
फिल्मी शैलीको आलम–अत्याचार खेपेका तत्कालीन जिविस सदस्य जयप्रकाश कौशल भन्छन्– म जुनवेला अब्दुल कलाम आजादको चुनाव प्रतिनिधि बनेर रौतहट– २ मा खटिएको थिएँ, त्यही वेलादेखि म अफताबको तारो बनेको थिएँ । उनी मलाई कुनै हालतमा सिध्याउन चाहन्थे । ममाथि आफ्ना कार्यकर्ता हत्याको आरोप लगाए । उनको घरमा माओवादीले आगजनी गर्यो, तर माओवादीले जिम्मा लिइसकेको घटनामा पनि मलाई फसाउन खोजे । जबकि, त्यो घटनामा मेरो कुनै संलग्नता थिएन । जिविस कार्यालयबाटै मलाई अफताब आलमका भाइ महताबसहितका हतियारधारीहरूले सरकारी गाडीमै अपहरण गरेर लगे । उनीहरूले मलाई आलमका काका जर्नेल भनिने शेख जाहिरको घरमा पुर्याए । त्यहाँ मेरा दुवै हात सिलिङतर्फ फर्काएर फरक–फरक दिशामा बाँधिदिए । मुखमा बाल्टीबाटै पानी छ्यापे, शरीरमा बाँसको भाटा बर्साए । पीडा खप्न नसकेर म चिच्याउन थालेँ । तर, उनीहरू रोकिएनन् । यही क्रममा महताब मेरोनजिक आएर आगजनी गरेको स्वीकार गर् भन्थ्यो । मैले नमानेपछि फेरि यातना दिन्थे । म अर्धचेत भएपछि दुइटा कपाली तमसुक र खाली कागजमा हस्ताक्षर गर्न लगाए ।
१७ चैत ०५६, बिहान ११ बजे । तत्कालीन जिल्ला विकास समिति (जिविस) रौतहटका सभापति रामचन्द्र राउत कुर्मी सदरमुकाम गौरस्थित कार्यालयमै थिए । उनीसँगै थिए, जिविस सदस्य जयप्रकाश कौशल । अकस्मात् ना.अ झ ४४१ नम्बरको सरकारी गाडी कार्यालयअगाडि रोकियो । गाडीबाट तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री अफताब आलमका भाइ महताब आलम सानका साथ कार्यालयपरिसरमा उत्रिए ।
गाडीभित्र नारद सिंह, रामकिशोर राय यादव, रामचन्द्र गिरी, शेख मोजमिल, शेख जमिल अख्तर, शेख सोयबलगायतका युवा पनि थिए । उनीहरू महताबसँगै गाडीबाट झरे । गाडीमा राखिएको कटुवा पेस्तोल र बन्दुक हातमा बोकेर सरासर जिविस सभापति कुर्मीको कार्यकक्षतर्फ लागे ।
सभापति कुर्मी आफ्नै कुर्सीमा थिए, सदस्य कौशल सोफामा । हातहातमा हतियार बोकेको दलबल ढोकाबाट छिरेपछि अवाक् बनेका कुर्मी कुर्सीबाट जुरुक्क उठे । सोफामै थिए, कौशल । महताब सरासर कौशलतर्फ लम्किए । उनको पाखुरा अठ्याउँदै आफूतिर ताने । कौशलले सोफामै रहन बल लगाए । महताबले सँगै रहेका आफ्ना युवालाई कौशललाई उठाउन निर्देशन दिए । निर्देशन भुइँमा खस्न नपाउँदै युवाहरू अघि बढे । कौशललाई घुच्चुकमा समातेर लछार्दै कार्यालयबाट बाहिर निकाले । कौशल घरी भुइँमा ज्यान छाड्थे, घरी भर्याङमा तेर्सिन्थे । तर, युवा बलको सामु उनको केही जोड चलेन ।
महताब नेतृत्वको टोलीले कौशललाई कार्यालयपरिसरमा रोकिराखेको आफ्नै गाडीमा जबर्जस्ती हाले । दायाँ–बायाँ हतियारसहितका युवा पनि बसे । ड्राइभरसँगैको सिटमा बसे महताब । हुइँक्याएको गाडी रौतहट राजपुर फरहदवास्थित शेख जर्नेल भनिने शेख जाहिरको घरमा रोकियो । कौशललाई गाडीबाट घिसार्दै निकाले ।
२६ वर्षअघिको घटना सम्झिँदै कौशलले भने, ‘म सभापति कुर्मीको कार्यकक्षमा थिएँ । महताब नेतृत्वको हतियारसहितको टोली कार्यालयमा प्रवेश गर्यो । मलाई घिसार्दै कार्यालयबाट बाहिर निकाल्यो । बाहिर गाडी रहेछ । सोही गाडीमा राखे । गाडी राजपुरतर्फ हुइँकियो । गाडीभित्र कुट्न थालिसकेका थिए । जर्नेलको घर पुर्याउँदासम्म म घायल भइसकेको थिएँ ।’
जर्नेलको घरपरिसरमा पुर्याएपछि कौशलको दुवै हात समातेर लात हान्दै घरभित्र छिराए । ठुलो कोठाको बिचमा ठिंग उभ्याए । दायाँ र बायाँ दुवै हातमा जुटको डोरी बाँधेर कोठाको सिलिङमा लगेर जोडले कसे । त्यसपछि महताब कौशलतर्फ अघि बढे । एक हातले च्यापु अँठ्याउँदै निर्देशन दिए, ‘मेरो घरमा आगो लगाउने र लुटपाट गर्ने तैँ होइनस्?’
एक दिनअघि अर्थात् १५ चैत ०५६ को मध्यरात १२:३० बजेतिर तत्कालीन भूमिगत माओवादीका एक सयभन्दा धेरै लडाकु तत्कालीन वन राज्यमन्त्री अफताबको घरमा छिरेका थिए । उनीहरूले घरमा पेट्रोल र मट्टीतेल छर्किएर आगो लगाएका थिए । त्यसक्रममा अफताबको घरबाट सिक्सर पेस्तोल, दुईवटा कटुवा पेस्तोल, १२३ राउन्ड बाह्र बोर कार्तुस, ३५ तोला सुन, आधा किलो चाँदी र नगदसहित ४१ लाख ६५ हजार ८०० रुपैयाँ मूल्यबराबरको धनमाल लुटेर लगेका थिए । माओवादीले लगत्तै विज्ञप्ति नै निकालेर घटना स्वीकार गरेको थियो । तर, अफताबले उक्त घटनालाई आफ्ना विरोधी तह लगाउने हतियार बनाए । त्यसैअन्तर्गत कौशललाई दिनदहाडै प्रहरीको सामुन्नेबाट अपहरण गरी आफ्नै काका जर्नेलको घरमा ल्याउन लगाएका थिए ।
सिलिङमा हात बाध्दा पनि कौशल घटना स्वीकार गर्न मानिरहेका थिएनन् । अब महताब नेतृत्वको टोलीले कौशलको अनुहारमा बाल्टिनबाटै पानी छ्याप्दै बाँसको भाटाले ढाड, तिघ्रा र हातमा प्रहार गर्न थाले । पीडा खप्न नसकेर कौशल जोडले चिच्याए । तर, निर्दयी महताबको प्रहार रोकिएन । उनले युवाहरूलाई अझ तेज प्रहार गर्न भने । कुटाइले शिथिल बनिसकेका कौशलको टाउको आफ्नै कुममा लत्रिन पुग्यो । महताब फेरि कौशलको अगाडि पुगेर एक हातले च्यापु समात्दै चर्को स्वरमा बोले, ‘घटना स्वीकार गर्छस् कि तँलाई यहीँ सिध्याइदिऊँ ?’ तर, नगरेको काम स्विकार्न उनी तयार भएनन् । फेरि कौशलको अनुहारमा पानी छ्याप्न र भाटा प्रहार सुरु भयो । चोटले कौशल अर्धचेत बने । सोही मौकामा महताबले सँगै रहेका वकिललाई घटना सकारेको कपाली तमसुक तयार गर्न लगाए । निर्देशनअनुसार दुईवटा तमसुक तयार भयो । अर्धचेत कौशलको हात पालैपालो खोलियो । तमसुकमा औँठाछाप लगाए । त्यसबाहेक अन्य तीनवटा सादा कागजमा पनि कौशलको औँठाछाप लगाए । काम सकिएपछि उनलाई पुन: पूर्ववत अवस्थामै बाँधियो ।
कौशलले भने, ‘जर्नेलको घरभित्र पुर्याएपछि मेरो दुवै हात सिलिङतर्फ फर्काएर फरक–फरक दिशामा बाँधिदिए । मुखमा बाल्टीबाटै पानी छ्यापे, शरीरमा बाँसको भाटा बर्साए । पीडा खप्न नसकेर म चिच्याउन थालेँ । तर, उनीहरू रोकिएनन् । यही क्रममा महताब मेरो नजिक आएर आगजनी गरेको स्वीकार गर् भन्थ्यो । मैले नमानेपछि पुन: यातना दोहोर्याउँथे । म अर्धचेत भएपछि दुइटा कपाली तमसुक र खाली कागजमा हस्ताक्षर गर्न लगाए ।’
कार्यालयपरिसरबाटै हतियारसहितको समूहले कौशललाई अपहरण गरेपछि तत्कालीन जिविस सभापति कुर्मी उजुरी लिएर गौरस्थित जिल्ला प्रहरी कार्यालय पुगे । कार्यालयमै थिए, जिप्रका रौतहटका तत्कालीन एसपी मदनबहादुर खड्का । उनलाई घटनाको बेलिबिस्तार लगाए । एसपी खड्काले कुर्मीका अगाडि केही सक्रिय भएझैँ गरे । हातमा रहेको सेटबाटै अपहरित कौशलको खोजी गर्न निर्देशन दिए । सभापति कुर्मीले अपहरणमा संलग्न महताबसहित युवाको नाम पनि एसपी खड्कालाई बताए । तर, उनले महताबलाई पक्राउ गर्न त्यति जागरुकता देखाएनन् । कौशल अपहरणको खबरले गौर मात्र होइन, सिंहदरबारसमेत तरंगित भइसकेको थियो । काठमाडौंका एफएम रेडियोमा कौशल अपहरणमा परेको खबर घन्किन थालिसकेको थियो । त्यसैले उनको खोजीका लागि प्रहरी संगठनमा मात्रै होइन, गृह मन्त्रालयसम्मै दबाब बढ्न थाल्यो ।
प्रहरी मुख्यालय र गृह मन्त्रालयबाट जिप्रका गौरमा तारन्तार फोन जान थाल्यो । तर, एसपी खड्काले आलटाल गरिरहे । किनभने अपहरणमा बहालवाला राज्यमन्त्री अफताब नै संलग्न रहेको सूचना उनले घटना भएलगत्तै थाहा पाइसकेका थिए । उनले सोचेका थिए– आवेग मत्थर भएपछि कौशललाई अफताबका मान्छेले सहजै मुक्त गर्नेछन् । यद्यपि, उनले दक्षिणतर्फको नेपाल–भारत सीमातर्फका नाकामा भने प्रहरी चेकजाँचलाई तेज बनाएका थिए । ताकि कौशललाई अपहरणकारीले सीमा कटाउन नसकून् ।
एसपी खड्काले अनुमान गरेजस्तो कौशल अपहरणमुक्त भएनन् । बिहान ११ बजे अपहरणमा परेका उनी साँझ ७:०० बजेसम्म पनि मुक्त भएनन् । गृह र प्रहरी मुख्यालयको दबाब अब धेरै समय झेल्न सक्ने अवस्था थिएन । उनले तुरुन्तै जिप्रकामा कार्यरत असई प्रेमबहादुर राउतसहितको टोली राजपुरतर्फ पठाए । खबर तुरुन्तै राजपुरस्थित अफताबको घरमा पुग्यो । त्यसपछि साँझ ७:३० बजेतिर कौशलको बन्धन फुकाएर घरबाहिर निकाले । कौशललाई शेख जर्नेल र महताबले नै घरबाहिर निकालिरहेका वेला असइ राउत घरको आँगनमा पुगे । अपहरित कौशलको प्रहरीले उद्धार गर्यो, सँगै रहेका जर्नेल र महताबले कुनै प्रतिक्रिया दिएनन् ।
यसरी साढे आठ घण्टापछि कौशल अपहरणमुक्त भए । कौशललाई प्रहरीले गाडीमा राखेर गौर पुर्यायो । अस्पतालमा घाउ चेकजाँच भयो । त्यसपछि उनले किटानी जाहेरीसहित घटनामा संलग्नविरुद्ध जाहेरी दिए । तर, प्रहरीले जाहेरी दर्ता गर्न मानेन । पछि कौशलले हुलाकमार्फत जोहरी दर्ता गराए । यद्यपि, प्रहरीले घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेन ।
कौशलले घटना सम्झिए, ‘अपहरण परेको साढे आठ घण्टापछि साँझ मुक्त भएँ । प्रहरीकै गाडीमा गौर पुगेपछि शरीरको घाउचोट चेकजाँच भयो । मैले घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिन खोजेँ । तर, प्रहरीले जाहेरी दर्ता गरेन । पछि हुलाकबाट जाहेरी दर्ता भयो ।’
सरकारी गाडीको दुरुपयोग गरी राज्यमन्त्री अफताबकै संलग्नतामा भएको अपहरणमा प्रहरीले कुनै एक्सन नलिएपछि चौतर्फी विरोध सुरु भएको थियो । तत्कालीन संसद्मा एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा थियो । कौशल एमालेकै टिकटबाट जिविस सदस्य भएका थिए । त्यसो हुँदा एमाले राज्यमन्त्री अफताबको राजीनामा र घटनाको छानबिनका लागि आयोग गठन गर्नुपर्ने माग गर्दै सदन अवरुद्धमा उत्रियो । तर, सत्तारूढ कांग्रेस टसकोमस भएन । बरु, कांग्रेसका सांसद राज्यमन्त्री अफताबको बचाउमा उत्रिए । उनीहरूले संसद्मा भने, ‘कौशल अपहरणमा अफताब निर्दोष छन् । छानबिनका लागि आयोग गठन र अफताबको राजनीनामा आवश्यक छैन । बरु, अफताबको घर आगजनी भएकाले उनी पीडित हुन्, कौशल होइनन् । अफताबको घरमा भएको आगजनीका सम्बन्धमा छानबिन गर्न आयोग गठन गर्नुपर्छ ।’
सत्तापक्ष र प्रतिपक्षको नोकझोकले संसद् अवरुद्ध बन्यो । अन्तत: अफताबको घरमा भएको आगजनी र कौशल अपहरण दुवै घटना छानबिनका लागि आयोग गठन गर्ने सहमतिमा सरकार र प्रतिपक्ष सहमत भए । तत्कालीन पुनरावेदन अदालत जनकपुरका न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीनसदस्यीय छानबिन आयोग गठन भयो । जसमा सदस्य रहेका थिए, अधिवक्ता शेरबहादुर केसी र अग्नि खरेल । करिब डेढ महिनाको छानबिनपछि आयोगले प्रतिवेदन सरकारलाई बुझायो । कौशलको अपहरण र कुटपिटमा अफताब स्वयं र निकटस्थ व्यक्तिहरूको संलग्नता देखिएको प्रतिवेदनमा स्पष्ट किटान थियो । प्रतिवेदनमा भनिएको छ, ‘छानबिन आयोगले मुद्दा फैसला गर्ने तवरबाट निष्कर्ष निकाल्न र ठहर गर्न नमिले पनि आयोगबाट हालसम्म संकलन गरिएका प्रमाण, कागजात र छानबिन तथा जाँचबुझबाट अपहरण तथा कुटपिटको घटना वारदातमा माननीय राज्यमन्त्री मोहम्मद अफताब आलमको आफ्नै र निकटस्थ व्यक्तिहरूको संलग्नता रहेको दृश्य पर्दामा आएको छ ।’
कौशल अपहरणको सम्बन्ध जोडिएको ०५६ को निर्वाचन
०५६ को आमनिर्वाचनमा रौतहट २ का उम्मेदवार थिए अफताब आलम । उनका चुनावी प्रतिस्पर्धी थिए, एमालेका अब्दुल कलाम ‘आजाद’ । राजपुर क्षेत्र मुस्लिम समुदायको बाहुल्य भएकाले सोही समुदायका अफताब र अब्दुलबिच निकट प्रतिस्पर्धा थियो । जुन अफताबका निम्ति मुटुको खिल समान थियो । सोही चुनावमा अब्दुलका प्रतिनिधि थिए, जयप्रकाश कौशल । अफताबका लागि चुनाव जित्न बुथ कब्जा एक मात्र हतियार थियो । जसको खिलापमा थिए, कौशल । उनको बुताले भ्याएजतिको ठाउँमा बुथ कब्जा रोक्ने प्रयास गरे । तर, सकेनन् । अन्तत: चुनाव अफताबले नै जिते र वन राज्यमन्त्री बने ।
०५४ को स्थानीय निर्वाचन जितेका कौशल जिविस सदस्य थिए । सरकारले रौतहटको विकासका निम्ति प्रत्येक वर्ष ठुलो परिमाणमा बजेट विनियोजन गथ्र्यो । तर, अफताबकै निर्देशनमा दुरुपयोग हुन्थ्यो । केन्द्र तथा मन्त्रालयस्तरकै विकास योजनामा अनियमितता भएपछि जिविसले कौशलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले रौतहटका प्रत्येक विकास योजनाको छानबिन गर्यो र अनियमितता पुष्टि गर्दै प्रतिवेदन ११ चैत ०५६ मा जिविसमा पेस गर्यो । जुन आफताबलाई निको लागेको थिएन ।
अफताब कौशलप्रति पहिलेबाटै क्रुद्ध थिए । विकास योजनामा अनियमितता औँल्याउँदै पेस भएको प्रतिवेदनले उनको आवेगलाई अझ बढाइदियो । उनी कौशललाई कुनै हालतमा सिध्याउन चाहन्थे । जसका निम्ति उनले कौशलविरुद्ध आफ्ना कार्यकर्ता शम्भु पटेलको हत्या अभियोगसमेत लगाए । तर, सफल भइरहेका थिएनन् । अफताबका प्रियपात्र पटेलको ९ माघ ०५६ मा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । यसै क्रममा १५ चैत ०५६ मा तत्कालीन माओवादीले उनको घरमा गरेको आगजनी र लुटपाट अफताबका लागि विरोधी तह लगाउने हतियार बन्यो । उनले अब्दुल र कौशललगायत सबै विरोधीलाई प्रतिवादी बनाउँदै प्रहरीमा जाहेरी दिए । अब उनलाई आवश्यक थियो प्रमाणको । कौशल अपहरणको प्रयोजन त्यसैका निम्ति थियो ।
कौशलले भने, ‘रौतहटमा केन्द्र तथा मन्त्रालयस्तरकै विकास योजनामा व्यापक अनियमितता थियो । जिविसले मेरै संयोजकत्वमा छानबिन समिति गठन गर्यो । हामीले प्रत्येक योजनाको मिहिन ढंगले अध्ययन गर्याैं । नभन्दै अनियमितता भएको देखियो । अध्ययन प्रतिवेदन जिविसमा बुझायौँ । जुन अफताबका लागि राम्रो थिएन । त्यही रिसइबी साध्न मेरो अपहरण गरेका थिए ।’
अफताबले निजी गाडी प्रयोग गर्दा फसिने डरले कौशलको अपहरणमा सरकारी गाडी प्रयोग गरेका थिए । सरकारी गाडीका लागि पर्सास्थित जिल्ला वन कार्यालयका प्रमुख, मोहनप्रसाद ढुंगेललाई भनेका थिए । राज्यमन्त्रीको आग्रहलाई टार्न नसकेपछि ढुंगेलले कार्यालयपरिसरमा रहेको ना.अ झ ४४१ नम्बरको गाडी चालक अम्बिकाप्रसाद कुर्मीकै साथ लगाएर राजपुर पठाइदिएका थिए । सोही गाडीमा गएका महताबसहितका हतियारधारी समूहले कौशललाई जिविस कार्यालयबाटै अपहरण गरेर राजपुरस्थित शेख जर्नेलको घर पुर्याएका थिए ।
जे छ, रिपोर्ट स्पष्ट छ : अग्नि खरेल, सदस्य, उच्चस्तरीय छानबिन आयोग
रौतहटमा जयप्रकाश कौशल अपहरणमा परे । त्यसको विरोधमा संसद् नै अवरुद्ध भयो । पछि सरकारले तत्कालीन पुनरावेदन अदालतका न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा आयोग गठन गर्यो । त्यसमा म र शेरबहादुर केसी सदस्य थियौँ । हामीले घटनाको निष्पक्ष छानबिन गर्यौँ । प्रतिवेदन बुझायौँ । घटनाको सन्दर्भमा प्रतिवेदनमै क्लियर कट भनिएको छ । त्यसबाहेक अहिले केही नबोलौँ ।