
७८ लाख रुपैयाँ घुसकाण्डमा मुछिएका संघीय मामिला तथा सामानय प्रशासनमन्त्री राजकुमार गुप्तामाथि छानबिनका लागि सांसदहरूले आवाज उठाएका छन् । आइतबारको संसद् बैठकमा बोल्दै माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी तथा राप्रपाका सांसदहरूले छानबिनको माग गर्दै यस विषयमा प्रधानमन्त्री केपी ओलीको समेत जवाफ मागेका छन् ।
तर, यति गम्भीर विषयमा प्रधानमन्त्री ओली भने मौन देखिएका छन् । यससम्बन्धी विवरण सार्वजनिक भएको तीन दिन हुँदा पनि उनले मन्त्री गुप्तासँग स्पष्टीकरणसमेत सोधेका छैनन्।
एक विवादित जग्गा मिलाउनका लागि कास्की मालपोतमा अनुकूलका कर्मचारी लैजान ५३ लाख घुसको डिल भएको र भूमि आयोगको अध्यक्षका लागि २५ लाखको डिल भएको अडियो सार्वजनिक भएको छ । केही रकम मन्त्री निवासमै लगेर दिइएको विषयमा फोटोसहित विवरणहरू सार्वजनिक भइसकेका छन्। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलेदेखि नै अनुसन्धान गरिरहेको छ ।
आइतबार संसदमा माओवादी केन्द्रका दुर्गा राई, ज्ञानु बस्नेत, रास्वपाकी सुमना श्रेष्ठ तथा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलगायतले यस विषयमा छानबिनको माग गरेका हुन् ।
भ्रष्टाचारविरुद्ध चर्का कुरा गर्ने प्रधानमन्त्रीको व्यवहारमाथि समेत सांसदहरूले प्रश्न उठाएका छन्।