
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले मंगलबारको प्रतिनिधिसभाको बैठकमा उठेर विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका हुन् ।
त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिए । सांसद नेपालीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै नपुग्ने बताएका छन् । उनी मुछिएको घुसकाण्डमा सत्यतथ्य छानबिन हुनुपर्ने सांसद नेपालीले बताए ।
मन्त्री गुप्ताले राजीनामा दिएर नैतिकता देखाए पनि गृहमन्त्री रमेश लेखकले आफूमाथि प्रश्न उठ्दा पनि राजीनामा नदिएर पदलोलुपता देखाएको बताए । उनले गृहमन्त्री लेखकले कहिले राजीनामा दिन्छन् भनेर प्रश्न गरे ।