१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
मुख्य समाचार डिजिटल संस्करण

भोजपुर हत्या घटना : शव ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार ११:४९:oo

भोजपुरको रामप्रसाद राई– २ धोद्लेखानीमा हत्या गरिएका चारजनाको शवको फेरेन्सिक परीक्षण गर्न आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घटनास्थलबाट आइतबार जिल्ला अस्पताल ल्याइएको शवको फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि धरान पठाइएको हो ।

भोजपुर नगरपालिका– २ घर भएका २७ वर्षीय राजेन्द्र राईले १५ वर्षीय श्रीमती मनीषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए । अभियुक्त पनि घाइते रहेकाले उनको पनि धरानमा उपचार भइरहेको छ ।

मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षणका लागि धरान पठाउन रामप्रसाद राई गाउँपालिकाको सचिवालयले संकलन गरेको सहयोग परिवारलाई हस्तान्तरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष थामबहादुर राईले संकलित एक लाख १४ हजार आठ सय ७१ रुपैयाँ रकम मृतकका आफन्तलाई हस्तान्तरण गरेका छन् । मृतक परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले गाउँ कार्यपालिकाको बैठक बसेर पालिकाको तर्फबाट पनि सहयोग गर्ने उनको भनाइ छ ।

‘मृतक परिवारको आर्थिक अवस्था कमजोर छ,’ अध्यक्ष राईले भने, ‘सचिवालयबाट संकलन भएको एक लाख १४ हजार रकम हस्तान्तरण गरेका छौँ । गाउँपालिकाको तर्फबाट पनि सहयोग गछौँ ।’ शनिबार राति आफ्नै ज्वाइँले एकै परिवारका चारजनाको सामूहिक हत्या गरेका थिए ।