
अछाम तुर्माखाँद–३ को भैरब माविका ३० जना विद्यार्थी नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसीसी) तालिममा सहभागी भएका छन् । तालिममा १५ छात्र र १५ छात्रा गरी ३० जना सहभागी भएका हुन् ।
दुर्गम गाउँ भैरबस्थानमा ७९ दिनसम्म सञ्चालन हुने यो तालिममा नेतृत्व विकास, अनुशासन, राष्ट्रियता, ईमानदारिता तथा वफादारिता र विपदको समयमा उद्धार तथा राहात कार्यमा स्वयमसेवकको भूमिका निर्वाह गर्न सक्ने असल एंव अनुशासित नागरिक कसरी बन्ने भन्ने बारे प्रशिक्षण दिइने गोरख बक्स गण मंगलसेन व्यारेकका गणपति प्रमुख सेनानी संगम अधिकारीले बताए ।
७९ दिन विद्यालयमै तालिम लिए पश्चात उनीहरुलाई राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षलय कोहलपुरद्धारा सञ्चालन गरिने जुनियर डिभिजन ५१ औं समुहको तालिममा पठाइने उनले बताए । तालिमको प्रथम प्रवचनका लागि तुर्माखाँद गाउँपालिका–३ भैरबस्थानको लकान्द्र स्थित भैरब मावि पुगेका गणपति अधिकारीले यो तालिमले विद्यार्थीलाई अनुशासन, समाज र देशप्रति जिम्मेवार हुन सहयोग गर्ने बताए ।
नेपाली सेनाले गाउँमै पुगेर अनुशासन नै राष्ट्र सेवाको मूल जग हो भन्ने आदर्श सहित यो तालिमको आयोजना गरेको प्रति प्रशंसा गर्दै तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीले राष्ट्रिय सेवा दल तालिमले युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना, निःस्वार्थ सेवा तथा जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने बताए । उनले युवालाई एकताबद्ध बनाउँदै यो तालिमले अनुभव आदानप्रदान गरी अनुशासित, इमानदार र जिम्मेवार नागरिकका रूपमा रूपान्तरण गर्ने र त्यसले देशभक्तिको भावना जागृत गराउँने विस्वास व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक पदमबहादुर बुढाले राष्ट्रिय सेवा दलमा लागेर जीवन उपयोगी गतिविधिहरू अनुशासन, समय व्यवस्थापन, नेतृत्व गुण, लगनशीलता, शारीरिक व्यायाम अभ्यास र जीवन बाँच्ने कला सिकेर फर्किन विद्यार्थीहरुलाई आग्र गरे ।
गोरख बक्स गणका सेनानी अमृत खड्काको नेतृत्वमा ७० जना बढीलाई प्रशिक्षण दिए पश्चात उत्कृष्ट ३० जना छनौटगरी राष्ट्रिय सेवा दल तालिम दिन सुरु गरिएको हो । यो तालिमका लागि गणका जमदार मानबहादुर परियार र प्यूठ नरेन्द्र प्रकाश खनाल प्रशिक्षकका रुपमा खटिएका छन् । उनीहरुले ७९ दिनसम्म गाउँमै बसेर प्रशिक्षण दिने छन् ।
त्यसका लागी तालिममा सहभागी ३० जनालाई चुस्ता, ट्रयाकसुट, डाग्री, बुट लगायतका २२ वटा सामग्री निशुल्क वितरण गरिएको छ ।
२१ दिने अन्तिम तालिमबाट उकृष्ट बन्नेहरुलाई भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, पाकिस्तान लगायतका देशमा हुने युथ एक्सचेन्ज कार्यक्रममा सहभागि गराइने गणपति अधिकारीले बताए ।
नेपाली सेनाले यसअघि पनि १८ छात्र र १८ छात्राका दरले अछाम साँफेबगरको जनकल्याण मावि, मंगलसेनको शोडषा मावि, बिनायकको विद्या मन्दिर मावि र मंगलसेनको गंगा माविका विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालिम दिएको थियो । उनीहरु अहिले पनि सक्रिय छन् ।