
‘ब्रिक्स प्लस’का ११ सदस्य राष्ट्रहरूबिच संस्कृति, सभ्यताको पृष्ठभूमि, सामाजिक रीतिरिवाज र विकासको स्तरका आधारमा अविश्वसनीय रूपमा विविधता पाईन्छ । जुन महिनाको अन्तिम तिर ब्राजिलको रियो दी जेनेरियोमा ब्रिक्स सेमिनारका क्रममा एउटा सुन्दर फोटो प्रदर्शनी देखेपछि म आफैले सदस्य देशको विविधता महसुस गर्न पाएँ । जुलाई ६–७ मा ब्राजिलमा निर्धारित ब्रिक्स नेताहरूको बैठकको एक साताअघि सेमिनार आयोजना गरिएको थियो ।
प्रदर्शनीमा राखिएको एउटा तस्बिरमा ‘क्राइस्ट द रिडिमर’ (जिससको विशाल मूर्ति) एट्लान्टिक महासागरलाई हेरेर रियोको कोर्कोभाडो पर्वतको टुप्पोमा उभिएको छ । क्रेमलिन र राज सी रेड स्क्वायर (भारतको समुद्रमा रहेको भव्य रिसोर्ट) साँझको रातो घाममा चम्किएको देखिन्छ । भारतको ताजमहलले दर्शकलाई प्रेमको शाश्वत प्रतीकको प्रतिनिधित्व गर्छ । बेइजिङको दरबार संग्रहालय (निसिद्ध सहर) र तियानमेन स्क्वायरले पृथ्वीको कुनै पनि शक्तिले पाँच हजार वर्ष पुरानो सभ्यतालाई नष्ट गर्न सक्दैन भनेर सम्झाउँछन् । त्यसपछि इजिप्टको गिजाको पिरामिड छ । ब्रिक्सको एक नयाँ सदस्यको रूपमा उसले मरुभूमिमा बसेर समयकोे सुरुवात र अन्त्यलाई हेरिरहेको छ । अनि एक उत्कृष्ट वास्तुकलाको चमत्कार तेहरानको आजादी टावरले आफ्नो स्वतन्त्रताको कदर गर्ने प्राचीन मानिसलाई कुनै पनि दुष्ट शक्तिले वशमा पार्न सक्दैन भन्ने सन्देश दिएको बसेको देखिन्छ ।
दक्षिण अफ्रिका, इन्डोनेसिया, इथियोपिया र संयुक्त अरब इमिरेट्सको अद्वितीय समृद्धिलाई झल्काउने अन्य तस्बिर पनि थिए । तिनलाई देखेर मेरो मनमा एउटा विचार आयो । संस्कृति मानवजातिको सबैभन्दा बहुमूल्य सम्पदा हो । तर, संसारका विभिन्न भागमा युद्ध र हिंसात्मक द्वन्द्व भइरह्यो भने के यो बाँच्नेछ ? शान्तिविना, मानवजातिका सबै अद्भुत सिर्जना भग्नावशेषमा परिणत हुन सक्छन् ?
इरान–इजरायल युद्ध केवल १२ दिनसम्म चल्यो । तर यसले नयाँ प्रकारको हवाई युद्धको भयावहता र इजरायल र संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको कति निर्लज्जतापूर्वक धज्जी उडाउँछन् भनेर देखाएको छ । गाजामा रक्षाहीन प्यालेस्टिनी जनतामाथि इजरायलको नरसंहार युद्ध निरन्तर जारी छ । अक्टोबर ७, २०२३ मा इजरायलमा हमासले गरेको आतंकवादी आक्रमण नि:सन्देह निन्दनीय छ । तर, इजरायलले उक्त हमलालाई गाजालाई पूर्ण रूपमा ध्वस्त पार्ने बहानाको रूपमा प्रयोग गरेको छ ।
गत महिना विश्व भारत र पाकिस्तानबिचको चार दिन चलेको युद्धको साक्षीसमेत बन्योे, जुन भारत नियन्त्रित कास्मिरमा निर्दोष पर्यटकमाथि बर्बर आतंकवादी आक्रमणले निम्त्याएको थियो ।
हेगमा हालै भएको शिखर सम्मेलनमा नेटो सदस्यले आफ्नो सैन्य बजेट बढाउने निर्णय गरे, जहाँ ट्रान्सएट्लान्टिक सैन्य गठबन्धनले ‘एसियाली नेटा’ सिर्जना गर्ने प्रयास गरिरहेको छ । अमेरिकाको नेतृत्वमा रहेको क्वाडलाई लन्च प्याडको रूपमा प्रयोग गरिदैं छ । विभिन्न प्रकारका जबर्जस्ती कार्यहरूले विश्वभर अशान्ति फैलाउन भूमिका खेलेका छन् । उदाहरणका लागि डोनाल्ड ट्रम्प प्रशासनले भन्सार शुल्कलाई हतियार बनाएको छ, जसले गर्दा विश्वव्यापी व्यापारमा अस्थिरता सिर्जना भएको छ । ट्रम्प प्रशासनले जलवायु परिवर्तनको विनाशबाट ग्रहलाई बचाउने आफ्नो जिम्मेवारी पनि त्यागिसकेको छ ।
‘शक्तिले जे गरे पनि सही हुन्छ’ भन्ने सिद्धान्त जंगलको नियम हो । तर, दु:खको कुरा, यो विश्वव्यापी आदर्श बन्दै गइरहेको छ । आजको अशान्त संसारमा सबैभन्दा चिन्ताजनक वास्तविकता संयुक्त राष्ट्र संघको अवस्था हो । २१औँ शताब्दीमा देश र जनता अझ नजिकबाट अन्तर्सम्बन्धित र अन्तरनिर्भर भएका छन्, विश्वव्यापी शासन आजजत्तिको कमजोर कहिल्यै भएको छैन, अमेरिकाले संयुक्त राष्ट्र संघलाई अक्षम पार्न हतास प्रयास गरिरहेको छ ।
तसर्थ, रियोमा भएको सेमिनारमा मैले विश्वव्यापी शासनलाई बलियो बनाउन र यसलाई अझ लोकतान्त्रिक बनाउनुपर्नेमा जोड दिएँ । विश्वव्यापी शान्ति र विकासका लागि खतरा हटाएर आमूल सुधारबारे सोच्ने समय आएको कुरामा पनि जोड दिएँ ।
सुरक्षा परिषद्को पूर्वअनुमतिविना अर्को सार्वभौम राष्ट्रविरुद्ध सैन्य कारबाही गर्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को कुनै पनि स्थायी सदस्यलाई संयुक्त राष्ट्र संघको बडापत्रको सिद्धान्तको उल्लंघनको सजायस्वरूप उसको सदस्यता निलम्बन गर्नुपर्छ । उसको भिटो शक्ति स्थायी रूपमा खारेज गर्नुपर्छ । सबै सभ्यतामा निहित संस्कृति, शिक्षा र बुद्धिमत्ता विद्यमान अन्यायपूर्ण विश्व व्यवस्थाले सिर्जना गरेको रोगहरूको उत्तम उपचारक हुन् । वास्तवमा तिनीहरूले युद्ध, हिंसा र अन्य अन्यायलाई रोक्न सक्छन् । युनेस्कोको आदर्श वाक्यले भनेझैँ ‘मानिसहरूको दिमागमा युद्ध सुरु हुने भएकाले, उनीहरूको दिमागमा शान्तिको किल्ला निर्माण गर्नुपर्छ ।’
त्यसकारण, युनेस्कोले विश्व र स्थानीय दुवै संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय सरकारको सांस्कृतिक र शैक्षिक नीतिहरूलाई मार्गदर्शन गर्नुपर्छ । पारस्परिक समझदारी, सम्मान, विश्वास, सहिष्णुता र सहयोगको भावनालाई बढावा दिन सभ्यता र अन्तरधार्मिक संवादमा सक्रिय भूमिका खेल्नुपर्छ । आज आमजनताले विश्वव्यापी शासनमा र क्षेत्रीय तथा विश्वव्यापी मामिलामा अपर्याप्त भूमिका खेल्छन्, किनभने ती राष्ट्रिय सरकारका विशेष क्षेत्र बनेका छन् । फलस्वरूप, जनताको आवाज, उनीहरूका विचार, आशा र आकांक्षा र उनीहरूका सरोकार विश्वव्यापी प्लाटफर्ममा सुनिएका छैनन् । विश्वव्यापी शासनमा नयाँ प्रेरणा प्रदान गर्न, सैन्यशक्तिलाई होइन, सांस्कृतिक शक्तिलाई यसको मुख्य चालक शक्तिको रूपमा राखेर साहसी नयाँ तरिकाले सोच्न आवश्यक छ ।
सामाजिक–आर्थिक विकास, सांस्कृतिक पुनरुत्थान र आदानप्रदान, खेलकुद, मिडिया, वैज्ञानिक र प्राविधिक प्रगति, वातावरण संरक्षण, अन्तरधार्मिक र अन्तर्सभ्यता संवाद, द्वन्द्व–समाधान र शान्ति प्रवद्र्धन गर्ने सबै संस्थालाई संयुक्त राष्ट्र बडापत्रको प्रवद्र्धनमा अझ प्रभावकारी भूमिका खेल्न अनुमति दिइनुपर्छ ।
युवा, विद्यार्थी, महिला, शिक्षाविद्, डाक्टर, शिक्षक, वैज्ञानिक, खेलाडी, थिंकट्यांक, व्यावसायिक समूह, कलाकार, कवि, लेखक र सांस्कृतिक व्यक्तित्व, धार्मिक नेता, सीमान्तकृत समुदायका संगठनले विश्वव्यापी शासन, विकास र सुरक्षामा आफ्नो भनाइ राख्नुपर्छ । छोटकरीमा भन्नुपर्दा संयुक्त राष्ट्र संघ ‘विश्वका संयुक्त जनता’को हुनुपर्छ ।
–चाइना डेलीबाट