१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १९ बिहीबार
  • Thursday, 03 July, 2025
सुदीश के
२o८२ असार १९ बिहीबार ११:२५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अंग्रेजी–विरोधको आवरणमा लुकेको हिन्दी सर्वोच्चतावाद

Read Time : > 2 मिनेट
सुदीश के
नयाँ पत्रिका
२o८२ असार १९ बिहीबार ११:२५:oo
  • आजको भारतको भविष्य अंग्रेजी वा भारतीय भाषाबिचको छनोटमा नभई दुवैलाई समेट्न सक्ने बहुभाषिक दृष्टिकोणमा छ 

गृहमन्त्री अमित शाहले ‘भारतमा अंग्रेजी बोल्नेले चाँडै लाज मान्नेछन्’ र ‘भारतीय भाषाविना हामी साँचो अर्थमा भारतीय रहँदैनौँ’ भनेका छन् । सतही रूपमा यी भनाइ संस्कृतिप्रेम र राष्ट्रवादको प्रतीकजस्तो देखिए पनि यिनले बहुभाषिक भारतमा भाषाप्रति रहेको गहिरो अन्योल र असुरक्षालाई उजागर गर्छन् । हिन्दीलाई राष्ट्रभाषा बनाउनेकै सन्तान अंग्रेजी स्कुलमा पढ्छन् र उनीहरूको राजनीतिक जीवन पनि अंग्रेजीमै निर्भर छ । तर, यहाँ अझ गहिरा, संरचनागत कथा छन् ।

सन् २०२५ मा आएर अंग्रेजीलाई ‘विदेशी’ भनेर खारेज गर्नु क्रिकेटलाई औपनिवेशिक खेल भनेर अस्वीकार गर्नुसरह हो । अंग्रेजी भाषा भारतमा दुई सय वर्षदेखि जीवनका सबै क्षेत्रमा प्रयोग हुँदै आएको छ र आज यो भारतीय शैलीमा ढलिसकेको छ । यस्तो अवस्थामा अंग्रेजी प्रयोगकर्तामाथि लाजको भावना थोपर्नु गुगल पे गरेबापत लाज मान्नुजस्तै हो । आज अंग्रेजीको सट्टा हिन्दीलाई राष्ट्रको ‘प्रामाणिक भाषा’का रूपमा अघि सारिँदै छ । तर, पाठ्यपुस्तकमा पढाइने हिन्दी कुनै पनि राज्यको वास्तविक मातृभाषा होइन । अमित शाहका भनाइले भारतको भाषा नीतिको इतिहासमा गहिरो रूपमा जरा गाडेको हिन्दीको योजनाबद्ध निर्माण प्रक्रियालाई उजागर गर्छ । स्वतन्त्रता प्राप्तिपछि केन्द्र सरकारले सरकारी संयन्त्रमार्फत हिन्दीलाई ‘राष्ट्रभाषा’को प्रतीकका रूपमा स्थापित गर्‍यो । आजको मानकीय हिन्दी अर्थात् विद्यालय, पाठ्यक्रम र सञ्चारमाध्यममा प्रयोग हुने हिन्दी जनसाधारणले घरमा बोल्ने अवधी, ब्रज, भोजपुरी नभई संस्कृतनिष्ठ र फारसी–उर्दु प्रभावमुक्त भाषा हो । 

फ्रान्सेस्का ओर्सिनीले औपनिवेशिक भारतमा ‘हिन्दी सार्वजनिक क्षेत्र’ कसरी बनाइयो भनेर देखाएकी छन् । १९औँ शताब्दीको उत्तरार्धदेखि २०औँ शताब्दीको पूवाद्र्धसम्म राष्ट्रवादी नेताहरूले औपनिवेशिक शासनको विरोध र जनसाधारणलाई गोलबन्द गर्न एक साझा भाषिक माध्यमको खोजी गरिरहेका थिए । यसै सन्दर्भमा ‘एक भाषा, एक राष्ट्र’को ढाँचाअनुरूप खडी बोलीमा आधारित देवनागरी लिपिको हिन्दीलाई अन्य उत्तर भारतीय भाषाभन्दा माथि राखेर मानकीकृत गरियो र प्रवद्र्धन गरियो । तर, उत्तर प्रदेश, बिहार, मध्य प्रदेश, राजस्थानजस्ता राज्य भाषिक रूपमा अत्यन्त विविध छन्, जहाँ भोजपुरी, मैथिली, ब्रजजस्ता भाषाको आफ्नै साहित्यिक परम्परा थियो, जसलाई हिन्दीका भाषिका ‘बोली’ भन्दै दबाइएको छ ।

अंग्रेजीले शैक्षिक प्रणालीमा रहेको वर्णवादी बर्चस्व तोड्यो । अंग्रेजी उपनिवेशकालीन भए पनि भारतमा यसले एक अनपेक्षित परिवर्तन ल्यायो, अर्थात् शैक्षिक प्रणालीमा उच्च जातीय वर्चस्वमा दरार पैदा गर्‍यो । दलित चिन्तक चन्द्रभान प्रसादले त अंग्रेजी प्रवद्र्धन गर्ने बेलायती नोकरसाह म्याकालेलाई नै ‘अनायासको मुक्तिदाता’को संज्ञा नै दिएका थिए । त्यो कथन अतिरञ्जित लाग्न सक्छ, तर उनको आशय स्पष्ट छ– अंग्रेजीले भारतमा वर्णव्यवस्थाको भारीले दबाएका आवाजलाई पहिलोपटक बोल्ने अवसर दिएको थियो । यो भाषा दलित र सीमान्तकृत समुदायका लागि ब्राह्मणवादी शिक्षातन्त्रबाट उम्कने वैकल्पिक बाटो बन्यो ।

हामी भाषा नामक पर्खाल र सोपानबाट परिभाषित हुन्छौँ । फ्रान्सेली मनोविश्लेषक ज्याक लकाँका शब्दमा ‘भाषा केवल हाम्रो प्रयोगको उपकरण होइन, त्यो त हामीलाई नै निर्माण गर्ने संरचना हो । हामी भाषा बोल्दैनौँ, बरु भाषा नै हामीमार्फत बोल्छ’ । भारतको सन्दर्भमा अंग्रेजीले यो परम्परागत शक्ति–सन्तुलनलाई भत्कायो । अंग्रेजीको विदेशीपन नै यसका लागि फलदायी भयो, किनभने यही अपरिचित अंग्रेजी माध्यमले दबिएका आवाजका लागि नयाँ घर र नयाँ अभिव्यक्ति निर्माण गर्‍यो । अंग्रेजी एक लोकतान्त्रिक र मुक्तिकारी भाषिक शक्ति बन्न पुग्यो । आजको विश्वव्यापी अर्थतन्त्रमा अंग्रेजी केवल उपयोगिताको माध्यम होइन, यो त लकाँले भनेजस्तो एक यस्तो भाषिक आधार हो, जसको वरिपरि नवउदारवादी आधुनिकता, सामाजिक गतिशीलता र सफलताको आकांक्षा निर्माण हुन्छ ।

भारतका करोडौँ युवा अंग्रेजी माध्यमको शिक्षातर्फ आकृष्ट हुनुको कारण मातृभाषाप्रतिको लज्जाभाव होइन । यसको कारण सामाजिक संरचनाभित्र अंग्रेजीले ओगटेको प्रतीकात्मक शक्ति हो । यही भाषाबाट उनीहरूले विश्व पुँजी, रोजगारीका नयाँ अवसर, ज्ञान र पहिचानको पहुँच कल्पना गर्न सक्छन् । लाज अंग्रेजी बोल्नमा होइन, लाज त त्यसलाई सिक्ने अवसर र पूर्वाधारबाट जनतालाई वञ्चित गरिनुमा छ, जहाँ अंग्रेजी भाषा पुल नभई भित्तो बन्छ । दार्शनिक एलेन बदिउले ‘जेनेरिक सेट’को कुरा गर्छन्, जुन कसैको निजी स्वामित्वमा छैन, त्यसैले सबैको साझा हुन सक्छ । भारतमा अंग्रेजी अब कुनै उपनिवेशवादी सम्पत्ति होइन । यो अब एक साझा सांस्कृतिक क्षेत्र हो, जहाँ भारतीय कथा, किस्सा, लय र आकांक्षाले यसको आकृति निर्माण गरेका छन् ।

अंग्रेजी भारतीय हो कि होइन भन्नेभन्दा महत्वपूर्ण प्रश्न ‘भारतीय’ भन्ने परिभाषा तय गर्ने अधिकार कसको ? भन्ने हो । भाषा भारतीय हुन भौगोलिक वा सांस्कृतिक शुद्धता चाहिने हो ? यदि अंग्रेजीलाई विदेशी भनेर खारेज गर्नुपर्ने हो भने संविधान, अरबी अंक, फारसी कविता, संस्कृत व्याकरण र राष्ट्र–राज्यको अवधारणा पनि अस्वीकार गर्नुपर्ने हुन्छ, किनकि ती पनि पूर्ण रूपमा भारतीय होइनन् । भारतको वास्तविकता मिश्रित भाषिक र सांस्कृतिक स्वरूप हो, जहाँ कोही घरमा भोजपुरी बोल्छ, पाइथन कोड गर्छ, अंग्रेजीमा सम्झौता गर्छ र ऊ अझै पनि पूर्ण रूपमा भारतीय हुन्छ । आजको भारतको भविष्य अंग्रेजी वा भारतीय भाषाबिचको छनोटमा नभई दुवैलाई समेट्न सक्ने बहुभाषिक दृष्टिकोणमा छ, जसले हिन्दी कट्टरतावादको एकभाषिक सोचलाई चुनौती दिन सक्छ ।

(के बेंग्लोरस्थित क्राइस्टका अंग्रेजी विभाग एवं सांस्कृतिक अध्ययनका उप–प्राध्यापक हुन्) 
द वायरबाट