
सुदूरपश्चिममा नेपाल उद्योग परिसंघको समिति गठन भएको छ। रमणचन्द्र श्रेष्ठको अध्यक्षतामा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक ११ सदस्यीय समिति गठन गरिएको हो।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा तेजशंकर भट्ट, उपाध्यक्षमा सुनील श्रेष्ठ, महिला उपाध्यक्षमा सुनिता सुरी र कोषाध्यक्षमा लालबहादुर शाही छन्। त्यस्तै, सदस्यहरूमा हिरा भण्डारी, हेमन्त पौडेल, जगदीशचन्द्र भट्ट, दीप रावत, कलेन्द्रबहादुर शाही र डिल्लीराज जोशी रहेका छन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाललगायत परिसंघका पदाधिकारीको उपस्थितिमा प्रदेश समितिका पदाधिकारी र सदस्यको पदभार तथा प्रदेश कार्यालय उद्घाटन कार्यक्रम शुक्रबार धनगढीमा भएको छ।
कार्यक्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा लगानीमैत्री वातावरण निर्माणमा सरकार लागिपरेको बताए। उनले लगानीमैत्री वातावरण बनाउन आवश्यक प्रक्रिया तथा छलफल अगाडि बढाइएको बताए। मुख्यमन्त्री शाहले भने, ‘सुदूरपश्चिम प्रदेशमा थुप्रै सम्भावना रहेका छन्। तिनको खोजअनुसन्धान, विकास र नवप्रवर्तनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार छ।’
परिसंघका अध्यक्ष अग्रवालले सुदूरपश्चिममा गठन भएको समितिलाई यस क्षेत्रका व्यवसायीको हकहित तथा व्यवसायको प्रवर्द्धनलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे। उनले घरेलु तथा औद्योगिक उत्पादन वृद्धि, स्वदेशी उत्पादनको प्रवर्द्धन, बजारीकरण, कामदारको सिप विकासमा परिसंघले सहयोग गर्दै आएको बताए।
परिसंघले युवा उद्यमी मञ्च गठनमार्फत युवा उद्यमीलाई प्रोत्साहन गर्नुका साथै महिला उद्यमीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्दै आएको उनले जानकारी दिए। अध्यक्ष अग्रवालले विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा सुधार देखिए पनि देशको अर्थतन्त्रमा अहिले पनि संकटमा रहेको उल्लेख गर्दै अर्थतन्त्र सुधारमा लाग्न राजनीतिकर्मीलाई आग्रह गरे।
‘अर्थतन्त्र सुधारमा ध्यान नदिने हो भने निजी क्षेत्र संकटमा पर्छ,’ उनले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहन नगरेसम्म देश अगाडि बढ्न सक्दैन, त्यसैले निजी क्षेत्रलाई प्रोत्साहन हुने नीति सरकारले लिनुपर्छ।’ उद्योगमैत्री नीति र लगानीको वातावरण बनाउन अध्यक्ष अग्रवालले सरकारलाई आग्रह गरे।