१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:४९:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तिक्तताबिच ओली–भण्डारी आज एउटै मञ्चमा : सक्रिय राजनीतिमा फर्किने औपचारिक सन्देश दिने भण्डारीको तयारी 

भण्डारी राजनीतिमा सक्रिय भए एमालेको आन्तरिक मात्र होइन, राष्ट्रिय राजनीतिमै अर्थ राख्ने

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:४९:oo

मदन भण्डारी फाउन्डेसनले हरेक वर्ष एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जन्मोत्सवका अवसरमा कार्यक्रम गर्छ । यस वर्ष पनि शनिबार राष्ट्रिय सभागृहमा ‘जबजका तीन दशक’ विषयक गोष्ठी गर्दै छ । तर, एमालेको आन्तरिक जीवनमा यसपटक ‘हल्लीखल्ली’ मच्चिएको छ । कारण, यही कार्यक्रमबाट पूर्वराष्ट्रपति तथा मदनपत्नी विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किने औपचारिक सन्देश दिने तयारी गरेकी छिन् । एमाले अध्यक्ष तथा प्रधामन्त्री केपी ओली त्यसको विपक्षमा छन् ।

फाउन्डेसनले शनिबारको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रमुख अथिति र पूर्वराष्ट्रपति भण्डारीलाई विशिष्ट अथिति बनाएको छ । शीतलनिवासबाट बिदाइ भएको एक वर्षमा भण्डारीको सक्रियता, भेटघाट र देश–विदेश भ्रमणले उनको सम्भावित यात्राको जनाउ दिइसकेका छन् । यी घटनाक्रमबिच शनिबार उनी एमाले नेतृका रूपमा प्रस्तुत हुने र आगामी महाधिवेशनबाट मूल नेतृत्वका लागि दाबी प्रस्तुत गर्ने तयारी छ । यसले एमालेको आन्तरिक जीवनमा मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत महत्वपूर्ण अर्थ राख्नेछ । 

भण्डारी पार्टी नेतृत्वमा आउनुपर्ने वकालत गरिरहेका एमाले स्थायी समिति सदस्य कर्ण थापा भन्छन्–

उहाँ (पूर्वराष्ट्रपति विद्या भण्डारी)ले शनिबार मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधनको राम्रो तयारी पनि छ । स्पष्ट राजनीतिक सन्देश दिनुहुन्छ ।  

भण्डारी पार्टी नेतृत्वमा फर्किनुपर्ने वकालत गरिरहेका एमाले स्थायी समिति सदस्य कर्ण थापाले शनिबारको कार्यक्रमबाट पूर्वराष्ट्रपतिले त्यस्तो सन्देश दिने बताए । ‘उहाँ (विद्या)ले मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधनको राम्रो तयारी छ । स्पष्ट राजनीतिक सन्देश दिनुहुन्छ,’ उनले भने । 

पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली नै प्रमुख अतिथि भएको कार्यक्रममार्फत आफू सक्रिय राजनीतिमा फर्किन चाहेको सन्देश दिने तयारी गरेपछि पार्टीपंक्ति पनि त्यहीअनुसार विभाजित भएको छ । भण्डारीनिकट नेता–कार्यकर्ताले कार्यक्रमको सामाजिक सञ्जालमा धेरै प्रचार गरेका छन् । प्रधानमन्त्री ओलीनिकट नेता–कार्यकर्ताले खासै चासो दिएका छैनन् । बरु, उनीहरूले कार्यक्रम नै कमजोर बनाउन प्रयास गरिरहेको आरोप भण्डारीनिकट कार्यकर्ताको छ । 

पार्टीको आन्तरिक राजनीतिमा सधैँ सामीप्य रहेर काम गरेका ओली र भण्डारीबिच पहिलोपटक यति दूरी देखिएको एमाले नेता–कार्यकर्ता बताउँछन् । पछिल्लोपटक ३ असारमा प्रधानमन्त्रीनिवास बालुवाटारमै दुई नेताबिच छलफल भएको थियो । जुन, सौहार्दपूर्ण नभएको नेताहरू बताउँछन् । स्रोतका अनुसार भण्डारीले ओलीसँग आफ्नो राजनीतिक उद्देश्य स्पष्ट पारेकी थिइन् । 

पार्टीपंक्तिले नेतृत्वमा विकल्प खोजेको भन्दै भण्डारीले आफूलाई सहयोग गर्न ओलीलाई आग्रह गरेकी थिइन् । तर, ओलीले ‘किन सहयोग ?’ भनेर रुखो जवाफ दिएको स्रोत बताउँछ । भण्डारीले भेटपछि निकटस्थ नेताहरूलाई सुनाएअनुसार जवाफमा अध्यक्ष ओलीले आफूविरुद्ध अहिले घेराबन्दी भइरहेको भन्दै असन्तुष्टि पनि जनाएका थिए । ‘मविरुद्ध पार्टीमा घेराबन्दी भयो भन्न थाल्नुभएको छ । अहिले पार्टी अध्यक्ष रक्षात्मक अवस्थामा देखिनुहुन्छ,’ भण्डारीनिकट एक नेताले भने । 

त्यसअघि चीन भ्रमणबाट फर्केपछि भण्डारी गत जेठ तेस्रो साता पूर्वी जिल्लाहरूको भ्रमणमा गएकी थिइन् । जहाँ पार्टी सचिवालयको निर्णयविपरीत उनकै फोटो टाँसिएको ब्यानरमा एमालेको स्थानीय कमिटीले कार्यक्रम गरेको थियो । आफू पार्टी राजनीतिमा फर्किने उनको प्रस्ट संकेत थियो । प्रधानमन्त्री ओलीले लगत्तै ‘नेतृत्व लिने आकांक्षा नपाल्न’ भन्दै भण्डारीलाई सार्वजनिक कार्यक्रमबाटै चुनौती दिएका थिए । 

राष्ट्रपतिबाट बाहिरिएपछि पूर्वराष्ट्रपति भण्डारीले चीन भ्रमण गरेकी थिइन् । त्यसक्रममा उनले ११ जेठमा चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागद्वारा बेइजिङमा आयोजित कार्यक्रममा पहिलोपटक आफूलाई एमाले नेतृका रूपमा प्रस्तुत गरेकी थिइन् । चीन भमणबाट फर्केपछि उनले चरणबद्ध रूपमा एमालेका पदाधिकारीसँग भेटवार्ता र परामर्श गर्दै आएकी छिन् । भण्डारीले यसबिचमा उपाध्यक्ष ईश्वर पोखरेलबाहेक नेताहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, रघुवीर महासेठ, योगेश भट्टराई, छविलाल विश्वकर्मा, गोकर्ण विष्टलगायतसँग बेग्लाबेग्लै भेट गरिसकेकी छिन् ।

शनिबारको कार्यक्रममा निमन्त्रणा पाएका एमालेका एक केन्द्रीय सदस्यले फाउन्डेसनको मञ्चबाट भण्डारीले दिने सन्देश एमालेको जीवनमा एउटा घटनाका रूपमा स्थापित हुने बताए । ‘म सक्रिय छु भन्ने सन्देश त उहाँले दिनुभएकै छ । अब म भावी अध्यक्ष हुँ भन्ने सन्देश उहाँले प्रवाह गर्नुहुन्छ । उहाँले हिजोआज सांकेतिक र सन्देश दिने गरी कुरा राख्दै आउनुभएको छ, शनिबार त्यही गर्नुहुनेछ,’ ती केन्द्रीय सदस्यले भने । 

समारोहलाई पूर्वराष्ट्रपति भण्डारीबाहेक प्रधानमन्त्री ओली, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले फाउन्डेसनको कार्यक्रममा पार्टी अध्यक्ष ओली सहभागी हुने बताए । समारोहलाई सम्बोधन गरेर ओली शनिबार साँझ नै स्पेन भ्रमणमा जाँदै छन् । 

चिनियाँ विदेश विभाग प्रमुख लिउ जियान्चाओसँग ११ जेठमा भएको भेटवार्तामा चिनियाँ पक्षले भण्डारीलाई सबै वामपन्थी दलहरूलाई एकताबद्ध गर्न नेतृत्व लिन शुभेच्छा जनाएका थिए । भण्डारीले पनि आफूले त्यसका लागि प्रयत्न गर्ने बताएकी थिइन् । चीनबाट फर्केपछि भण्डारीले पार्टीभित्र सक्रियता बढाएकी थिइन् ।

भण्डारी दश वर्षअघि राष्ट्रपतिमा निर्वाचित हुनुअघि एमाले उपाध्यक्ष थिइन् भने राष्ट्रपति भएपछि पार्टी सदस्यता त्यागेकी थिइन् । पहिलोपटक ११ कात्तिक ०७२ मा राष्ट्रपति निर्वाचित भएपछि उनले पार्टी सदस्यता त्यागेकी थिइन् । उनी दोस्रो कार्यकालका लागि २९ फागुन ०७४ निर्वाचित भएकी थिइन् । उनी शीतलनिवासबाट २९ फागुन ०७९ मा बिदा भएकी थिइन् । गत वर्ष नै उनको पार्टी सदस्यता भने नवीकरण भइसकेको छ । फाउन्डेसनकी अध्यक्ष उषाकिरण मदन–विद्याकी ज्येष्ठ पुत्री हुन् ।

सरकारी मर्यादाक्रमअनुसार पूर्वराष्ट्रपतिको ओहदा बहालवाला उपप्रधानमन्त्रीसरह, तर वरीयतामा अगाडि हो । पूर्वराष्ट्रपतिको ओहदा छैटौँ नम्बरमा छ, उनीभन्दा माथि प्रतिनिधिसभाका सभामुख/राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपति छन् । ‘सरकारी ओहदाअनुसार प्रधानमन्त्री नै वरिष्ठ हो, उहाँ विशिष्ट अतिथि हुनु स्वाभाविकै हो,’ एमालेका एक नेताले भने, ‘पार्टी अध्यक्षका रूपमा पनि भण्डारीले ओलीलाई स्वीकार गर्नुभएकै छ ।’

शनिबार आयोजित कार्यक्रममा एमालेले वर्षभरि जननेता मदनकुमार भण्डारीको जन्मजयन्ती मनाउने र यसको समन्वयका लागि वरिष्ठ उपाध्यक्ष पोखरेललाई जिम्मा दिने घोषणा पनि हुनेछ । एक नेताका अनुसार मदन भण्डारीको हीरक जन्जयन्ती मनाउने तयारी पनि राजनीतिक उद्देश्यका लागि हो । ‘वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा यसका लागि अभियान सञ्चालन गर्ने घोषणाले एमालेभित्र नयाँ समीकरणको सन्देश पनि प्रवाह हुनेछ,’ एमालेका अर्का नेताले भने । 

एमालेमा उमेरहद राख्ने–नराख्ने विवाद छ । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीभित्र ७० वर्षका उमेरहद हुनुपर्ने धारणा राख्दै आएका छन् । एमाले अध्यक्ष ओली, महासचि शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेता भने उमेरहद राख्न नहुने पक्षमा छन् । ‘७० वर्षको उमेरहद राखे पनि नराखे पनि अब पार्टीमा अध्यक्षका लागि बलियो दाबेदारका रूपमा विद्या भण्डारी आइसक्नुभयो, शनिबार सबैले बुझ्ने गरी उहाँले सन्देश दिनुहुनेछ,’ एमाले एक नेताले भने । 

एमालेले ७० वर्षे उमेरहद विवाद २०–२२ भदौका लागि तोकिएको विधान महाधिवेशनबाट टुंग्याउने तय गरेको छ । एमालेमा अध्यक्ष केपी ओलीनिकट मानिएकाबाहेक अन्य नेताहरू उमेरहद ७० वर्ष तथा दुई कार्यकालको सीमा तोक्नुपर्ने पक्षमा उभिएका छन् । पूर्वराष्ट्रपति भण्डारीको सक्रियतासँगै उमेरहद र दुई कार्यकाल लागू गर्नुपर्ने आवाज उठ्न थालेको छ । 

एमालेले विधान महाधिवेशनको तयारी थालेको छ । विधान महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमाथि छलफल गर्न एमालेले २ साउनमा पोलिटब्युरो र ५ साउनमा केन्द्रीय समिति बैठक बोलाएको छ । विधान महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजबारे दुई बैठकमा छलफल हुनेछ ।

बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन र महासचिव पोखरेलले सांगठनिक प्रस्ताव केन्द्रीय समितिमा पेस गर्नेछन् । त्यहाँ पारित प्रस्ताव विधान महाधिवेशनमा पेस हुनेछ । भण्डारीले पार्टीभित्र दबाब बढाउँदै लगेर ओलीको प्रस्तावमा नेतृत्व लिने रणनीतिमा काम गरिरहेकी छिन् । ‘ओलीले नै पार्टी नेतृत्वमा प्रस्ताव गर्नुहोस् भन्नेमा भण्डारी हुनुहुन्छ, अहिले जे भइरहेको छ, त्यसको दबाबका लागि हो भनेर बुझ्नुपर्छ,’ भण्डारीनिकट नेताहरूको भनाइ छ, ‘यद्यपि पार्टीभित्र उहाँको सक्रियता नचाहने पंक्ति पनि छ ।’ 

शनिबारको कार्यक्रममा के–के हुँदै छ ?
मदन भण्डारी फाउन्डेसनले शनिबार गर्ने समारोहलाई प्रधानमन्त्री केपी ओली, पूर्वराष्ट्रपति विद्या भण्डारीबाहेक एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने कार्यक्रम छ । ओली सुरुमै सम्बोधन गरेर निस्किने तयारी रहेको भण्डारीनिकट एक नेताले बताए । उनी शनिबार साँझ नै स्पेन भ्रमणमा जाँदै छन् । कार्यक्रमबाट  एमालेले वर्षभरि जननेता मदन भण्डारीको जन्मजयन्ती मनाउने र यसको समन्वयका लागि वरिष्ठ उपाध्यक्ष पोखरेललाई जिम्मा दिने घोषणा पनि गर्ने तयारी छ । यसबाट ओलीनिकट नेताहरू थप झस्किएका छन् । ‘मदनको हीरक जन्मजयन्ती मनाउने तयारी पनि राजनीतिक उद्देश्यका लागि हो । वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा यसका लागि अभियान सञ्चालन गर्ने घोषणाले एमालेभित्र नयाँ समीकरणको सन्देश पनि प्रवाह हुनेछ,’ एमालेका एक नेताले भने ।