मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025
शुरोजंग पाण्डे काठमाडाैं
२o८२ असार २९ आइतबार o६:२२:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भावी नेतृत्वका लागि विद्या रणनीति : सहमति नभए ओलीसँग प्रतिस्पर्धा

पार्टी नेतृत्व लिने महत्वाकांक्षासहित सक्रिय राजनीतिमा फर्किएकी विद्या भण्डारी ओलीले  सहमति नगरे चुनाव लडेर भए पनि अध्यक्ष बन्ने रणनीतिसहित गृहकार्यमा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ असार २९ आइतबार o६:२२:oo

पार्टी नेतृत्वको स्पष्ट लक्ष्यसहित सक्रिय राजनीतिमा फर्केकी पूर्वराष्ट्रपति विद्या भण्डारीले ‘शक्ति बाँडफाँट’का लागि एमाले अध्यक्ष केपी ओलीसँग सहमति र ‘शक्ति’ आर्जनका लागि प्रतिस्पर्धाको रणनीति लिने भएकी छिन् । पार्टीका नेता–कार्यकर्तासँग भेटघाट, परामर्श र सुझावपछि भण्डारीले ओलीसँग संवाद–सहमति र प्रतिस्पर्धाको दुवै विकल्प खुला राख्ने रणनीति तय गरेकी हुन् । उनको सक्रियतासँगै एमालेभित्र व्यापक ध्रुवीकरण सुरु भएको छ । 

पार्टी सदस्यता नवीकरण गरेको र सक्रिय राजनीति अगाडि बढाउने भण्डारीको १४ असारको घोषणापछि उनको भावी रणनीतिलाई लिएर चौतर्फी चासो छ । यहीबिचमा बिहीबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा पूर्वराष्ट्रपति भण्डारीले पार्टी नेता–कार्यकर्ताबाट प्राप्त सुझावपछिको निर्णय र भावी रणनीति खुलाएकी छिन् । आगामी महाधिवेशनमा उनले आफूलाई एमालेको अध्यक्षको दाबेदारका रूपमा पेस गरेकी छिन् ।

आफ्ना विषयमा भइरहेका टिप्पणी र सर्वत्र जिज्ञासा सम्बोधन गर्दै उनले निश्चित उद्देश्यले नै एमालेको राजनीतिमा फर्किएको प्रस्ट पारेकी छिन् । भावी रणनीति र कदमबारे थप प्रस्ट्याउँदै उनले सहमति र सहकार्यको बाटोमा अवरोध भए अध्यक्ष ओलीसँगसमेत प्रतिस्पर्धाका लागि तयार रहेको सन्देशसमेत दिएकी छिन् । 

एमालेको राजनीतिमा फर्किनुको अर्थ अध्यक्ष बन्नका लागि हो ? अन्तर्वार्तामा सोधिएको प्रश्नको सम्बोधन गर्दै भण्डारीले भनिन्, ‘एकदम, त्यसमा त कुनै सन्देह छ र ?’ भृकुटीमण्डपमा सम्पन्न नवौँ महधिवेशनमा दोहोर्‍याएर अध्यक्ष नबन्ने ओलीले सार्वजनिक रूपमा गरेको घोषणाको शब्द उद्धृत गर्दै उनले नेतृत्व लिने आफ्नो उद्देश्यमा उनी सहयोगी बन्ने विश्वाससमेत व्यक्त गरेकी छिन् । ‘उहाँ (ओली) एउटै कक्षामा दोहोर्‍याएर जाँच दिन्नँ भन्ने खालको व्यक्ति हो, मलाई लाग्छ– अरू नेताहरूले भन्दैमा उहाँ दोहोर्‍याउने, तेहेर्‍याउने गर्नुहुन्न, मैले चिनेको केपी ओली त्यस्तो होइन,’ भण्डारीले भनेकी छिन् । 

आफू लोकतान्त्रिक प्रक्रियाबाट समेत नेतृत्व लिन तयार रहेको सन्देश दिँदै भण्डारीले प्रतिस्पर्धाको बाटोसमेत समानान्तर रूपमा खुला राखेको जनाउ दिइन् । ‘उहाँ (ओली) सहकर्मी हो, साथी हो, सहयोद्धा हो, तर लोकतान्त्रिक प्रक्रियामा सामेल भएपछि कहिलेकाहीँ समकालीन साथीहरूको बिचमा पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, सबैले यसलाई स्वाभाविक रूपमा लिएर तयार हुनुपर्छ,’ उनले भनेकी छिन् । 

मदन भण्डारी फाउन्डेसनले मदन जयन्तीमा आयोजना गरेको कार्यक्रमपछि पूर्वराष्ट्रपति भण्डारीले राज्यबाट लिएको सेवा–सुविधा औपचारिक रूपमै फिर्ता गरेकी छिन् । त्यसलगत्तै उनी आगामी रणनीति बनाउन व्यस्त छिन् । 

आगामी एघारौँ महाधिवेशनबाट भण्डारीलाई नेतृत्वमा ल्याउने समूहको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका छन् । भण्डारीको घोषणापछि पोखरेलकै नेतृत्वमा बुढानीलकण्ठ–भंगालस्थित निवासमा गोकुल बाँस्कोटा, कर्ण थापा, विनोद ढकाल, भेषराज अधिकारीसहितका नेताले प्रारम्भिक समीक्षा गरेर आगामी मुभबारे एकसरो छलफल गरेका छन् । 

आगामी २ साउनको पोलिटब्युरो र ५ साउनमा बस्ने केन्द्रीय कमिटी बैठकमै बहस र छलफल गरेर थप रणनीति बनाउने उनीहरूको तयारी छ । त्यसअगावै डाकिने केन्द्रीय सचिवालय बैठकमै विद्या पक्षधर पदाधिकारी तहका नेताहरूले विधान महाधिवेशन केन्द्रित धारणा राख्ने तयारी गरेका छन् । त्यसपछि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा थप बहस–छलफल गराउने गरी रणनीति तय गर्ने गरी वरिष्ठ उपाध्यक्ष पोखरेलले भण्डारीका तर्फबाट गृहकार्य गरेका छन् । 

सचिवालय बैठकमा भण्डारीको पक्षमा खुलेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विधान महाधिवेशनका सन्दर्भमा अध्यक्ष र महासचिवको प्रस्तावमाथि छलफल भएपछि मात्र महाधिवेशनकेन्द्रित बहस सुरु हुने बताए । ‘विधान र कार्यदिशाका सवालमा बैठकमा कस्ता प्रस्ताव आउँछन् । पछिल्लो घटनाक्रम कुन ढंगले छलफल गर्ने गरी प्रस्ताव आउँछ । त्यस आधारमै थप बहस र छलफल हुन्छ,’ पाण्डेले भने, ‘अहिलेलाई तलका कमिटीसँग सुझाव मागिएको छ । केन्द्रीय कमिटी बैठकपछि महाधिवेशनमा प्रस्तुत हुने प्रस्तावमा सुझाव मागिन्छ । त्यसपछि नै थप बहस र छलफल हुन्छ ।’ एमालेले आगामी २० देखि २२ भदौसम्म विधान महाधिवेशन गर्दै छ । 

पार्टीमा फर्किने भण्डारीको घोषणाले देशव्यापी माहोल सिर्जना गरेको निष्कर्षसहित उनको समूहले अहिले एमालेभित्र उनको पक्षमा कोशी, बागमती, कर्णाली र मधेश प्रदेशमा थप प्रभाव बढेको प्रारम्भिक आकलन गरेको छ । सुदूरपश्चिम प्रदेशमा पनि बिस्तारै माहोल बन्न लागेको भण्डारीनिकट नेताहरूले बताएका छन् । तर, जनसंगठन र केन्द्रीय सम्पर्क समन्वय कमिटीमा भने भण्डारी समूहको उपस्थिति फितलो छ । १४ असारको कार्यक्रम तयारीका लागि भण्डारीले बोलाएको छलफलमा उपस्थित हुन जनसंगठनका पदाधिकारीलाई महासचिव शंकर पोखरेलले इन्चार्जमार्फत रोक लगाएका थिए । 

काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने नेता कृष्णगोपाल श्रेष्ठसहित बहुसंख्यक केन्द्रीय सदस्य तथा तीनवटै जिल्ला नेतृत्व भण्डारीको सक्रियताप्रति सकारात्मक देखिएका छन् । विद्याको पक्षमा माहोल बढ्दै गएकै कारण संस्थापन पक्षले भावी नेतृत्वको बहसमाथि रोक लगाउन निर्देशन दिएको उनीहरूको समीक्षा छ । भण्डारीको कमब्याकपछि महासचिव पोखरेलले सबै प्रदेश र जनसंगठनको नेतृत्वलाई विधानबाहेक नेतृत्वको विषयमा बहसमा रोक लगाइएको भन्दै त्यसअनुसार नै सांगठनिक काम गर्न निर्देशन दिएका थिए । 

अध्यक्ष ओली तथा महासचिव पोखरेलले पार्टीसँगको परामर्शविनै भण्डारीले पुनरागमनको घोषणा गरेको भन्दै उनको सक्रियतालाई लगाम लगाउने गरी पार्टी अगाडि बढ्न सक्ने संकेत गरेका छन् । यसबिचमै भानुभक्त ढकाल, डा. राजन भट्टराई र खगराज अधिकारीले संयुक्त रूपमा भेटघाट गरेर अध्यक्ष ओलीसँगको परामर्शविना अगाडि नबढ्न भण्डारीलाई सुझाव दिएका छन् ।

लामो समयदेखि भण्डारीसँग निकट रहेर अहिले पनि नियमित संवादमा रहेका बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले ओलीसँगको संवाद र सहमतिबाटै जिम्मेवारी तय हुने ठोकुवा गरे । ‘पार्टीमा काम गर्न पाउने उहाँको अधिकार हो । उहाँसँग नियमित सम्पर्क र संवादमै छु,’ उनले भने, ‘उहाँ केपी ओलीसँगको छलफल र सहमतिभन्दा बाहिर जानुहुन्न । म ठोकुवाका साथ भन्छु– विद्या ओलीसँग प्रतिस्पर्धा गरेर अध्यक्ष बन्नुहुन्न, सहमतिमै बन्नुहुन्छ ।’ उनले पार्टीमा ओली र भण्डारीको नाममा फरक–फरक गुट निर्माण नहुने ठोकुवासमेत गरे । ‘हेर्दै जानुहोला, ओली र विद्या गुट केही हुँदैन । विधान महाधिवेनपछि राष्ट्रिय महाधिवेशनअगावै सबै टुंगो लाग्छ । जे हुन्छ सहमतिमै हुन्छ ।’ 

पौडेलले जस्तै भण्डारीको पक्षमा रहेका माथिदेखि तलसम्मकै नेताहरूले संवाद र सहमतिलाई प्राथमिकता दिएर उनी अगाडि बढ्ने संकेत गरिरहेका छन् । भण्डारीप्रति सकारात्मक रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठ, कोशी इन्चार्ज शेरधन राईदेखि पोलिटब्युरो सदस्य आनन्द पोखरेल, बागमती अध्यक्ष कैलाश ढुंगेल, पुराना नेताहरू मुकुन्द न्यौपाने हुँदै युवराज कार्कीसम्मले पूर्वमुख्यमन्त्री पौडेलकै जस्तो तर्क गरिरहेका छन् । तर, ओलीसहित संस्थापन पक्षले पार्टीको आगामी बैठकबाटै निषेधको नीति लिने सम्भावना बढ्दै गएपछि भण्डारीलाई नेतृत्वमा ल्याउने तयारीमा रहेका नेताहरूले प्रतिस्पर्धाका लागि समानान्तर विकल्पमा जोड दिएर आन्तरिक तयारीमा जोड गरिरहेका छन् ।