेलिब्रिज पनि ०८१ को बाढीले लगेपछि मेची राजमार्ग र तमोर करिडोर बर्खामा सधैँ अवरुद्ध हुँदै आएको हो । हेवा खोलाले मेची राजमार्ग मात्रै होइन, तराईसँग ताप्लेजुङलाई जोड्ने नजिकको सडक मार्ग तमोर करिडोरसमेत अवरुद्ध गर्दै आएको छ ।
शनिबार रातिको वर्षाले पाँचथरमा हेवा खोलाको अस्थायी डाइभर्सन बग्दा अवरुद्ध बनेको मेची राजमार्ग र तमोर करिडोर अझै सुचारु हुन सकेको छैन । पाँचथरको हिलिहाङ गाउँपालिका र याङ्वरक गाउँपालिकासँग सदरमुकाम फिदिमको सडक सञ्जाल टुटेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रूपेश तामाङले बताए । यी दुई सडक अवरुद्ध हुँदा ताप्लेजुङसँगको पनि सडक सञ्जाल टुटेको छ । यद्यपि, यी दुई सडक अवरुद्ध भए पनि ताप्लेजुङसँग अन्य वैकल्पिक सडक पनि रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । ती वैकल्पिक सडक कच्ची छन् । ‘मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा पनि ताप्लेजुङको लाइफलाइन टुट्यो भन्ने छैन । विकल्पविहीन छैन फिदिमदेखि माझिटार–चुहनडाँडा–सुकेपोखरी हुँदै सदरमुकाम फुङलिङ आउने सडक छ । यो सडक ४६ किलोमिटर कच्ची र ३१ कालोपत्रे छ । ताप्लेजुङको मैवाखोला–ढुँगेसाँघु–गुफापोखरी हुँदै तेह्रथुम जाने कच्ची सडक पनि छ,’ उनले भने, ‘तर, सरल यात्राचाहिँ रोकिन्छ । मेची राजमार्ग र तमोर करिडोर सरल र छोटो सडक हो ।’
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शर्माले हेवा खोलामा पक्की डाइभर्सन निर्माण नगर्दा बर्खामा सधैँ समस्या हुने गरेको बताए । ‘ह्युमपाइपसँग बालुवा मात्र लगाएर डाइभर्सन निर्माण गर्दा बर्खामा बालुवा बगाउँछ । जसले सडक आवतजावत नै रोकिन्छ,’ उनले भने, ‘तर, त्यहाँ पक्की डाइभर्सन बनाउने हो भने त्यसमाथिबाट पानी बग्दा पनि सवारी आवतजावत रोकिँदैन । हामीले पक्की बनाउन बनेको थियौँ । त्यो हुन नसक्दा बर्खामा समस्या भयो ।’