
एमालेको राजनीतिमा फर्किने घोषणापछि ओलीसँग दूरी बढेकी भण्डारी र पहिलेदेखि टकरावमा रहेका बालेनबिचको भेट अर्थपूर्ण
‘पूर्वराष्ट्रपतिज्यूले देशमा केही गरौँ र राजनीतिक अस्थिरता हटाऊँ भन्ने उद्देश्यसहित पुन: सक्रिय राजनीतिमा आउन मन लागेको बताउनुभयो । उहाँले मेयरसाबलाई पनि राजनीतिक दलमार्फत राजनीतिमा अगाडि बढ्न अनुरोध गर्नुभएको थियो,’ विद्या भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मेयरसाबले राजनीतिक दलमार्फत नै अगाडि बढ्ने स्पष्ट केही भन्नुभएन । हेरौँ, अवस्था कस्तो हुन्छ भनेर जवाफ दिनुभयो ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरका मेयर बालेन शाहबिच पछिल्ला राजनीतिक घटनाक्रम र महानगरका गतिविधिबारे अन्तरंग छलफल भएको छ । भण्डारीको सचिवालयबाटै निमन्त्रणा आएपछि बिहीबार बालेन भेटघाटका लागि पुगेका थिए । पूर्वराष्ट्रपति भण्डारीले एमालेमा पुनरागमनको घोषणासँगै अध्यक्ष केपी ओलीलाई टक्कर दिएर भावी नेतृत्व लिन अग्रसर भइरहेको चर्चाबिच उनले बालेनसँग भेटवार्ता गरेकी हुन् ।
बालेनका स्वकीय सचिव भूपदेव साहका अनुसार दुई नेताबिच झन्डै एक घण्टा छलफल भएको थियो । ‘उहाँ (पूर्वराष्ट्रपति भण्डारी)सँग समसामयिक विषयमा सौहार्दपूर्ण छलफल भयो, कतिपय राजनीतिक सवाल र घटनाक्रममा तथा कतिपय महानगरपालिकासँग सम्बन्धित विषयमा छलफल भयो,’ उनले भने, ‘पूर्वराष्ट्रपतिज्यूले मेयरसाबलाई राम्रो रेस्पोन्स गर्नुभयो । मेयरसाबले पनि उहाँले पूर्वराष्ट्रपतिको हैसियतमा पाइने सरकारी सेवासुविधा फिर्ता गरेकोबारे चर्चा गर्नुभयो । कुराकानीका क्रममा महानगरपालिकामा देखिएको पछिल्लो समस्याबारे पनि छलफल भयो ।’
बालेनले पूर्वराष्ट्रपति भण्डारीसँग सक्रिय राजनीतिमा फर्किने घोषणा गरेको विषयमा पनि चासो राखेका थिए । त्यस्तै, पूर्वराष्ट्रपति भण्डारीले पनि बालेनसँग आगामी ‘राजनीतिक यात्रा’को योजना र तयारीका विषयमा चासो राखेकी थिइन् । जानकार स्रोतका अनुसार ‘युवा र नागरिकमाझ लोकप्रिय’ पनि रहेकाले राजनीतिक दलमार्फत अगाडि बढ्न उनको सुझाव थियो । ‘पूर्वराष्ट्रपतिज्यूले देशमा केही गरौँ र राजनीतिक अस्थिरता हटाऊँ भन्ने उद्देश्यसहित पुन: सक्रिय राजनीतिमा आउन मन लागेको बताउनुभयो । उहाँले मेयरसाबलाई पनि राजनीतिक दलमार्फत राजनीतिमा अगाडि बढ्न अनुरोध गर्नुभएको थियो,’ भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मेयरसाबले राजनीतिक दलमार्फत नै अगाडि बढ्ने स्पष्ट केही भन्नुभएन । हेरौँ, अवस्था कस्तो हुन्छ भनेर जवाफ दिनुभयो ।’
पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय महानगरभित्र देखिएका विवाद एवं नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको विषयमा पनि बालेनसँग चासो राखेकी थिइन् । जवाफमा बालेनले संघ सरकारले महानगरपालिकालाई अस्वाभाविक रूपमा हस्तक्षेप गर्ने र घेराबन्दी गर्ने काम गरिरहेको बताएका थिए । भण्डारीले बालेनसँग जोडिएका र प्रतिशोध राखिएका विषयबारे आफू जानकार रहेको बताउँदै एक राजनीतिज्ञका हिसाबले त्यसमा सहजीकरणका लागि पहल गर्ने बताएकी थिइन् ।
पछिल्लो समय संघ सरकार र मेयर बालेनबिच विवाद छ भने प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर मेयर असन्तुष्ट छन् । उनी प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं नफेरिएसम्म नीति तथा कार्यक्रम र बजेट नल्याउने अडानमा छन् । केही समयअघि प्रधानमन्त्री केपी ओली र बालेनबिच टकराव बढेको थियो । केन्द्र सरकारले असहयोग गरेको र प्रतिशोधपूर्ण व्यवहारले हेरेको भन्दै उनी असन्तुष्ट छन् । पुन: एमालेको सक्रिय राजनीति थालेकी भण्डारीसँग बालेनले गरेको भेटलाई भने अर्थपूर्ण रूपमा लिइएको छ । पूर्वराष्ट्रपति भण्डारीका पूर्वस्वकीय सचिव राजकुमार राईले भने आफूलाई बालेनसँगको भेटवार्ताबारे जानकारी नभएको बताए ।