१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २२ आइतबार
  • Sunday, 06 July, 2025
टेकराज थामी काठमाडाैं
२o८२ असार २२ आइतबार o६:५५:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आलम छुटेपछि बम विस्फोटका जिउँदो प्रमाण गौरीशंकरलाई छटपटी : शरीरमा खतैखत बोकेर घटनाको फेहरिस्त बताउन भारतबाट आइपुगे काठमाडौं

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २२ आइतबार o६:५५:oo

२७ चैत ०६४ मा रौतहटको राजपुर फरहदवामा भएको विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा प्रमाण नभेटिएको भन्दै पूर्वमन्त्री एवं कांग्रेस नेता अफ्ताब आलमलाई उच्च अदालत वीरगन्ज इजलासले जब सफाइ दियो, दुनियाँ चित खायो । जिल्ला अदालत रौतहटले सुनाएको जन्मकैदको फैसला उच्चले उल्ट्याइदिएपछि पीडितलाई खाटा बसेको घाउ पनि चहर्‍याउन थाल्यो । हो, फरहदवा नरसंहारमा घाइते भएर बल्लतल्ल बाँचेका भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार शरीरका खतैखत बोकेर घटनाको फेहरिस्त बताउन काठमाडौं आइपुगेका छन् ।

बमले दुवै कान उडाइदियो । अनुहार, घाँटी र छातीमा गम्भीर चोट लाग्यो । धन्न घाइते अवस्थामा केही पर भाग्न सफल उनी जिउँदै इँटाभट्टामा झोसिनबाट जोगिएका थिए । कसैले भारतमा पुर्‍याइदिएपछि उपचार गरेर बाँच्न पनि सफल भए । कसैले देख्नेबित्तिकै आङ सिरिंग पार्ने डरलाग्दा खतका कारण उनी कान, टाउको, अनुहार र घाँटी गम्छाले ढाकेर हिँड्छन् । जिल्ला अदालत रौतहटले आलमलाई जन्मकैद फैसला सुनाएपछि थोरै भए पनि न्यायको महसुस गरेका गौरीशंकरको सुकिसकेको घाउ पनि त्यतिवेला चहर्‍यायो, जब उच्च अदालतले उनीसहित सबै दोषीलाई निर्दोष साबित गरिदियो ।

‘म गरिब मान्छे । उपचार गर्दा साढे तीन लाख भारु सकियो । जिल्ला अदालत रौतहटको फैसलापछि क्षतिपूर्ति पाउने आशा थियो, तर पाइएन । तैपनि अदालतले ती दोषीहरूलाई जन्मकैदको फैसला गरेकोमा पनि चित्त बुझाएर बसेको थिएँ,’ उनले भने, ‘तर, अहिले उच्च अदालतले विस्फोट नै नभएको भन्दै घटनामा संलग्न सबैलाई सफाइ दिएपछि मलाई छटपटी भयो । निको भइसकेको घाउ पनि चहर्‍याएको अनुभूति भयो । बमले दुवै कान कसरी उडायो र अनुहारदेखि शरीरसम्म खतैखत कसरी भयो भनेर मलाई पीडा पोख्न मन छ । त्यसैले सितामढीबाट काठमाडौं आइपुगेको छु ।’ 

गौरीशंकर त्यतिवेला गाउँमा चलेका इँटा बनाउने मिस्त्री थिए । गौरीशंकरको सिप थाहा पाएका अफ्ताब आलमका भाइ महताबले सितामढी गएर उनीसहित स्थानीय नरेश राम र मुनिस रामलाई ०६४ पुसमा इँटा बनाउन राजपुर ल्याए । महताबले तीनैजनालाई सोही इँटाभट्टामा काम गर्न लगाए । मजदुरलाई प्रत्येक साताको अन्तिम दिन ज्याला दिने चलन थियो । 

२७ चैत ०६४ को दिन पनि साताको ज्याला बुझ्ने दिन थियो । गौरीशंकर, नरेश र मुनिस ज्याला लिन महताबको घरतर्फ लागे । साँझ ठिक ६:३० बजे शेख इद्रिशको गोठनजिक पुगे । गोठमा अचानक बम विस्फोट भयो । विस्फोटबाट निस्केको बारुदका छर्रासहित आगोको लप्काले गौरीशंकरको छातीमा गम्भीर चोट लाग्यो । घाँटी जलायो । दुवै कान उछिट्टिए । 

‘म इँटा बनाउने मिस्त्री हुँ । मलाई त्यसवेला महताबले राजा इँटाभट्टामा काम लगाइदिएका थिए । प्रत्येक साताको अन्तिममा ज्याला दिने चलन थियो । २७ चैत पनि ज्याला बुझ्ने दिन थियो । त्यसैले हामी ज्याला लिन महताबको घर जाँदै गर्दा शेख इद्रिशको गोठमा बम विस्फोट भएको थियो,’ उनले त्यो घटना सुनाए, ‘घाँटी, छाती र अनुहारमा पनि गम्भीर चोट लाग्यो । दुवै कान त्यही विस्फोटमा गुम्यो ।’ 

गौरीशंकरलाई मात्रै होइन, बारुदको छर्रा उनीसँगै गएका नरेश र मुनिसलाई पनि लागेको थियो । तर, उनीहरूलाई चोट कम थियो । त्यसैले उनीहरू घटनास्थलबाट सजिलै भाग्न सफल भए । गौरीशंकर पनि लरखराउँदै घटनास्थलबाट केही पर पुगे । त्यहाँ पानीको सानो पोखरी थियो, त्यहीँ हामफाले । पानीले शरीरमा बलिरहेको आगो निभायो । तर, जलन खासै मत्थर पार्न नसकेपछि उनी त्यहीँ बेहोस भएर ढले । आँखा खुल्दा गौरीशंकरले एकैचोटि आफूलाई सितामढीस्थित सदर अस्पतालको बेडमा पाए ।

‘म घाइते भएँ । सँगै गएका साथीहरू भागिसकेछन् । म पनि लर्खराउँदै भागेँ । गहुँबारीनजिक पुगेपछि सानो पोखरी रहेछ । म त्यहीँ हामफालेँ । शरीरको आगो निभ्यो । केहीबेरमा म त्यहीँ ढलेछु । होस खुल्दा त सितामढीस्थित अस्पतालको बेडमा रहेछु ।’ 

गौरीशंकरका अनुसार उनले पर्समा सधैँ सानो डायरी बोक्थे । डायरीमा परिवारका सदस्यको फोन नम्बर लेखेका थिए । पोखरीबाट उनलाई राजपुरका स्थानीयले उद्धार गरे । डायरीमा भेटेको नम्बरमा फोन गरिदिएपछि परिवारका सदस्य राजपुर आएर गौरीशंकरलाई सितामढी लगेका थिए । 

‘त्यसवेला सानो डायरी खल्तीमा बोक्ने मेरो बानी नै थियो । परिवारका सदस्यको फोन नम्बरहरू उक्त डायरीमा टिपेको थिएँ । म बेहोस भएपछि उद्धार गर्नेले खल्ती खोतलेछन् । डायरी भेटेछन् । त्यहाँ भेटेको नम्बरमा फोन गरिदिएपछि परिवारका सदस्यले थाहा पाएछन् र राजापुर आएर सितामढी अस्पताल पुर्‍याएका रहेछन् ।’

उपचारपछि उनी ठिक भए, तर जीवनमा शान्ति आएन । बम विस्फोटको घटनामा संलग्नविरुद्ध अस्पतालमा मुद्दा चल्दै थियो । गौरीशंकर घटनाको जीवित चस्मदित गवाह (प्रत्यक्षदर्शी) थिए । त्यसैले उनको मुख बन्द गराउन अफ्ताबका तर्फबाट करिब चार वर्ष लगातार ज्यान मार्ने धम्की आयो । सीमा कटेर नेपाल नआउन उनलाई बारम्बार धम्की दिँदै भित्रिएमा कुनै न कुनै मुद्दामा फसाइदिने चेतावनी दिन्थे ।

‘मलाई चार वर्षसम्म लगातार ज्यान मार्ने धम्की आयो । नेपाल आए कुनै न कुनै मुद्दामा फसाइदिने धम्की दिन्थे । विभिन्न अपरिचित नम्बरका फोन आउँथ्यो । म डराएँ, नेपाल छिर्न सकिनँ, चुपचाप घरमै बसेँ,’ गौरीशंकरले भने ।

जब घटनाको १२ वर्षपछि रौतहट जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी भूपेन्द्र खत्रीले फाइल खोले । त्यसपछि गौरीशंकरलाई खोज्दै प्रहरी नै सितामढी पुग्यो । प्रहरीले उनीसँग सोधपुछ लियो । गौरीशंकरले घटनाको वृत्तान्त बताइदिए । शरीरमा लागेको चोटको फरेन्सिक परीक्षण गर्न उनलाई महाराजगन्जस्थित प्रहरीको विधि विज्ञान प्रयोगशाला ल्याइयो । प्रयोगशालमा उनको शरीरमा लागेको घाउको खत परीक्षण भयो । परीक्षणको नतिजा आयो, ‘जाँच गरिएको शरीरको मेडिकल जाँच र उनको अस्पताल रेकर्डको विश्लेषणका आधारमा शल्यक्रिया र छाला प्रत्यारोपण गरिएका चोटपटकको सम्भावित कारण विस्फोटले पुर्‍याएको चोट हो ।’

१८ वर्षअघि आलो घाउ जति चहर्‍याएको थियो, अहिले मन त्योभन्दा धेरै चहराएको बताउँछन् गौरीशंकर । जिल्ला अदालत रौतहटले फैसला सुनाउँदा केही मलम लागेको महसुस गरेका उनी जिल्लाको फैसला उल्ट्याउने उच्च अदालत वीरगन्जको फैसलापछि छटपटाएका छन् । बम विस्फोटमा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु)का बुबा श्रीनारायण सिंहले फैसला गर्ने न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध उजुरी दिएको खबर उनले सितामढीमै सुने । न्यायपरिषद्ले दुवै न्यायाधीशलाई छानबिनका लागि तानेको खबर पनि थाहा पाए । तर, पनि उनलाई त्यति ठुलो जघन्य अपराधको जिउँदो प्रमाण भएर पनि चुप बस्न मन लागेन । त्यसैले २७ चैत ०६४ को घटना सुनाउन उनी काठमाडौं आइपुगेका छन् ।

‘म नेपालको मिडियासामु २७ चैत ०६४ को घटना बताउन चाहन्छु । सोही उद्देश्य बोकेर म काठमाडौं आइपुगेको छु । सबै मिडियासम्म पुग्न मेरो पहुँच छैन । न म पत्रकार सम्मेलन गर्ने हैसितयको छु । तर, म सबैसमक्ष त्यो जघन्य अपराध बताउन चाहन्छु,’ गौरीशंकरले भने ।

भारतको सीतामढीबाट काठमाडौं आइपुगेका गौरीशंकर राम चमारले भने–बमले दुवै कान कसरी उडायो र अनुहारदेखि शरीरसम्म खतैखत कसरी भयो भनेर पीडा पोख्न मन छ, त्यसैले सीतामढीबाट काठमाडौं आइपुगेको छु

रौतहट बम विस्फोटको फेहरिस्त सार्वजनिक गर्न काठमाडौं आइपुगेका गौरीशंकर राम चमारको छातीको खत बीभत्स भएकाले छोपिएको हो । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

म गरिब मान्छे । उपचार गर्दा साढे तीन लाख भारु सकियो । जिल्ला अदालत रौतहटको फैसलापछि क्षतिपूर्ति पाउने आशा थियो, तर पाइएन । तैपनि अदालतले ती दोषीहरूलाई जन्मकैदको फैसला गरेकोमा चित्त बुझाएर बसेको थिएँ । तर, अहिले उच्च अदालतले विस्फोट नै नभएको भन्दै घटनामा संलग्न सबैलाई सफाइ दिएपछि मलाई छटपटी भयो । निको भइसकेको घाउ पनि चहर्‍याएको अनुभूति भयो । बमले दुवै कान कसरी उडायो र अनुहारदेखि शरीरसम्म खतैखत कसरी भयो भनेर मलाई पीडा पोख्न मन छ । त्यसैले सीतामढीबाट काठमाडौं आइपुगेको छु ।

बम विस्फोटमा घाइते भएपछि म लर्खराउँदै भागेँ । गहुँबारीनजिक पुगेपछि सानो पोखरी रहेछ । म त्यहीँ हामफालेँ । शरीरको आगो निभ्यो । केहीबेरमा म त्यहीँ ढलेछु । होस खुल्दा त सीतामढीस्थित अस्पतालको बेडमा रहेछु ।

मलाई चार वर्षसम्म लगातार ज्यान मार्ने धम्की आयो । नेपाल आए कुनै न कुनै मुद्दामा फसाइदिने धम्की दिन्थे । विभिन्न अपरिचित नम्बरका फोन आउँथ्यो । म डराएँ, नेपाल छिर्न सकिनँ, चुपचाप घरमै बसेँ ।