
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस ‘डिल’ गरेका छन् । उनले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ । मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुसको डिल गरेको छुट्टै अडियो पनि सार्वजनिक भएको छ । जसमा उनले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई पनि पोलेका छन् ।
अडियोसहितको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरिसकेको छ । करिब १० मिनेट लामो अडियो संवादमा मन्त्री गुप्ता एक महिलासहित बिचौलियासँग भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्ति गर्न आर्थिक लेनदेनको कुरा गरिरहेका सुनिन्छन् । यो डिल मन्त्रीनिवासमा भएको आशंका गरिएको छ । पुरानै चिनजान र पटक–पटकको लेनदेनजस्तो गरी मन्त्री र बिचौलियाबिच अनौपचारिक संवाद अडियोमा सुनिन्छ ।
अडियोमा एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्नका बिचौलियाले २५ लाख घुसको प्रस्ताव गरेका छन् । संवाद भएकै दिन १५ लाख र भोलिपल्ट थप १० दिने अडियोमा सुनिन्छ । अडियो संवादमा आएका सन्दर्भ र घटनाक्रमले यो ‘डिल’ गत २८ पुसमा भएको देखिन्छ । किनभने बिचौलियासँगै रहेकी महिलाले भोलिपल्ट श्रीस्वस्थानी व्रतकथा प्रारम्भ हुने र त्यस दिन आफ्नो छोराको जन्मदिन रहेको बताएकी छिन् । त्यस्तै, भोलिपल्ट आयोगमा नियुक्ति हुने र त्यही दिन शपथको तयारी पनि भइरहेको उनले बोलेको अडियोमा सुनिन्छ । नभन्दै २९ पुसमा भूमि व्यवस्था मन्त्रालयले ७० जिल्लामा आयोग अध्यक्ष नियुक्त गरेको थियो । यद्यपि, पुनले भने नियुक्ति पाएनन् । बिचौलियाले मन्त्री गुप्तालाई भूमिसुधारमन्त्रीसँग भनेर काम गराइदिन पटक–पटक आग्रह गरेका छन् ।
यही १० असारमा ‘घुस–रिसवत लिने विभागीय मन्त्रीलाई कारबाही गरिपाऊँ’ भन्ने विषयसहित अख्तियारमा उजुरी परेको थियो । दुईवटा विषय जोडेर छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको छ । त्यसमा कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई थमौती गरिदिने र यही भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्तिको विषय छ । मालपोत कार्यालय प्रमुखको थमौतीका लागि मन्त्री गुप्ताले ५३ लाख रुपैयाँ लिएको दाबी उजुरीमा छ ।
निवेदकले बुझाएको पैसाको नम्बर र नोट तस्बिरसहित उजुरी गरेका छन् । ‘...संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कास्की जिल्लास्थित तत्कालीन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई थमौती गरिदिन्छु भनी घरजग्गा व्यवसायीसँग भनी ५३ लाख रुपैयाँ लिएको पैसाको नम्बर र नोटको तस्बिर यसैसाथ संलग्न छ,’ अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।
उही घरजग्गा व्यवसायीबाट मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाख रुपैयाँ घुस डिल गरेको अडियो प्राप्त भएको पनि उजुरीमा खुलाइएको छ । यसमा पनि पैसाको नोट नम्बरसहित उजुरीकर्ताले अख्तियारमा उजुरी गरेका छन् । उजुरीकर्ताले दुवै डिलमा पैसाको तस्बिर र नोट नम्बर उल्लिखित डायरी र अडियोसमेत उजुरीसाथ संलग्न गरेर अख्तियारमा बुझाएका हुन् । ‘यसबारे अनुसन्धान गरी मन्त्री गुप्तालाई तत्काल नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐन, २०५८ अनुसार तत्काल कारबाहीका लागि अनुरोध छ,’ उजुरीमा छ ।
त्यसैबिच मन्त्रीको घुस प्रकरणमा उजुरी परेपछि अख्तियारले छानबिन नै थालेको छ । प्राप्त उजुरी प्रमाणहरूका आधारमा प्रारम्भिक छानबिन थालिएको अख्तियार स्रोतले बतायो । ‘उजुरीमा उल्लिखित विषयमाथि भेरिफाई गर्दै र्छौँ,’ अख्तियार स्रोत भन्छ, ‘अहिले नै यकिन गर्न सकिने अवस्था छैन ।’
पोखरा महानगरपालिका– ३२ का खेमबहादुर पुन एमाले गण्डकी प्रदेश कमिटी सदस्य हुन् । पुन ०७४ र ०७९ को स्थानीय तह निर्वाचनमा पोखरा– ३२ को वडाध्यक्षमा पराजित भएका थिए । शुक्रबार राति नयाँ पत्रिकाले टेलिफोन सम्पर्क गर्दा उनले आफूले घुस नदिएको दाबी गरे । भूमि आयोगको अध्यक्ष नियुक्तिका लागि पैसा दिएको भन्ने कुरा बाहिर आएको छ, त्यो के भएको हो भन्ने प्रश्नमा उनले भने, ‘कसले भन्यो त्यो मैले पैसा दिएको भन्या भनेर ।’ हाल अडियोसहित बाहिर आएको छ निभन्ने प्रश्नमा उनले जवाफ दिए, ‘कहाँ मैले दिएको भनेको छ, नचाहिँदो कुरा नगर्नुस् तपाईंहरूले ।’
कहाँ हो त्यो सम्बन्धित ठाउँ ?
अडियो संवादमा मन्त्री गुप्ताले जिल्ला भूमिसुधार कार्यालय कास्कीमा प्रमुखको थमौतीका लागि लिने रकम (५३ लाख) अर्को दिन सम्बन्धित ठाउँमा पुर्याउने भनेर अर्को शक्तिकेन्द्र पनि जोडेका छन् । बिचौलियाले ‘सत्यनारायण हाम्रो गुरुजी हो । मन्त्रीज्यू म मगाइदिन्छु । र तपाईं राख्नू’ भनेका छन् । जवाफमा मन्त्री गुप्ताले भनेका छन्, ‘राख्ने होइन, भोलि बिहानै दिएर पठाउनुपर्छ । सम्बन्धित ठाउँमा पुर्याइदिन्छु ।’ दुवै मन्त्री एमाले नेता हुन् । गुप्ताले सम्बन्धित ठाउँ भनेर सरकारको, पार्टी नेतृत्व वा अन्य कुनै शक्तिकेन्द्रतिर इसारा गरेको स्पष्ट छ, तर कुन भन्ने जवाफ छैन । तर, बिचौलियाले एक ठाउँ ‘बा’ भनेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको पनि प्रसंग निकालेका छन् ।
मन्त्री गुप्तासँग बिचौलियाले गरेको घुस डिलको अडियो संवाद
मन्त्री : फोन गर न उल्लाई ।
कोही व्यक्ति : अँ फोन गरिरा’छु ।
बिचौलिया : सत्यनारायण हो हाम्रो गुरुजी । मन्त्रीज्यू म मगाइदिन्छु । र तपाईं राख्नू ।
मन्त्री : राख्ने होइन, भोलि बिहानै दिएर पठाउनुपर्छ । सम्बन्धित ठाउँमा पुर्याइदिन्छ । कसैको नम्बरमा फोन डायल हुन्छ, तर फोन उठ्दैन ।
मन्त्री : ह्विस्की खाने ?
बिचौलिया : नखाने के मन्त्रीज्यू, मैले कहिल्यै खान्नँ के ।
मन्त्री : कहिल्यै खानुहुन्न ?
बिचौलिया : सुन्नु न मन्त्रीज्यू, त्यो बलराम (भूमिसुधारमन्त्री बलराम अधिकारी)लाई भनम् न । बरु, त्यो २० म बुझाइदिउँला के खेमका लागि भोलि । फर्स्ट आवरमै बुझाइदिन्छु त्यो पनि । भन्दिनु त बलरामलाई ।
मन्त्री : बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन ।
बिचौलिया : त्यो होइन क्या, आयोगको कुरा गरिरा’को छु क्या,
मन्त्री : आयोग भन्नाले ?
बिचौलिया : खेम पुनका लागि के । २० बुझाइदिन्छु के । भन्दिनु त बलरामलाई । भन्दिनु त मन्त्रीज्यू ।
फोन बज्छ...
मन्त्री : हेल्लो । अहँ । उम्म् । फोनमा बात कि भाषण कर्रहा ? बिचमा महिला आउँछिन् । केही कुराकानी भएको सुनिन्छ ।
बिचौलिया : तपाईं टेन्सन नलिनु त । भोलि समस्या हल भइहाल्छ ।
महिला : मलाई कति टेन्सन छ तपाईंलाई थाहा छैन ।
बिचौलिया : तपाईं टेन्सन नलिनु त । भोलि समस्या हल भैहाल्छ त... ।
महिला : छोराको तिथिको बर्थडे छ, उलाई मन्दिर लानु छ । तिथिमा भा’को होइन त, स्वस्थानी पूर्णिमाको ? त्यसपछि पशुपति जानु छ, ममीकोमा सगुन लिन जानु छ । भोलि २९ गते अन्तिम दिन ।
बिचौलिया : भोलि दिनको हुन्छ, शपथग्रहण अनि तपाईं चुप लागेर बस्नुस् त ! महिला : तपाईंकै अघि छ त !
महिला : हाम्रो मन्त्रीज्यूले एकपटक भन्दिनुपर्यो के बलरामलाई, भनिस्यिो न ! केही पनि नमान्ने भनिस्यो न ।
बिचौलिया : मेरो एउटा मान्छे पनि नबनाइदिने ? भन्नु त (हाँस्दै) ।
महिला : कस्तो मान्दैन ।
बिचौलिया : लामो हाँसो । तपाईंसँग सयवटा काम पर्छ त्यसको भनेको, तपाईंको एउटा काम नगर्दिएर हुन्छ । त्यसमाथि सबैले प्रेसर दिएको छ उसलाई । बाले समेत भने होलान् उस्तै परे भने ।
मन्त्री : यो त पोलिटिकल नियुक्ति हुँदै दिएको । जिल्लाबाट आउनुपर्छ, प्रदेशबाट आउनुपर्छ ।
बिचौलिया : दाइ उसको सिफारिसै आइसक्यो । हत्तेरी, उसको सिफारिस भको के मन्त्रीज्यू । निर्णय भाछ प्रदेशबाट यसरी । यता हेर्नु । प्रदेशले निर्णय गरेर पठाएछ नि यसरी । खेमबहादुर पुन भनेर एकल सिफारिस भएर आएको छ यसरी ।
मन्त्री : जिल्लाबाट ?
बिचौलिया : जिल्लाले प्रदेशलाई भने, प्रदेशले मन्त्रालयलाई पठाउने ।
मन्त्री : अनि फेरि समस्या के छ ?
बिचौलिया : अरू–अरू मान्छे खेलिरा’छ नि त त्यहाँ । यहाँ नि खुराक छुटिरा’छ नि त ।
महिला : मन्त्रीज्यूले भनेपछि मानिहाल्छ नि ।
मन्त्री : अब अहिले मन्त्रालयमा छ, यहाँ हुन्थ्यो भने आइहाल्थ्यो, तीनपाने रक्सी खान ।
महिला : खै कसले भनेको मान्छ के उसले, मन्त्रीहरूमा पनि ... ।
मन्त्री : कहाँ छ कृषिमन्त्री ? केरे भूमिसुधारमन्त्रीको... रक्सी पार्टी थियो रे ।
महिला : सबै मन्त्रीहरूको ।
महिला : छोरो खान्छ काठमाडौं आएपछि ।
मन्त्री : उसलाई फोन गर्नुस्, भूमि आयोगको अध्यक्षका लागि, कास्की होइन ?
बिचौलिया : कास्की, खेमबहादुर पुन ।
मन्त्री : कास्कीको जिल्ला कमिटीले सिफारिस गरेको छ ।
बिचौलिया : प्रदेशले निर्णय गरेर पठाएको छ ।
मन्त्री : प्रदेशले पनि गरेको छ भनेपछि त्यो पक्का हो, त्यही पनि शंका छ भने गडबड हुन्छ । कति छ, भोलिकै काम ।
बिचौलिया : १ बजे शपथग्रहण छ ।
मन्त्री : फोनमा (अहिले निस्किनु न बाबा, गाडी आइरा’छ मन्त्रालयबाट । भेट हुन्छ, आउनु न म बोत्तल दिन्छु लिएर जानु खुवाइदिनु, उहाँको ओके गराइदिनु । माल कति लिन्छ अहिले लिइदिने । त्यो नियमले मिल्ने रहेछ, जिल्ला कमिटीले सिफारिस गर्या छ, प्रदेशले सिफारिस... ।
बिचौलिया : प्रदेशले एकल निर्णय गरेर पठाइद्या छ
मन्त्री : भोलि गरिदिनु ।
बिचौलिया : जिल्लाले पाँचजनाको गर्या छ क्या, प्रदेशले चाहिँ त्यहाँमध्ये छानेर एउटा मात्र पठाएको छ ।
महिला : डिलकै गरौँ ?
बिचौलिया : भन्नु न, डिल गरौँ भन्नु त ।
बिचौलिया : मन्त्रीज्यू, यसो गर्छुु सुन्नुस्, मैले अहिले १५ छोड्छु, १० चाहिँ बिहान ल्याएर दिन्छु, त्यो अदालतको ।
बिचौलिया : यसो हो ... अदालत ... पर्सि उहाँले सामान्यबाटै गर्दिनुहुन्छ ।
महिला : मन्त्रीज्यूका हातमा... ।
बिचौलिया : मञ्जुरी एस र नो भनेर आउँछ रे, उहाँहरूलाई केही आउँदैन (हाँस्दै)
बिचौलिया : पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरेर बसिरहेको छ मन्त्रीज्यू, अनि हामी यहाँ यसरी हेरेर बसेर हुन्छ?
मन्त्री : १५ महिनामा के हेरिरा’छ त ?
बिचौलिया : गर्या छ त अलिअलि काम त ।
मन्त्री : हाँसो ।
बिचौलिया : त्यत्तिकै पछुतो लागेन होला नि त मन्त्रीज्यू, लिएर आउनुस् त त्यो ।
मन्त्री : १५ महिना के गरिरा यिनीहरूले ?
बिचौलिया : १५ गरौँ, १५ गरिदिन्छ रे ।
बिचौलिया (महिलासँग) : नकराउनु न तपाईं, भोलि गराउँला क्या ... मलाई पोखरा पुर्याई... २५ मै ... । तपाईंलाई थाहा छ कि नाइँ ... ।
महिला : बुझ्या छु त, तपाईंको... ।
बिचौलिया : म्याडमले मलाई के भन्या छ थाहा छ ? घरै नआइज तँ अरे ।
महिला : चित्त दुखिहाल्छ नि बिचरा !
बिचौलिया : छलफल चलिरा’छ त्यहाँ ।
महिला : कास्की ... ।
मन्त्री : के खानुहुन्छ त ?
बिचौलिया : केही नखाने हो मन्त्रीज्यू, तपाईंको त्यत्रो चिया खाएको देख्नुभएन ।
मन्त्री : माछा खानुहुन्छ ?
बिचौलिया : माछा–मछली केही नखाने, अब माझीकुनामा माछा खान जाने हो तपाईंले काम गरेपछि ।
बिचौलिया : (फोनमा) ल हुन्छ हुन्छ । गर्दिएँ, सबै गर्दिएँ ।
मन्त्री : आउनु न फेरि तपाईं भन्नुहुन्छ भने । (हिँडेको आवाज)
बिचौलिया : सटै सट रहेछ । कुच्चिने हो कि फेरि... तपाईं दुइटा कुरा गर्नुस् ।
अर्का व्यक्ति : तपाईं कुरा गर्नुस् क्या ।
मन्त्री : आउनु न ।
ती व्यक्ति : ट्वाइलेट गएर आएँ क्या मन्त्रीज्यू । मन्त्रीज्यू तपाईंको फोन आयो क्या हो ।
नयाँ पत्रिकाले प्रतिक्रिया माग्दा मन्त्री राजकुमार गुप्ताले सुरुमा भने–आज नछाप्नूस्, भोलि भेटेर कुरा गरौँ पछि भने, ‘त्यो अडियोको आवाज मेरो होइन’
नयाँ पत्रिका : मन्त्रीज्यूले घुस डिल गरेको अडियो प्राप्त भएको छ, त्यसबारे तपाईंको प्रतिक्रिया लिन फोन गरेको हो, के भन्नुहुन्छ ?
मन्त्री गुप्ता : के भो त...
नयाँ पत्रिका : अडियोमा तपाईंकै आवाज सुनिन्छ, के हो यसको सत्यता ?
मन्त्री गुप्ता : हैन आज नछाप्नूस्, भोलि भेटेर कुरा गरौँ ।
नयाँ पत्रिका : हुन्छ, भोलि भेटौँला मन्त्रीज्यू, तर अहिलेचाहिँ आजको समाचारका लागि तपाईंको प्रतिक्रिया लिन खोजेको...
मन्त्री गुप्ता : भोलि दिन्छु (प्रतिक्रिया) नि म । भोलि कति बजे कहाँ भेट्ने ? कता आऊँ ?
नयाँ पत्रिका : भोलि थप समाचारका लागि भेटौँला, आजको समाचारमा प्रतिक्रिया भएन भने फेरि ‘मेरो कुरा राख्नुभएन’ भन्नुहोला, त्यसैले थोरै भए पनि आफ्ना कुरा भनिदिनुभयो भने ठिक हुन्थ्यो ।
मन्त्री गुप्ता : त्यो अडियो गलत हो, सही होइन । स्वर मेरो होइन, मैले कुनै त्यस्तो काम गर्या पनि छैन, तथ्यले बताउँछ । मेरो संलग्नता केही छैन ।
नयाँ पत्रिका : तर, अडियोमा त तपाईंकै आवाज सुनिन्छ नि ?
मन्त्री गुप्ता : त्यो होइन, प्रमाणका साथ डिटेलमा म भोलि बताउँछु नि । बरु कहाँ भेटौँ, तपाईंकै अफिसमा आउँछु नि ।
मन्त्री गुप्ताले घुस प्रकरणमा भूमि व्यवस्थामन्त्री अधिकारीलाई पनि पोले–बलरामले पैसा खाइसक्यो, काम गर्दैन
२५ लाखको घुस डिलसम्बन्धी अडियोमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई समेत पोलेका छन् । मन्त्री अधिकारीले पैसा (घुस) खाइसकेको दाबी गरेका छन् ।
अडियोमा बिचौलियाले मन्त्री गुप्तालाई आग्रह गर्दै भन्छन्, ‘सुन्नु न मन्त्रीज्यू, त्यो बलराम (भूमि व्यवस्थामन्त्री बलराम अधिकारी)लाई भनम् न । बरु, त्यो २० म बुझाइदिउँला के खेम (खेमबहादुर पुन)का लागि भोलि । फर्स्ट आवरमै बुझाइदिन्छु त्यो पनि । भन्दिनु त बलरामलाई ।’ (पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि यो प्रस्ताव गरिएको बुझिन्छ ।)
जवाफमा मन्त्री गुप्ता भन्छन्, ‘बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले (काम) गर्दैन ।’ (गुप्ताले कास्की मालपोतका तत्कालीन प्रमुखको सरुवाका विषयमा यो कुरा गरेको अनुमान गर्न सकिन्छ ।) बिचौलियाले त्यो विषयमा होइन, भूमि आयोगमा नियुक्तिका सन्दर्भमा कुरा गरेको भन्दै गुप्तासँग भन्छन्, ‘त्यो होइन क्या, आयोगको कुरा गरिराको छु ।’
त्यसपछि पनि पटकपटक पुनलाई नियुक्ति गर्न मन्त्री अधिकारीलाई भनिदिन आग्रह गरेको सुनिन्छ । एकपटकको जवाफमा मन्त्री गुप्ता भन्छन्, ‘अब अहिले मन्त्रालयमा छ, यहाँ (निवास) हुन्थ्यो भने आइहाल्थ्यो, तीनपाने रक्सी खान ।’
प्रधानमन्त्री ओलीले भन्ने गरेका छन्-म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ
प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउँदै आएका छन् । आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने उनको घोषणा छ । २२ साउन ०८१ मा संसद्को राज्य व्यवस्था समितिको बैठकमा उनले भनेका थिए, ‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ । कसैले लाञ्छना लगाउनु बेग्लै कुरा हो । तर, मैले कुनै भ्रष्टाचार गरेको पाइएमा म यस धर्तीमा मात्र होइन, चित्रगुप्तसमक्ष पुगेर पनि बयान दिन तयार छु ।’
त्यस्तै, २९ भदौ ०८१ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा पनि उनले भनेका थिए, ‘हामी नयाँ ढंगले नेपाललाई अघि बढाउन चाहिरहेका छौँ । अब आगामी दिनमा तपाईंहरूले धेरै ठुल्ठुला भ्रष्टाचारका काण्डहरू आदिइत्यादि सानाठुला केही सुन्न पर्नेछैन ।’