
एक राजालाई कसैले बाजका दुई बच्चा उपहार दिए । उनले रेखदेख र तालिमका लागि एक अनुभवी बाजविज्ञ नियुक्त गरेर ती बाजका बच्चा उनको जिम्मा लगाए ।
केही महिनापछि राजालाई ती बाजका बच्चा हेर्न मन लाग्यो । उनी बाजपालन केन्द्रमा पुगे । दुवै बच्चा हुर्किसकेका थिए । राजाले बाजपालकसित आफूले बाजको उडान हेर्न चाहेको बताए । बाजपालकले पनि राजाको आज्ञाअनुसार दुवै बाजलाई उड्ने इसारा दिए । इसारा पाउनासाथ दुवै बाज वेगले उड्न थाले । दुईमध्ये एक बाज आकाशको निकै माथिमाथि उडान भर्न थाल्यो भने अर्को बाजचाहिँ केहीबेर उडेर जमिनमै फर्कियो र रुखको एउटा हाँगामा बस्यो ।
राजालाई अनौठो लाग्यो । उनले बाजपालकसित प्रश्न गरे– यो बाज अर्कोजसरी किन माथिमाथिसम्म उडेन । बाजपालकले भने– यसले सुरुदेखि नै यसै गर्दै आएको छ । जबजब म उड्ने आदेश दिन्छु, अर्को आकाशतिर वेगले उड्न थाल्छ भने योचाहिँ केहीबेर उडेर जमिनमा फर्किन्छ र रुखको हाँगामा बस्छ ।
अर्को दिन राजाले बाजलाई माथिमाथिसम्म उडाउन सक्नेलाई इनाम दिने घोषणा गरे । घोषणा सुनेर देशभरिका नामी विद्वान्, चराविज्ञ, बाजविज्ञ जम्मा भएर बाजलाई उडाउने कोसिस गरिरहे । बाज केहीबेर उडेर जमिनमा फर्किन्थ्यो र रुखको हाँगामा बस्थ्यो । केही दिनसम्म यही सिलसिला चलिरह्यो । एक दिन अचानक त्यो बाज पनि पहिलो बाजजस्तै आकाशमा माथिमाथिसम्म उड्यो । यो देख्दा राजा खुसी भए । उनले त्यसरी बाजलाई उडाउने व्यक्तिको खोजी गरे ।
त्यो बाज एक सामान्य किसानका कारण उडेको थियो । किसान राजासामु उपस्थित भए । राजाले उनलाई वाचाअनुसार उपहार दिए । त्यसपछि उनले यसरी एकाएक बाज उड्नुको कारण जान्न चाहे । किसानले भने– महाराज, म एक सामान्य किसान हुँ ।
मैले, बाजबारे खासै केही जानेको छैन । तर, खेती किसानी गर्दागर्दै चराहरूको स्वभावबारे भने धेरथोर जानेको छु । त्यसैका आधारमा मैले सानो प्रयास गरेको हुँ, विशेष केही गरेको होइन । वास्तवमा त्यो बाज केहीबेर उडेपछि जमिनमा फर्किएर जहिल्यै एउटै रुखको एउटै हाँगामा बस्थ्यो । त्यो देखेपछि मैले त्यो रुख काटिदिएँ । किनकि, बाजलाई त्यो हाँगामा बस्ने बानी परिसकेको थियो । र, रुख नै नरहेपछि त्यो बाज पनि साथीसितै माथिमाथि उड्यो ।