१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
२o८२ असार १३ शुक्रबार १o:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच महिनादेखि बन्द रहेको सहरी स्वास्थ्य केन्द्र पुन: सञ्चालनमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार १o:३५:oo

जिल्लाको बागलुङ नगरपालिका– १३, पैयुँपाटा जलजला डाँडाथरमा रहेको पैयुँपाटा सहरी स्वास्थ्य केन्द्र पाँच महिनादेखि बन्द अवस्थामा रहेको थियो । गत माघ ३ गतेदेखि बन्द अवस्थामा रहेको स्वास्थ्य केन्द्र बिहीबारदेखि पुन: सञ्चालनमा आएको छ । स्वास्थ्य संस्थामा नियमित काम गर्दै आएका करारका स्वास्थ्यकर्मी जागिर छाडेर विदेश गएपश्चात् जनशक्ति अभावका कारण स्वास्थ्य संस्था बन्द अवस्थामा रहेको थियो । 

बन्द अवस्थामा रहेको स्वास्थ्य संस्था सञ्चालनका लागि बुधबार स्थानीय नागरिक र सेवाग्राहीहरू बागलुङ नगरपालिका कार्यालयमा डेलिकेसनका लागि गएका थिए।  उनीहरूले स्वास्थ्य संस्था तत्काल सञ्चालनमा ल्याएर सेवा प्रदान गर्न माग गरेका थिए। जनताको गुनासोपश्चात् बिहीबार बागलुङ नगर अस्पतालका मेडिकल अधिकृत सन्तोष आचार्य र हेल्थ असिस्टेन्ट राधा पौडेल उक्त स्वास्थ्य संस्था पुगेर सेवा नियमित गरेका छन्। लामो समयदेखि बन्द अवस्थामा रहेको स्वास्थ्य संस्था सञ्चालनका लागि बारम्बार नगरपालिका र वडा कार्यालयमा जानकारी गराए पनि सञ्चालनमा आउन नसकेपछि बुधबार स्थानीय ४१ जनाको टोली नगरपालिका पुगेर तत्काल सेवा नियमितका लागि अनुरोध गरेको स्थानीय प्रकाश सुवेदी रखालले बताए । 

‘गत माघदेखि नै स्वास्थ्य संस्था बन्द छ, स्वास्थ्यजस्तो क्षेत्रमा सरोकारवाला अलि संवेदनशील बन्न सकेनन्,’ रखालले भने, ‘बन्द भएको स्वास्थ्य केन्द्र सञ्चालनका निम्ति सबै नागरिक उठेर नगरपालिका नै जानुपर्ने बाध्यता आयो । नगरप्रमुख बाहिर रहेका कारण भेट्न सकेनौँ, उपप्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजकलाई भेटेर हाम्रा कुरा राख्यौँ, जसरी पनि एकजना स्वास्थ्यकर्मी पठाएर तत्काल सेवा नियमित गर्नका निम्ति आग्रह गर्‍यौँ। बिहीबारदेखि सेवा नियमित भएको छ।’

उनले अबको दिनमा पनि पुनः कर्मचारीकै कारण देखाएर स्वास्थ्य संस्था बन्द नगर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । लामो समयदेखि स्वास्थ्य संस्था खोलिँदा यहाँ रहेका केही औषधिहरूको म्याद सकिएको हुँदा नगरपालिकाले तत्कालै औषधिको व्यवस्थापन गर्न जरुरी रहेको रखाल बताउँछन् ।नियमित काम गर्दै आएको स्वास्थ्यकर्मी विदेश गएपश्चात् जनशक्तिको अभावका कारण स्वास्थ्य संस्था बन्द रहेकाे वडाध्यक्ष नारायण शर्मा पौडेल बताउँछन् । पौडेलका अनुसार नगरपालिकाको स्वास्थ्य शाखामा जानकारी गराए तापनि नयाँ जनशक्ति भर्ना गर्न ढिलो गरेका कारण स्वास्थ्य केन्द्र बन्द अवस्थामा रहेको थियो । 

नियमित सञ्चालनका निम्ति नगरपालिकाले करारमा जनशक्ति भर्ना गर्न विज्ञापन गरेको र विज्ञापनबाट छनाेट भएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य केन्द्रमा खटाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए।नगरपालिकामा केही स्वास्थ्यकर्मी अध्ययन बिदामा रहेका कारण अन्य स्वास्थ्य संस्थाबाट कामकाजका लागि पठाउने अवस्था नरहेको र नयाँ कर्मचारी भर्नाको प्रक्रियामा रहेका कारण केही दिनमा नै स्वास्थ्य संस्थामा कर्मचारी पठाएर नियमित सेवा सञ्चालन गर्ने खनालले जानकारी दिए । 

०७० सालमा तत्कालीन अवस्थामा पैयुँपाटा सामुदायिक स्वास्थ्य इकाइको रूपमा स्थापना भएको स्वास्थ्य संस्था हाल सहरी स्वास्थ्य केन्द्रको रूपमा रहेको छ । यस स्वास्थ्य संस्थामा दैनिक १५ देखि २० जना सेवाग्राही आउने गरेको स्थानीय बताउँछन्। पैयुँपाटाको साबिकको वडा नं. ४ र ५ अमलाचौरको साबिकको  ३ नं. वडाका नागरिक यहाँ सेवा लिन आउने गरेका छन् । नियमित सेवा सञ्चालन नहुँदा यस क्षेत्रका नागरिक सामान्य टाउको दुखेमा पनि पैदल यात्रामा बागलुङ नगर अस्पताल पुग्नुपर्ने बाध्यता रहेको छ।