मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार ३० सोमबार १४:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँग सभामुखको छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार १४:o६:oo

सभामुख देवराज घिमिरेले संसद्को नियमित कारबाहीमा सबै दलले भाग लिने वातावरणका लागि ध्यानाकर्षण गराएका छन् । दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलमा उनले संसद्लाई विरोधको थलो नभई, समाधानको मञ्च बनाउनुपर्ने बताए ।

‘अनन्तकालसम्म संसद् अवरोध हुनु समाधान होइन, अझ संसद्को चौथो र पाँचौँ राजनीतिक शक्ति नियमित छलफलमा सहभागी नहुनु दुःखद छ । म सरकार, सत्तापक्षमा रहेका राजनीतिक शक्तिहरू, प्रमुख प्रतिपक्षी तथा संसद्को नियमित छलफलमा सहभागी नभएका राजनीतिक दलहरूलाई पुनः एकपटक वार्ता र संवादमा बस्न अपिल गर्दछु । आवश्यक व्यवस्थापन तथा सहजीकरणका लागि सभामुखको तर्फबाट मेरो पहलकदमी रहनेछ ।’

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले रास्वपासँग सहमति गर्न धेरै प्रयास भए पनि नतिजा नआएको बताए । अब केही समय संसद् स्थगित गरेर पनि रास्वपा र राप्रपासँग सहमति गरी संसदमा भाग लिने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । कांग्रेस आवश्यक सहजीकरणका लागि तयार रहेको घिमिरेले बताए ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले दुई साता बैठक रोकेर दलहरूबिच साझा सहमति गरेर अघि बढ्नुपर्ने औँल्याए । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अवरोधका बिच सदन अघि बढाउँदा सन्देश राम्रो नगएको भन्दै महत्त्वपूर्ण विधेयक नभएको अवस्थामा साउनमा दुई साता बैठक रोकेर सहमतिको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

राप्रपाका ज्ञानबहादुर शाहीले बजेट पास अत्यावश्यक भए पनि नियमित बैठक चौथो र पाँचौँ ठुलो दलको अनुपस्थितिमा सञ्चालन गर्नु राम्रो नभएको टिप्पणी गरे । बैठकमा एमालेबाट सचेतक सुनिता बराल उपस्थित थिइन् । बैठकले साउन १५ गतेसम्मको क्यालेन्डरमा सहमति गरेको छ ।