मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८२ असार ३० सोमबार o६:२६:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

क्यान्सर बिरामीलाई ३७ प्रकारका महँगा औषधि अब निःशुल्क

मुख्य गरी स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमरलगायतका बिरामीले यी औषधि पाउने

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार o६:२६:oo

नेपालमा किन्नसमेत नपाइने क्यान्सरका महँगा औषधि सरकारले अब निःशुल्क उपलब्ध गराउने भएको छ । विभिन्न चार अस्पतालमार्फत ती औषधि वितरण गर्ने गरी आइतबार केही औषधि स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र ‘वान हार्ट वल्र्डवाइड’को समन्वयमा उक्त औषधि तथा स्वास्थ्य सामग्री २७ असारमा नेपाल आइपुगेको थियो । आइतबार प्राप्त औषधि थोरै मात्र भएकाले थप ल्याउन मन्त्रालयले पहल गरिरहेको जनाएको छ । 

थोरै मात्रामा आएको उक्त औषधि मन्त्रालयले आइतबार नै सम्बन्धित अस्पताललाई हस्तान्तरण गर्न थालेको छ । तर, पर्याप्त मात्रामा औषधि नभएकाले वितरणमा अलमल हुने चिकित्कहरूले बताएका छन् । ‘औषधि त आयो भनियो, तर चाहिने आएको छैन, आएकोमध्ये पनि निकै कम औषधि छ,’ त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकले भने, ‘सम्झौता भइसकेको वा सहयोगी संस्थाले दिने भनेको औषधि छिटोभन्दा छिटो ल्याएर बिरामीलाई उपलब्ध गराउन जरुरी छ ।’

औषधि सात करोड रुपैयाँबराबरको 
अहिले प्राप्तमध्ये केही औषधि लामो समयको पहलपछि आएको हो । प्राप्त र आउन बाँकी उक्त औषधिको मूल्य करिब सात करोड रुपैयाँ पर्ने स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जानकारी दिए । उनका अनुसार एक वर्षदेखि औषधि ल्याउन पहल गरिएको थियो । तर, नीतिगत तथा सरकारी प्रक्रियाका कारण ढिलो भएको मन्त्री पौडेलले बताए ।

‘सरकारी प्रक्रियाका कारण औषधि ल्याउनसमेत लामो समय लाग्यो । यद्यपि, प्राप्त औषधिले क्यान्सरका बिरामीलाई लाभ मिल्नेछ,’ उनले भने, ‘क्यान्सर उपचार निकै महँगो छ, बिरामीले औषधि किन्न नसक्ने अवस्था छ । प्राप्त औषधिले बिरामीलाई राहत हुनेछ । यसको वितरण विभिन्न चार अस्पतालबाट हुनेछ, बिरामीले सहजै पाउनेछन् ।’

उनका अनुसार औषधि निःशुल्क उपलब्ध गराएको संस्थासँग पहिलो चरणमा पाँच वर्षसम्म उपलब्ध गराउने सहमति भएको छ । त्यसपछि पनि दीर्घकालीन समयसम्म औषधि उपलब्ध गराउन सहयोगी संस्थासँग पहल गरिने मन्त्री पौडेलले बताए । मन्त्रालयले आवश्यक औषधिको सूची तयार गरी सम्बन्धित संस्थालाई पठाएको समेत थियो । सोही आधारमा सहयोगी संस्थाले पाँच वर्षका लागि औषधि दिने प्रतिबद्वता जनाएको छ । तर, सूचीमा राखिएका कतिपय औषधि नआउँदा अस्पताल द्विविधामा छन् । 

भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सरको औषधि किन्दा बिरामीमा परिरहेको आर्थिक भार निःशुल्क औषधि प्राप्तपछि केही कम हुने बताए । ‘बिमा कार्यक्रम तथा सरकारले निःशुल्क रूपमा दिने औषधिले बिरामीलाई पुग्दैन, आफैँ किनेर प्रयोग गर्दै आइरहेका छन्, कतिपय त महँगो औषधि किन्नसमेत नसक्ने अवस्थामा छन्,’ उनले भने, ‘अझ क्यान्सरको उपचारमा चार–पाँच सय प्रकारका औषधि प्रयोग हुन्छन्, तीमध्ये अधिकांश औषधि महँगा छन् ।’ 

यी औषधि मुख्य गरी स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमरलगायतमा प्रयोग हुन्छन् । औषधि मुख्यतः स्तन क्यान्सरका बिरामीलक्षित भएको सहयोगी संस्था वान हार्ट वल्र्डवाइडका प्रतिनिधि सूर्य भट्टले जानकारी दिए । उनका अनुसार लामो प्रक्रियापछि यी औषधि नेपाल ल्याउन सकिएको हो । किन्नलाई निकै महँगो पर्ने हुँदा बिरामीलाई वैकल्पिक औषधिसमेत खुवाउने गरिएको थियो । अब भने प्रभावकारी औषधि नेपाललाई हस्तान्तरण भएको भट्टले बताए । 

यसअघि विश्व स्वास्थ्य संगठनले १४ वर्षभन्दा मुनिका बालबालिकालाई लक्षित गरी औषधि दिएको थियो । अहिले उक्त उमेरभन्दा माथिल्लो समूहलाई यो औषधि आएको हो । यद्यपि, यो औषधिले सबै प्रकारका क्यान्सर र बिरामीलाई कभर नगर्ने हुँदा थप औषधि ल्याउने तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट तथा क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईंले निःशुल्क औषधिको उपलब्धता हुनु सराहनीय भएको बताए । यसलाई थप व्यवस्थित र निरन्तरताका लागि पहल आवश्यक रहेको उनको भनाइ छ । उनले अब आधारभूत किमोथेरापी सेवासमेत सहज पार्न आवश्यक रहेको बताइन् ।

यी अस्पतालबाट हुनेछ निःशुल्क औषधि वितरण 
आइतबार मन्त्रालयलाई हस्तान्तरण गरिएका केही औषधि र स्वास्थ्य सामग्री आइतबार र सोमबार अस्पताललाई हस्तान्तरण गरिसकिनेछ । मुख्यतः क्षेत्र तथा बिरामीको अवस्था हेरी चार अस्पताललाई औषधि हस्तान्तरण गरिएको छ । जसमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके र वीर अस्पताललाई हस्तान्तरण गरिएको हो । यी अस्पतालले बिरामीलाई निःशुल्क रूपमा औषधि उपलब्ध गराउनेछन् । साथै, अपुग औषधि मन्त्रालयसँग माग गर्नेछन् । 

स्वास्थ्यमन्त्री प्रदीप पौडेल भन्छन् –सरकारी प्रक्रियाका  कारण औषधि ल्याउनसमेत लामो समय लाग्यो । यद्यपि, प्राप्त औषधिले क्यान्सरका बिरामीलाई लाभ मिल्नेछ । क्यान्सर उपचार निकै महँगो छ, बिरामीले औषधि किन्न नसक्ने अवस्था छ । प्राप्त औषधिले बिरामीलाई राहत हुनेछ ।