मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025
कमलराज भट्ट काठमाडाैं
२o८२ असार २९ आइतबार o६:५६:oo
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रास्वपाको हस्ताक्षर अभियान : रविको पक्षमा १५ लाखभन्दा बढीको ऐक्यबद्धता

Read Time : > 7 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २९ आइतबार o६:५६:oo
  • पार्टी सभापतिविरुद्ध भएको प्रतिशोधमा जनसमर्थन खोज्दै सुरु भएको अभियानको तीन सातामै रास्वपाले संघीय निर्वाचनमा पाएको समानुपातिक मतभन्दा झन्डै चार लाख बढी हस्ताक्षर संकलन गरिसकेको छ

आफ्नै पार्टी सभापति रवि लामिछानेविरुद्ध भएको राजनीतिक प्रतिशोधको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरु गरेको हस्ताक्षर अभियानले व्यापक समर्थन पाएको छ । रास्वपाका अनुसार ७ असारमा पार्टी स्थापना दिवसका अवसरमा माइतीघर मण्डलाबाट सुरु भएको अभियानमा हालसम्म १५ लाखभन्दा बढीले हस्ताक्षर गर्दै प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाएका छन् ।

सभापति लामिछानेले पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा जारी गरेको अपिल बोकेर रास्वपा हस्ताक्षर अभियानमा उत्रिएको छ । जसमा साधारण नागरिकदेखि सेलेब्रिटी, पूर्वन्यायाधीशदेखि बैंकिङ क्षेत्रका व्यक्तिसम्मले अभियानमा सहभागी भएर समर्थन जनाएका छन् । अभियानमा हस्ताक्षर गर्नेले रवि लामिछानेविरुद्ध राज्यको प्रतिशोध देखिएको भन्दै त्यसको विरोधमा सहभागी भएको प्रतिक्रिया दिएका छन् ।

अभियानका संयोजक दीपक बोहराका अनुसार कलाकार, पूर्वन्यायाधीश, पूर्वप्रहरी, विभिन्न दलका नेता–कार्यकर्ता, जनप्रतिनिधि, राजनीतिज्ञ, नागरिक समाजका प्रतिनिधि, ट्याक्सीचालक, किरियापुत्री, दृष्टिविहीन, अपांग, युवादेखि वृद्धसम्म, सहकारीपीडित र आमनागरिकले अभियानमा सहभागिता जनाइरहेका छन् ।

अभिनेत्री तथा नेपाली राजनीतिक बिरासत बोकेको कोइराला परिवारकी सदस्य मनीषा कोइरालाले रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएकी छिन् । बिहीबार रास्वपा केन्द्रीय कार्यालय पुगेर उनले पार्टी सभापति रवि लामिछानेमाथि राज्यबाट अन्याय र दुर्व्यवहारर भएको भन्दै त्यसको विरोधमा हस्ताक्षर गरेको प्रतिक्रिया दिइन् ।

त्यसै दिन सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले पनि अभियानमा हस्ताक्षर गर्दै लामिछानेविरुद्ध बदनियतपूर्वक मुद्दा चलाइएको प्रतिक्रिया दिए । उनले जनताले नयाँ राजनीतिक विकल्प खोजिरहेका वेला पुराना दलहरूले दमनको बाटो रोजेकाले सामान्य नागरिकको नाताले राज्यको प्रतिशोधविरुद्ध हस्ताक्षर गर्न आएको बताए ।

यसबाहेक हालसम्म कलाकार विपिन कार्की, रमेश उप्रेती, किरण केसी, राजाराम पौडेल, रामचन्द्र अधिकारी, अशोक शर्मा, दीपेन्द्र के खनाल, खगेन्द्र लामिछाने, गायक खेम सेञ्चुरी, नायिका मनीषा कोइराला, रेजिना उप्रेती, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, समाजसेवी इशा गुरुङ, पूर्वप्रशासक कुलमान घिसिङ, मधेश प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता दीपेन्द्र झालगायत प्रतिष्ठित व्यक्तिले हस्ताक्षर गरेका छन् ।

लामिछानेमाथि प्रतिशोध साधिएको भन्दै कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला, सांसदहरू चन्द्र भण्डारी, सुनील शर्मा, कान्छाराम तामाङलगायतले सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आएका छन् । माओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत अध्यक्ष सिके राउत, नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले पनि लामिछानेमाथि प्रतिशोध साधिएको भन्दै सरकारको विरोध गर्दै आएका छन् । हस्ताक्षर अभियानमै सहभागी नभए पनि अन्य दलका नेताले सार्वजनिक रूपमा ऐक्यबद्धता जनाएको संयोजक बोहरा बताउँछन् ।

अभियानका संयोजक दीपक बोहराका अनुसार ७७ वटै जिल्लाको वडा र टोलटोलमा अभियानमा चलिरहेको र हालसम्म १५ लाखभन्दा बढीले हस्ताक्षर गरिसकेको रास्वपाले जनाएको छ । ‘धेरै हस्ताक्षर आइपुगेको छैन । चितवनमै एक–डेढ लाख भएको छ । विश्वभर नै चलेको छ । सबै नआइसकेका कारण ठ्याक्कै डाटा त भन्न सकिएन । जे होस् १५ लाखआसपासमा संकलन भइसकेको भन्न सक्छु,’ उनले भने । उनका अनुसार प्रवासमा सात लाखभन्दा बढी हस्ताक्षर भइसकेको छ । स्वतस्फूर्त घरदैलो अभियान पनि चलिरहेको उनले बताए ।

काठमाडौं ६ की रास्वपा कार्यकर्ता शकुन्तला न्यौपानेका अनुसार स्थानीयवासीबाटै हस्ताक्षरका लागि ‘बोलावट’ आउन थालेका छन् । बिहीबार उनी केन्द्रीय कार्यालयमा हस्ताक्षर पुस्तिका लिन आएकी थिइन् । ‘घरदैलो अभियानमा छौँ, फारम ल्याइदिनुहोस् भनेर आग्रह आउँछ, अनि हामी उपस्थिति भइदिन्छौँ । म त एक्लै झोला बोकेर पनि गइरहेकी छु ।’ न्यौपानेका अनुसार मतदातासँग सिधा सम्पर्क कायम गर्दै उनीहरूका समस्या पनि बुझ्ने प्रयास भइरहेको छ । ‘मतदातासँग प्रत्यक्ष संवाद गर्दा उहाँहरूले समर्थन मात्रै होइन, सक्रिय सहयोग पनि गरिरहनुभएको छ,’ उनले थपिन् ।

राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानमा सर्वसाधारण नागरिकको उत्साह उल्लेखनीय देखिएको संयोजक बोहरा बताउँछन् । उनका अनुसार खेतमा रोपाइँ गरिरहेका किसानसमेत हस्ताक्षरका लागि आग्रह गरिरहेका छन् । ‘रवि लामिछानेलाई अन्याय भएको भन्दै टाढाटाढाबाट मानिसहरू साँझ ८ बजेसम्म पनि पार्टी कार्यालय आउँछन्,’ बोहराले भने, ‘कोही भन्छन्– म फलानो ठाउँबाट आएको, बल्ल छुट्टी मिलेको छ, भोलि आउन सक्दिनँ, मलाई आजै हस्ताक्षर गर्न दिनुस् ।’ बोहराका अनुसार यस्तो जनआग्रहलाई ध्यानमा राख्दै पार्टी कार्यालयको ढोकामै एउटा हस्ताक्षर कपी राखिएको छ । त्यहाँ ढिलो पुग्नेहरू पनि हस्ताक्षर गर्न सक्छन् । ‘मानिसहरू अत्यन्त उत्साहपूर्वक सहभागी भइरहेका छन्,’ उनले भने ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले हस्ताक्षर गरिसकेपछि नागरिकले सन्तुष्टि व्यक्त गर्ने गरेको अनुभव सुनाउँछन् । ‘रवि लामिछानेविरुद्ध भएको प्रतिशोधपूर्ण अन्यायविरुद्धमा हस्ताक्षर गरेकोमा आफूले सन्तोष पाएको भनेर धेरै नागरिकले भन्नुभएको छ । यसबाट आमनागरिकमा न्याय पक्कै पनि मिल्छ भन्ने विश्वास देखिन्छ,’ उनले भने, ‘अदालत र न्यायिक प्रणाली त आफ्नै ठाउँमा छ । जनताको अदालत नै सबैभन्दा महत्वपूर्ण र शक्तिशाली हो भन्ने उहाँहरूलाई लागेको छ ।’

केन्द्रीय सदस्य रमेश प्रसाईं रबि लामिछानेमाथि प्रतिशोध साधिएको भन्ने बुझाइ युवादेखि वृद्धसम्म स्पष्ट भएको र त्यसको पुष्टि हस्ताक्षर अभियानले गरेको बताउँछन् । प्रतिशोधको हिसाबले जनताले आफ्नो मतको शक्तिबाट गर्ने उनको भनाइ छ ।

संयोजक बोहराका अनुसार हस्ताक्षर गर्दा भौतिक र डिजिटल दुवै माध्यमबाट भइरहेको छ । नाम, ठेगाना, इमेल आइडी, घर नम्बर, स्वदेश, विदेशको विवरण लेखेर फारम भर्न सकिन्छ । हस्ताक्षर संकलन जनताको शक्ति र न्यायको पक्षमा भएको दाबी गर्दै बोहराले अभियानको उद्देश्य राज्यलाई जनताको आवाज सुनाउनु र भविष्यमा यस्ता राजनीतिक प्रतिशोधका घटना हुन नदिनु रहेको बताए । ‘रवि लामिछानेमाथि राज्यले जुन आँट र चेष्टा गर्‍यो, त्यो कालान्तरमा पनि हुन सक्थ्योे । हस्ताक्षर अभियानले के सन्देश दिएको छ भने अब आइन्दा इतिहासमा कसैले आफ्नो शक्तिको दुरुपयोग गरेर कसैविरुद्ध सजिलै राजनीतिक प्रतिशोधको आँट गर्नेछैनन्,’ उनी भन्छन्, ‘सबैभन्दा ठुलो शक्ति भनेको जनता हो ।’

राज्यको प्रतिशोधविरुद्ध निर्वाचनमा मत हाल्न नगएका मानिससमेत हस्ताक्षर गर्न आएको बोहराले बताए । ‘कहिल्यै निर्वाचनमा मत हाल्न नगएका व्यक्ति पनि हस्ताक्षर गर्न आएका छन् । उनीहरूले पार्टी कार्यालयमा आएर रविमाथि अन्याय भयो भनेका छन्,’ उनले भने ।

सरकारले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरेपछि रास्वपाले राजनीतिक प्रतिशोध साधिएको बताउँदै आएको छ । हस्ताक्षर अभियानका संयोजक बोहरा सहकारीको कारोबारमा प्रत्यक्ष संलग्न नरहेका लामिछानेलाई पाँचवटा जिल्लामा मुद्दा चलाउनु, अनुसन्धान र अभियोजनका नाममा दुर्व्यवहारर गर्नु, मध्यरातमा अड्डासार गर्नु, सहकारीमा प्रत्यक्ष संलग्नलाई छोडेर लामिछानेलाई झुटो मुद्दा लगाउनु प्रतिशोध भएको बताउँछन् । ‘त्यही अदालतको आदेश मानेर रवि लामिछाने हिरासतमा बस्नुपर्ने, त्यही अदालतले अड्डासार भन्या छ । एक महिना हुन लाग्यो काठमाडौं सार्न भनेको, तर सारेका छैनन्,’ उनले भने, ‘जुडिसियल कस्टडीमा हुनुपर्ने मान्छे चितवनमा भोलिपल्टको प्रोग्राममा के भाषण गर्छ भन्ने डरले तीन दिनअघि थुनेका थिए ।’

अदालतलाई प्रभावित पार्न रास्वपाले हस्ताक्षर अभियान चलाएको आरोप पनि लाग्ने गरेको छ । । तर, रास्वपाका नेताहरू राज्यले साधेको राजनीतिक प्रतिशोध जनतालाई बुझाउने अभियान रहेको बताउँछन् । ‘न्यायालयलाई कहीँ–कतै केही भनेका छैनौँ । न्यायालयमा मुद्दा विचाराधीन छ,’ बोहरा भन्छन्, ‘हामीले जनतासँग आफ्ना कुरा राखेका छौँ ।’ 

महामन्त्री बुर्लाकोटी यसमा आफूहरूले अदालतको मानहानि हुने वा अवहेलना हुने काम नगरेको बताउँछन् । ‘अदालतबाट भएको फैसलाअनुसार सभापति जेलमै हुनुहुन्छ । तर, यसमा राजनीतिक प्रतिशोध भएको छ भनेर जनताकहाँ गयौँ । उहाँहरूले साथ दिनुभएको छ ।’

धेरैभन्दा धेरै ठाउँमा अपिल पुगोस् भन्ने सभापतिको चाहना रहेको अभियानका संयोजक बोहरा बताउँछन् । ‘सभापतिज्यूको चाहना उहाँको अपिल घरघरमा पुगोस्, के भएको हो भन्ने जनताले बुझून् भन्ने छ,’ उनले भने, ‘कहाँ–कहाँ अन्याय भयो, राति किन उठाएर लगियो, कुन–कुन मुद्दामा कसरी फसाउने प्रयास गरियो भन्ने सबै अपिलमा छ । यो सबै नागरिकको जानकारीमा जाओस् भन्ने उहाँको आग्रह छ । अपिल पढियोस्, बुझियोस्, अनि सम्भव भएसम्म एउटा हस्ताक्षर गरियोस् भन्ने उहाँको आग्रह छ ।’ 

टुँडिखेलमा सार्वजनिक गर्ने, बोधार्थ प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखलाई बुझाउने
हस्ताक्षर टुँडिखेलमा सार्वजनिक गर्ने र प्रधानमन्त्रीसहित शीर्ष पदाधिकारीलाई बुझाउने रास्वपाको तयारी छ । माइतीघरपछि टुँडिखेलमा बृहत् सभा आयोजना गरी जनताको ऐक्यबद्धता देखाउने योजना बनाइएको छ । संयोजक बोहराले भने, ‘जनताले दिएको चिज जनतालाई नै बुझाउने हो । धेरै नागरिकले ऐक्यबद्धता जनाए भनेर जनतालाई देखाउने र बुझाउने हो । बोधार्थ प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखलाई बुझाइनेछ ।’

कहिलेसम्म चल्छ अभियान ? 
रास्वपाले ७ असारमा सुरु गरेको हस्ताक्षर अभियान सुरुवातमा तीन महिनासम्म सञ्चालन गर्ने योजना थियो । तर, आमनागरिकको उत्साहजनक सहभागिता देखिएपछि अभियानलाई दसैँ–तिहारसम्म लम्ब्याउने निचोडमा पार्टी पुगेको छ । अभियान संयोजक बोहराका अनुसार प्रारम्भमा पार्टीभित्रको छलफलमा तीन महिनाको अवधि तय गरिएको थियो । ‘बिचमा मनसुन पर्‍यो । तर, हजारौँ मानिसले फोन गरेर अभियान अझै लम्ब्याउन सुझाव दिइरहेका छन् । पार्टीभित्र पनि पदाधिकारी तहमा कात्तिकसम्म सञ्चालन गर्नुपर्ने सहमति बनेको छ । आवश्यक परे छठसम्म पनि लैजान सक्छौँ ।’

उनका अनुसार अब अभियानको दायरा थप विस्तार गरिँदै छ । घरदैलोसँगै सीमानाकामा पनि हस्ताक्षर अभियान सञ्चालन गरिनेछ । विद्यालय र क्याम्पसमा विद्यार्थीको ऐक्यबद्धता संकलन गर्ने कार्यतालिका बन्ने उनले बताए । युवाहरू र विभिन्न पेसाकर्मीसँग अन्तक्र्रिया गरी अभियानको उद्देश्य स्पष्ट गर्ने उनको भनाइ छ । उनका अनुसार प्रवासस्थित नेपाली समुदायलाई पनि अभियानमा समेट्ने योजना छ । त्यसका लागि केन्द्रीय नेताहरू स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, रमेश प्रसाईंलगायतले अन्तक्र्रियात्मक कार्यक्रममार्फत अभियानलाई प्रवासमा पनि प्रवाह गर्ने तयारी भइरहेको छ । हस्ताक्षर अभियानका संयोजक बोहराका अनुसार सभापति लामिछानेमाथि राज्यबाट राजनीतिक प्रतिशोध साधिएपछि त्यसको जानकारी जनतालाई गराउन हस्ताक्षर अभियान थालिएको बताए । ‘रवि लामिछानेमाथि त्यो तहको प्रतिशोध साधिएपछि हामी कहीँ त जानुपर्‍यो । सबैको सुभावअनुसार यो अभियान थाल्यौँ,’ उनले सुनाए । 

मिनी जनमतसंंग्रह, संगठन विस्तारको अवसर 
अभियानलाई रास्वपाका नेता–कार्यकर्ताले मिनी जनमतसंग्रहका रूपमा हेरेका छन् । रवि लामिछानेको समर्थनमा आएको हस्ताक्षरलाई उनीहरूले ०८४ को मतका रूपमा पनि विश्लेषण गरेका छन् । संयोजक बोहरा भन्छन्, ‘अभियानमा नयाँ र पुरानो पुस्ताका साथै स्थापित व्यक्तित्वहरूको पनि उत्साहजनक सहभागिता छ । यो एकखालको मिनी जनमतसंग्रह नै हो ।’ यो अभियानले नयाँ पुस्तामा राजनीतिक परिवर्तनको चाहना जगाएको र पुराना राजनीतिक दलहरूको परम्परागत शैलीको विरोध गरेको बोहराले सुनाए । अभियानलाई रास्वपाले संगठन निर्माणको अवसरका रूपमा पनि प्रयोग गरेको छ । बोहराका अनुसार हस्ताक्षर अभियानपछि पार्टी सदस्यता लिनेको संख्या बढेको र सदस्य संख्या दुई लाख नाघेको छ । 

महामन्त्री बुर्लाकोटी भन्छन्, ‘हस्ताक्षर गरेपछि पार्टीको सदस्यता लिनुपर्छ भन्ने होइन । यो त रवि लामिछानेमाथि भएको अन्याय र प्रतिशोधविरुद्धको ऐक्यबद्धताको अभिव्यक्ति हो । सबै जिल्लामा अभियान चलिरहेको छ । धेरै नागरिक टाढा–टाढाबाट पार्टी कार्यालयमै आएर हस्ताक्षर गरिरहेका छन् ।

आर्थिक संकलन किन ?
अभियान संयोजक बोहराले सभापतिको राजनीतिक यात्रा र राजनीतिक प्रतिशोधबारे भैरहवा कारागारबाट जारी अपिल जनताको हातसम्म पुर्‍याउन आर्थिक सहयोग संकलन गरिएको बताए । ‘गाउँगाउँसम्म अपिल पुर्‍याउनु थियो । इन्टरनेट सबैको पहुँचमा छैन, सबैले त्यहाँबाट पढ्न सक्दैनन्,’ उनले भने, ‘सभापतिज्यूको चाहना अपिल घर–घर पुगोस् भन्ने थियो । एउटा अपिल छाप्दा दुई रुपैयाँ ९० पैसा पर्छ । दुई लाख प्रति छाप्दा ६ लाख खर्च भयो । त्यो अपिल जनतालाई बुझाउने माध्यम हो, जनताकै नासो हो ।’ 

उनका अनुसार शुभेच्छुकहरूले सयदेखि हजार रुपैयाँसम्म सहयोग गरेका छन् । ‘त्यही पैसाले अपिल छापिरहेका छौँ र त्यही पैसाले गाउँ–सहर, देश–विदेशसम्म लगिरहेका छौँ,’ उनले भने । बोहराले यसका लागि पार्टीले छुट्टै कोष खडा गरी खाता खोलेको छ र त्यसको अडिट गरिनेछ । ‘हस्ताक्षर अभियान र आर्थिक संकलनसम्बन्धी सबै विवरण सार्वजनिक हुन्छ,’ उनले भने । 

महामन्त्री बुर्लाकोटीका अनुसार केही व्यक्तिले हस्ताक्षरका क्रममा स्वेच्छिक रूपमा आर्थिक सहयोग पनि गरेका छन् । ‘उहाँहरू आफैँले केही आर्थिक सहयोग गर्नुहुन्छ,’ उनले थपे ।

यो ‘मिनी जनमतसंग्रह’ पनि हो  : दीपक बोहरा, संयोजक, हस्ताक्षर अभियान
सभापति रवि लामिछानेमाथि राज्यले योजनाबद्ध रूपले प्रतिशोध साध्यो भन्ने तथ्य आमनागरिकबिच स्थापित गराउन रास्वपाको तेस्रो वार्षिकोत्सवका अवसर पारेर हस्ताक्षर अभियान सुरु गरेका हौँ । देश–विदेशमा अभियान अत्यन्त उत्साहजनक छ । रास्वपाका सदस्य, समर्थक र शुभेच्छुक त स्वस्फूर्त रूपमा अभियानमा सक्रिय हुनुहुन्छ नै, कुनै दलमा आस्था नराख्नेले पनि अन्यायविरुद्ध भन्दै हस्ताक्षर गरिरहनुभएको छ । अभियानप्रति नागरिकस्तरको बढ्दो आकर्षण र आफ्नै हजारौँ सक्रिय सदस्यले पनि हस्ताक्षर गरेर अभियानमा ऐक्यबद्धता जनाएपछि विशेषत: कांग्रेस–एमालेका नेता–कार्यकर्तामा औडाहा बढेको छ । उनीहरू सदनदेखि सडकसम्म अभियानको विरोध गरिरहेका छन् । कुनै पनि दलले आफ्ना मुद्दा जनताबिच लैजानु लोकतन्त्रको सौन्दर्य हो । यसले नै दल र जनताबिचको दूरी घटाउँछ । तर, लोकतन्त्रको ‘ठेकेदार’ हौँ भन्ने दलहरूले नै रास्वपा जनताबिच गएकोमा विरोध गरिरहेका छन् । कस्तो विडम्बना !

अदालतले हस्ताक्षर गनेर होइन, तथ्य र प्रमाण हेरेर फैसला गर्छ भन्छन् उनीहरू । अनि, हस्ताक्षर संकलन गरेर विचाराधीन मुद्दामा अदालतलाई प्रभावित गर्न खोजियो भन्ने पनि तिनै छन् । कस्तो कुतर्क हो उहाँहरूको ? हाम्रा केही प्रश्न भए पनि अदालतका आदेश स्वीकारेका छौं, पालना गरेका छौं । अदालतको प्रक्रिया जारी रहँदा हस्ताक्षर अभियानमार्फत ‘जनताको अदालत’मा आएका हौं । एउटा दल ‘जनताको अदालत’मा जाँदा प्रभावित हुने कस्तो अदालत बनाउनु भएको रहेछ उहाँहरूले !

नेपालमा १५ लाख बढीले हस्ताक्षर गर्नुभएको छ । प्रवासमा सात लाख हाराहारी भएको रिपोर्टिङ छ । यो अभियानलाई अझैं जनस्तरमा विस्तार गर्न पार्टीका संरचना परिचालन गरेका छौं । कतिपय शुभेच्छुकले फारम फोटोकपी गरेर सयौंको हस्ताक्षर गराएर बुझाउन ल्याउनु भएको पनि छ । अभियानको राजनीतिक अर्थ रवि लामिछाने एकलको हकमा होइन, भविष्यमा राज्यले कोही–कसैप्रति पनि यो हदको प्रतिशोध साँध्ने आँट नगरोस् भन्ने खबरदारीका लागि पनि हो । विपक्षी दलका नेता–कार्यकर्ताबाट अभियानमा अवरोध गर्ने छिटफुट गतिविधि भएका छन् । तर, नागरिकले नै तिनलाई तह लगाएका छन् । चितवनमा कांग्रेसले संस्थागत प्रहारको प्रयास गरेको थियो । तर, चितवनबासीको प्रतिरोधको अगाडि उनीहरूको केही चलेन । 

यो अभियान कम्तिमा एकसय दिनका लागि भनेर सुरु गरेका हौं । ऐक्यवद्धताको रफ्तार यस्तै रह्यो भने अभियान लम्बिन सक्छ । संकलित हस्ताक्षर नागरिकस्तरमा सार्वजनिक गरेर त्यसको जानकारी कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको नेतृत्वलाई दिन्छौं । यो अभियान परिवर्तन र यथास्थितिबीचको ‘मिनी जनमत संग्रह’ पनि हो । नागरिकले आफ्नो अभिमत चुनाव चिन्ह बेगरको कागजको पानामा व्यक्त गरिरहेका छन् । यो अभिमत आउँदा चुनावका लागि पूर्वसंकेत पनि हो ।  

अभियान आर्थिक रुपमा खर्चिलो पनि छ । सभापतिज्यूले सचिवालयमार्फत सार्वजनिक गराउनु भएको आफ्नो अपील सबै नागरिकबीच पुगोस् भन्ने चाहना व्यक्त गर्नुभएको छ । लाखौं प्रति अपील र हस्ताक्षर फारमको छपाइ तथा अन्य व्यवस्थापकीय कामका लागि राम्रै खर्च हुने भएकाले स्वस्फूर्त सहयोगको आह्वान पनि गरेका छौं । तर, विपक्षीले बाध्यकारी जसरी प्रचार गराए । अभियानप्रति अपनत्व हुनेले खुसीसाथ सहयोग गर्नुभएको छ । राजनीतिक दललाई गाह्रो–साँधुरो पर्दा नागरिकले नै त हो सहयोग गर्ने, रास्वपालाई स्वेच्छाले सहयोग गर्दा किन अरुको टाउको दुखिरहेको होला ? अभियानका लागि पार्टीले छुट्टै बैंक खाता सञ्चालन गरेको छ । आम्दानी र खर्चको हिसाब–किताब सार्वजनिक गर्छौं ।