
विभागीय सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँगै आयोजक गण्डकी प्रदेश र कोशी प्रदेशले पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।
गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन, बुल्समेन क्लबको सहप्रायोजन र कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक सहयोगमा बिहीबारदेखि सुरु प्रतियोगितामा शुक्रबार लिग चरणका खेलहरू सकिएका छन्। समूह ‘ए’बाट एपिएफ र समूह ‘बी’बाट आर्मी समूह विजेतासँगै दुवै समूहका उपविजेता क्रमशः गण्डकी र कोशीले अन्तिम चारमा स्थान बनाएका हुन्।
फाइनल प्रवेशका लागि शनिबार हुने खेलमा एपिएफ र कोशी तथा आर्मी र गण्डकी भिड्ने आयोजक संघका अध्यक्ष केशव पाठकले जानकारी दिए।
शुक्रबार सम्पन्न लिग चरणका खेलहरूमा समूह ‘ए’तर्फ गण्डकीले मधेश प्रदेशलाई १६–२ र बागमती प्रदेशलाई १०–३, एपिएफले मधेशलाई २२–४ गोल अन्तरले पराजित गरे। यसैगरी, समूह ‘बी’तर्फ कोशीले कर्णाली प्रदेशलाई ३१–९ र लुम्बिनी प्रदेशलाई १०–२ गोलले पराजित गर्दा आर्मीले कर्णालीलाई २२–४ ले पाखा लगायो।
६ प्रदेश र दुई विभागीय टोलीसहित आठ टोली सहभागी प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार, तेस्रोले ३० हजार र चौथो हुनेले २० हजार नगदसँगै सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक संघका उपाध्यक्षसमेत रहेका प्रतियोगिताका संयोजक गिरमान गुरुङले जानकारी दिए।