
रोल्पाको रेउघास्थित जिल्ला अस्पताल पहिरोको जोखिममा परेको छ । अस्पताल भवनमुनिको भाग खोलाले कटान गर्ने र जमिन भासिने क्रम नरोकिएपछि रेउघा अस्पताल जोखिममा परेको हो । निकै कमजोर जमिनमा पहिरो झर्न नरोकिएपछि ५० शड्ढयाको अस्पताल भवनका साथै आसपासको बस्तीसमेत जोखिममा परेको छ ।
पहिरो नियन्त्रण तथा रोकथामका लागि केही प्रयास गरिए पनि जोखिम भने अझै टरेको छैन । रोल्पा नगरपालिका– २, रेउघास्थित रोल्पा अस्पतालको मुनि धाङ्सीखोलाको कटान रोक्न लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयले काम गरिरहेको छ । जसकारण पहिरो झर्ने क्रम केही हदसम्म रोकिए पनि निकै कमजोर भूबनोटका कारण जोखिम कायमै छ ।
पहिरो रोकथामका लागि आर्थिक वर्ष ०८१/८२ मा ७५ लाख बजेट विनियोजन गरी रोल्पास्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयमार्फत खोलाक्षेत्रमा एक हजार दुई सय ४२ घनमिटर ग्याबिन पर्खाल लगाइएको छ । अष्टविनायक निर्माण सेवाले निर्माण ठेक्का लिएको योजना सम्पन्न भइसकेको भू तथा जलाधार कार्यालय रोल्पाका प्रमुख रोबर्ट महराले बताए । उनका अनुसार ठेक्का प्रक्रियामा जाँदा निर्माण कम्पनीले ४० लाखको लागतमा सम्झौता गरेको थियो । आर्थिक वर्ष ०८१/८२ मा पहिरोग्रस्त क्षेत्र तथा धाङ्सीखोला तटबन्ध निर्माणका लागि भन्दै जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय रोल्पाबाट १० लाख र अघिल्लो वर्ष २० लाख बजेट विनियोजन गरिएको थियो ।
ठुलो पहिरो तर रोकथामको प्रयास सानो
पहिरो झर्ने भूभाग ठुलो भएका कारण हालसम्म विनियोजित बजेटबाट पूर्ण रूपमा नियन्त्रण हुने अवस्था देखिँदैन । ‘अस्पतालको नजिकको क्षेत्रमा यसअघि लगाइएका विभिन्न बोटबिरुवाले निरन्तर बग्ने अवस्थालाई रोकेको छ,’ रोल्पा नगरपालिका– २ का वडाध्यक्ष प्रकाश डाँगीले भने, ‘बजेट निकै कम विनियोजन हुने, तर यहाँको जोखिम क्षेत्र धेरै भएकाले पूर्ण रूपमा नियन्त्रण हुने अवस्था छैन ।’ डाँगीले प्रदेश तथा संघीय सरकारसँग आफूहरूले निरन्तर बजेट व्यवस्थापनका लागि पहल गरिरहेको भए पनि उचित बजेट विनियोजन हुन नसक्नु दु:खद भएको गुनासो गरे ।
रोल्पास्थित भू तथा जलाधार कार्यालयले पनि पहिरो नियन्त्रणका लागि कार्यालयमार्फत पहल गरिरहेको कार्यालय प्रमुख रोबर्ट महराले बताए । हालसम्मको प्रयासले बाहिरी भूभागको माटो बग्ने क्रम केही रूपमा रोकिए पनि भित्रैदेखि जमिन कमजोर रहेकाले पूर्ण रूपमा नियन्त्रण गर्न बजेट धेरे आवश्यक पर्नेे उनको भनाइ छ । जलाधार कार्यालयको अगुवाइमा बायोइन्जिनियरिङ र कम खर्चिलो भू संरक्षण प्रविधिको प्रयोग गरिएको छ । पहिरोको रोकथाम गर्न स्थानीय खुलखुले महिला सामुदायिक वन समूह पनि सक्रिय छ । पहिरो रोकथामका लागि भुजेत्रो, बाँसलगायतका बोटबिरुवा लगाएर संरक्षण गरिरहेको वन समूहकी अध्यक्ष दुर्गादेवी पुनले बताइन् ।
पहिरोको जोखिम दिनानुदिन बढ्दै गएको र हालसम्म गरिएको साना प्रयासले पूर्ण रूपमा नियन्त्रणको सम्भावना नरहेकाले भूगर्भविद्को अध्ययनसहितको योजना निर्माण गर्नुपर्ने रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगी बताउँछन् । केही वर्षअघि मात्र निर्माण सम्पन्न भएको अस्पतालको आधुनिक भवन बचाउन सरकारको उच्च प्राथमिकता हुनुपर्ने डाँगीको भनाइ छ । पहिरोग्रस्त क्षेत्रमा पुगेका लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री तथा सांसद दीपेन्द्रकुमार पुनले पहिरो नियन्त्रणका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिए ।