
प्लानिङ ब्वाइज युनाइटेडले एन्फा यू–१६ लिगमा सानदार सुरुवात गरेको छ । शनिबार भएको खेलमा प्लानिङले सातदोबाटो युथ क्लबलाई ४–० ले पराजित गर्यो । ७२औँ मिनेटमा आश्विन पौडेलले दोहोरो पहेँलो कार्ड व्यहोरेपछि सातदोबाटो १० खेलाडीमा सीमित भयो । त्यसैको फाइदा प्लानिङले उठाएको हो ।
प्लानिङलाई महत्वपूर्ण तीन अंक दिलाउन ओम खड्काले र रविन लुंगेली मगरले समान दुई गोल गरेका हुन् । योसँगै यसै वर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उक्लिएको प्लानिङ गोलअन्तरका आधारमा शीर्ष स्थानमा उक्लिएको छ ।
शुक्रबार भएको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लबले अर्काे बढुवा भएको श्री भगवतीलाई २–१ तथा विभागीय टोली त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई ३–१ ले पराजित गरेको थियो । एन्फाको अनुसार फिफाको अनुदानमा आयोजना भएको लिगको करिब एक करोड अनुमानित खर्च हुनेछ । लिगमा सहिद स्मारक ए डिभिजन लिग खेल्ने १४ वटै क्लब सहभागी छन् । ९१ खेल हुँदा शीर्ष स्थानमा रहने टोलीले एक लाख पुरस्कार पाउनेछ ।
ओम र रविन नायक
प्लानिङको जितमा ओम र रविन नायक बनेका छन् । दुवैले समान दुई गोल गरेका हुन् । खेलको १३औँ मिनेटमा ओमले पेप्सिकोलाको टोलीलाई अग्रता दिलाएका हुन् ।
रविनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोल गरेको प्लानिङले दोस्रो हाफमा थप दुई गोल गर्यो । ६०औँ मिनेटमा प्लेअयर अफ दी म्याच ओमले व्यक्तिगत दोस्रो गोल गरे । ६ मिनेटपछि नै रविनले चौथो गोल गर्दै टोलीलाई सहज जित दिलाएका हुन् । खेलमा दबाब बनाए पनि आश्विनले रातो
कार्ड पाएपछि सातदोबाटो कमजोर बनेको थियो ।