
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा जालसाजी गरेर हत्याएको ३९ वर्षपछि सरकारकै नाममा फिर्ता आएको छ । काठमाडौंको बाँसबारीस्थित १० रोपनी जग्गा खाली भएपछि सरकारी प्रयोजनकै लागि प्रयोग गर्ने प्रक्रिया अघि बढेको छ ।
एक वर्षअघि नै सो जग्गा सरकारको नाममा ल्याउने निर्णय भए पनि खाली हुन सकेको थिए । सरकारले मुद्दा नचलाउने निर्णय गरेपछि जग्गा खाली गराउन सिजी चाँदबाग रेसिडेन्सी तयार भएको हो ।
प्रेमबहादुर थापा, काठमाडौं महानगरपालिका–३, वडाध्यक्ष
खाली भएको जग्गामा सिआइबीको कार्यालय राख्न दुई महिनाअघि नै पत्र आएको थियो । त्यसउपर कुनै निर्णय गरेका छैनौँ, गंगालाल अस्पतालले पनि मागेको छ र स्थानीयले त्यो जग्गा खाली नै राख्नुपर्छ भन्नुभएको छ । छलफल गरेर निर्णय लिन्छौँ ।
काठमाडौं महानगरपालिका– ३ मा पर्ने सो जग्गा गत वैशाखदेखि खाली भएको हो । तर, कसरी उपभोग गर्ने भन्ने टुंगो लागेको छैन । नेपाल प्रहरीले भने केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को कार्यालय राख्न प्रस्ताव गरेको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले पनि सो जग्गा माग गरेको छ ।
‘खाली भएको जग्गामा सिआइबीको कार्यालय राख्न दुई महिनाअघि नै पत्र आएको थियो,’ काठमाडौं– ३ का वडाध्यक्ष प्रेमबहादुर थापा भन्छन्, ‘त्यसउपर कुनै निर्णय गरेका छैनौँ, गंगालाल अस्पतालले पनि मागेको छ र स्थानीयले त्यो जग्गा खाली नै राख्नुपर्छ भन्नुभएको छ । छलफल गरेर निर्णय लिन्छौँ ।’ स्थानीयले पार्क बनाउन माग गरेका छन् । स्कुलले जग्गा खाली गराए पनि त्यहाँका संरचना भने भत्काइसकेको छैन । वडा कार्यालयले असारभित्र संरचना भत्काएर लैजान पत्र लेखेको छ ।
सिआइबीकै अनुसन्धानका आधारमा सो जग्गा सरकारको नाममा फिर्ता आएको हो । सिआइबीले १८ माघ ०८० मा सो विद्यालयका सञ्चालक अरुण चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । पछि मुद्दा नचलाउने सर्तमा सिजी चाँदबाग रेसिडेन्सी जग्गा फिर्ता गर्न तयार भएको थियो । तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको जग्गा कर्मचारीसहितको मिलेमतोमा किर्ते कागजपत्र बनाई हत्याएको भन्दै सिआइबीले अनुसन्धान थालेको थियो । यद्यपि, पछि मुद्दा नचलाउने निर्णय गरियो ।
०४३ मा चौधरी समूहले च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरी सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता उद्योगलाई सहयोग गर्ने आश्वासनमा साझेदारी गरेको थियो । जुत्ता उत्पादनमा सघाउने भन्दै च्याम्पियन फुटवेयरले बाँसबारी छालाजुत्ताको ६ रोपनी जग्गा मिलेमतोमा नियम मिचेर सस्तोमा खरिद गरेको थियो । त्यस्तै, कम्पनीको २५ सय कित्ता सेयर बाँसबारी छालाजुत्ता उद्योगलाई दिने सहमतिमा सोबापतको चार रोपनी जग्गा च्याम्पियन फुटवेयरले आफ्नो बनाएको थियो । तर, सञ्चालनमा आएको तीन वर्षपछि नै फुटवेयर बन्द गरियो । छालाजुत्ता कम्पनीको जग्गा भने फिर्ता भएन । छालाजुत्ता कम्पनीलाई पनि पछि सरकारले निजीकरण गरेको थियो । जग्गा हत्याउनकै लागि त्यसरी सरकारी स्वामित्वको कम्पनीसँग साझेदारी गरिएको अनुसन्धानमा खुलेको थियो ।
सिआइबी हाल नेपाल ट्रस्टको लाजिम्पाटस्थित भवनमा लिजमा बसेको छ । तर, त्यहाँ पर्याप्त ठाउँ नहुँदा हिरासत कक्ष तथा केही कार्यालय भने महाराजगन्जस्थित पुरानो कार्यालयमा छ । आफ्नै भवन नहुँदा अनुसन्धानलगायत काममा समस्या हुँदै आएको सिआइबीका एसएसपी होबिन्द्र बोगटी बताउँछन् । सोही कारण बाँसबारीमा खाली भएको १० रोपनी जग्गा माग गरिएको उनले बताए ।