
भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त जिल्ला बनेको छ । जिल्लाका चारैवटा नगरपालिकाका लक्षित उमेर समूहका सबै बालबालिकाले सम्पूर्ण खोप प्राप्त गरेपछि शनिबार बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले औपचारिक रूपमा उक्त घोषणा गरेका हुन् ।
१६ देखि २३ महिनासम्मका बालबालिकाले बीसीजी, पोलियो, दादुरा–रुबेला लगायतका सबै खोप समयमै पूरा मात्रा पाएको र आगामी दिनमा पनि बालबालिकाले खोप पाउने सुनिश्चितता देखिएको जिल्ला खोप समन्वय समितिले पुष्टि गरेपछि शनिबार भक्तपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका ४ नगरपालिकाको ३८ वटै वडामा १६ देखि २३ महिनासम्मका पाँच हजार नौ सय ६ बालबालिकाले सम्पूर्ण खोप लगाइसकेका छन् ।
शनिबार घोषणा सभालाई सूर्यविनायकमा सम्बोधन गर्दै बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले यो स्वास्थ्य क्षेत्रको उपलब्धि भएको बताए ।
कार्यक्रममा उनले भक्तपुर अस्पताललाई टेलिमेडिसिन अस्पतालमा स्तरोन्नति गरिने र आवश्यक साधन श्रोत उपलब्ध गराइने जानकारी गराए । उनले स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउन घरदैलो स्वास्थ्य सेवा विस्तार गरिने समेत बताएका छन् ।
त्यसैगरी, स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले नियमित खोप कार्यक्रम प्रभावकारी हुँदा बाल मृत्युदरमा ८० प्रतिशतले कमी आएको बताइन् । कार्यक्रमको दिगोपनाका लागि बजेट, जनशक्ति, स्थानीय तह र सबै सरोकारवालाको सक्रियता आवश्यक रहेको उनले उल्लेख गरेकी छन् ।
जिल्ला खोप समन्वय समितिको समेत संयोजक रहेका जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले घोषणा मात्रै पर्याप्त नभई यसको निरन्तरता र दिगोपनामा जोड दिँदै अनुगमन, जनचेतना र सेवा विस्तारमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले खोप कार्यान्वयनमा महिला स्वयंसेविका, स्वास्थ्य चौकी र स्थानीय सरकारको भूमिकाको प्रशंसा गरिन् ।
घोषणाको अवसरमा चारैवटा नगरपालिका, स्वास्थ्य कार्यालय, स्वयंसेविका लगायतलाई सम्मान समेत गरिएको थियो ।