१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८२ असार १६ सोमबार ११:५९:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकमा थुप्रियो साढे आठ खर्ब

अपेक्षित रूपमा कर्जाको माग नबढ्दा बैंक तथा वित्तीय संस्थामा अधिक तरलता, बैंकहरूले कर्जा प्रवाह बढाउन सकेनन्, स्थायी निक्षेप सुविधा बढाए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार ११:५९:oo

अपेक्षित रूपमा कर्जाको माग नबढ्दा बैंकहरूमा तरलता थुप्रिएको छ । बिहीबारसम्म बैंक तथा वित्तीय संस्थामा कर्जा दिन मिल्ने आठ खर्ब ४२ अर्ब रुपैयाँ थुप्रिएको देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ७८.०५ प्रतिशत छ । त्यस्तो अनुपात ९० प्रतिशतसम्म हुने गरी कर्जा प्रवाह गर्न पाइन्छ । अर्थात्, बैंकहरूले अझै निक्षेपको ११.९५ प्रतिशत रकम कर्जा प्रवाह गर्न पाउँछन् । अहिले बैंकहरूमा रहेको ७० खर्ब ४३ अर्ब रुपैयाँ निक्षेपका आधारमा ऋण दिन मिल्ने रकम आठ खर्ब ४१ अर्ब ६३ करोड रुपैयाँ देखिन्छ ।

पछिल्लो समय आर्थिक शिथिलतालगायतका कारण कर्जाको मागमा कमी आएको छ । त्यसले गर्दा बैंकहरूमा ऋण दिन मिल्ने रकम थुप्रिएको छ । अहिले असारमा पनि बैंकहरूको कर्जा प्रवाह न्यून हुन्छ । आर्थिक वर्षान्तका कारण बैंकहरू कर्जा प्रवाहभन्दा पनि असुलीमा केन्द्रित हुन्छन् । त्यसमाथि सरकारले यो वेला खर्च उच्च गर्दा निक्षेप भने बढ्नेछ ।

 १२ वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात अझै ८० प्रतिशत माथि
बैंकहरूमा निक्षेप थुप्रिँदै जाने र कर्जा प्रवाह बढ्न नसकेर लगानीयोग्य पुँजी बढ्दै गइरहेको छ । तर, चालू आर्थिक वर्ष ०८१÷८२ को जेठसम्मको तथ्यांकअनुसार अधिकांश वाणिज्य बैंकहरूको कर्जा निक्षेपको अनुपात भने ८० प्रतिशतभन्दा बढी नै देखिन्छ । बैंकहरूको तरलता मापन गर्ने प्रमुख सूचकमध्ये कर्जा निक्षेपको अनुपात (सिडी रेसियो) पनि हो ।  

सबै वाणिज्य बैंकहरूको यस्तो अनुपात औसतमा ७८.४४ प्रतिशत पुगेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । यद्यपि, कुल २० वटा वाणिज्य बैंकमध्ये १२ बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८० प्रतिशतभन्दा माथि छ । यस्तो अनुपात ९० प्रतिशतभन्दा कम हुनुपर्ने केन्द्रीय बैंकको प्रावधान छ । 

सबैभन्दा उच्च सिडी अनुपात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको छ । यो अनुपात ८५.६० प्रतिशत छ । त्यसपछि माछापुच्छे« बैंक लिमिटेडको ८४.४५ प्रतिशत, प्राइम कमर्सियल बैंक लिमिटेडको ८४.३९ प्रतिशत, एनएमबि बैंक लिमिटेड प्रतिशत र नबिल बैंक लिमिटेडको ८३.५९ प्रतिशत छ । यस्ता बैंकहरूको निक्षेपको तुलनामा कर्जा विस्तार बढी देखिएकाले सिडी अनुपात दबाबमै रहेको देखिन्छ । 

निक्षेपको अनुपातमा कर्जा प्रवाह सुस्त देखिएका बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (६४.३१ प्रतिशत), प्रभु बैंक लिमिटेड (७१.५० प्रतिशत), स्ट्यान्डर्ड चार्टर्ड बैंक (७१.५७ प्रतिशत), नेपाल एसबिआई बैंक लिमिटेड (७२.१ प्रतिशत) र नेपाल बैंक लिमिटेड (७२.१३ प्रतिशत) छन् । यी बैंकहरूको सिडी अनुपात औसतभन्दा कम छ ।

नेपाल राष्ट्र बैंकको गत बिहीबार (१२ असार) वाणिज्य बैंकहरूको निक्षेप संकलन ६३ खर्ब तीन अर्ब रुपैयाँ छ । बैंकर्स संघका अनुसार जेठ मसान्तसम्म ६२ खर्ब ५८ अर्ब थियो । १२ दिनको अवधिमा ४५ अर्ब निक्षेप थपिएको छ । त्यस्तै, बिहीबारसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४९ खर्ब ५५ अर्ब छ ।

संघका अनुसार जेठ मसान्तसम्म ४९ खर्ब ४७ अर्ब थियो । अर्थात् १२ दिनमा आठ अर्ब कर्जा विस्तार भएको छ । कर्जा विस्तार हुन नसकेपछि वाणिज्य बैंकहरूले स्थायी निक्षेपको सुविधा लिएका छन् । आइतबार मात्रै बैंकहरूले एक खर्ब ८० अर्ब ५५ करोडको यस्तो सुविधा लिएका छन् । यो मंगलबारसम्मका लागि लिइएको हो । 

एक सय ९७ खर्बको स्थायी निक्षेप सुविधा
चालू आर्थिक वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट एक सय ९७ खर्ब ९४ अर्ब रुपैयाँबराबरको स्थायी निक्षेप सुविधा (एसडिएफ) लिएका छन् । बैंक तथा वित्तीय संस्थाले आफूसँग भएको अधिक तरलता व्यवस्थापनका लागि स्ट्यान्डिङ डिपोजिट फेसिलिटी (एसडिएफ)मार्फत राष्ट्र बैंकमा निक्षेप जम्मा गर्ने गर्छन् । यसबिचमा बैंकहरूले एक दिनमा २१ अर्बदेखि तीन खर्ब ७२ अर्ब रुपैयाँसम्मको एसडिएफ सुविधा लिएको राष्ट्र बैंकको तथ्यांक छ ।

राष्ट्र बैंकले ८० फागुनदेखि यस्तो सुविधा सुरु गरेको हो । बैंक तथा वित्तीय संस्थाले आफूसँग भएको सिआरआरबाहेकको पैसा राष्ट्र बैंकमा राख्न पाउँछन् । निश्चित दिनका लागि हुन्छ । यसबाट बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाउँछन् । यो ब्याजदर करिडोरको तल्लो सीमा हो । बैंकहरूले तरलता अभाव भएका वेला स्थायी तरलता सुविधा लिन्छन् । यसको ब्याजदर साढे ६ प्रतिशत हुन्छ, जुन ब्याजदर करिडोरको माथिल्लो सीमा हो ।

आइतबार मात्रै बजारबाट ३० अर्ब तरलता प्रशोचन
बजारमा तरलताको अत्यधिक चाप बढेपछि नेपाल राष्ट्र बैंकले आइतबार मात्रै बैंक तथा वित्तीय संस्थाहरूबाट ३० अर्ब रुपैयाँ प्रशोचन गरेको छ । राष्ट्र बैंकले ६३ दिनको निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको हो । यसका लागि राष्ट्र बैंकले आइतबार बोलकबोल आह्वान गरेको थियो । बैंकहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न भनिएको थियो । राष्ट्र बैंकले १५ भदौमा बैंकहरूलाई साँवा र ब्याज भुक्तानी गर्नेछ । 

अधिक तरलताले अर्थतन्त्रमा गतिरोध यथावत् छ भन्ने संकेत गर्छ 
नरबहादुर थापा अर्थविद्

बैंकहरूमा अधिक तरलता हुनुले अर्थतन्त्रमा गतिरोध यथावत् छ भन्ने संकेत गर्छ । कर्जा प्रवाह अपेक्षित हुन सकेको छैन, कर्जाको माग नै बढ्न सकेको छैन, यसले अर्थतन्त्रमा सुधार आएको छैन भन्ने देखायो । ब्याजदर माथि जाने दबाबमा जान सकेको छैन । खासमा तरलता सुविधा पनि हो, समस्या पनि हो । निरन्तर अधिक तरलता हुन थाल्यो भने केही अर्थतन्त्रमा केही न केही खराबी छ भन्नै नै हो । अहिले तरलताको सदुपयोग भएको छैन, किन भएको छैन भन्ने प्रश्न उठ्यो, यसमा सरकार र नियामक निकाय गम्भीर हुन आवश्यक छ ।