१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:३१:oo
Read Time : > 1 मिनेट
अर्थ

गभर्नर पौडेलको सम्पत्ति विवरण: १४ करोडको सेयर, एक करोडको सुनचाँदी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:३१:oo

नेपाल राष्ट्र बैंकले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। गभर्नर पौडेलले यही असार ५ गते राष्ट्र बैंकमा पेस गरेको सम्पत्ति विवरणअनुसार विभिन्न सातवटा कम्पनीमा सेयर लगानी तथा ललितपुर र नवलपरासीमा घरजग्गा रहेको छ। उनको नाममा करिब २२ करोड रुपैयाँबराबरको सम्पत्ति देखिएको छ। 
प्रतिभा शर्माको नाममा ललितपुरको सैंबुस्थित कित्ता नम्बर ६४३ को पाँच आना दुई दाम जग्गा र त्यसमा बनेको दुई हजार ७९५ वर्गफिटको घरलाई गभर्नर पौडेलको सम्पत्ति विवरणमा देखाइएको छ। यो जग्गा पैतृक सम्पत्ति तथा स्वआर्जन रकमबाट रु. एक करोड ५५ लाखमा खरिद गरिएको विवरणमा उल्लेख छ। 

त्यस्तै, शर्माकै नाममा नवलपरासी गैँडाकोटमा कित्ता नम्बर ४१७४ को जग्गा र त्यसमा बनेको घरलाई पनि सम्पत्तिका रूपमा देखाइएको छ। यो जग्गा पैतृक सम्पत्ति तथा स्वआर्जनबाट रु. ६० लाखमा किनेको उल्लेख छ।

पैतृक सम्पत्तिका रूपमा करिब ४५ तोला सुन र स्वआर्जनबाट किनेको रु. १५ लाखबराबरको हिराका गहनालाई पनि गभर्नर पौडेलको सम्पत्तिका रूपमा देखाइएको छ। ४५ तोला सुनको हालको बजार मूल्यअनुसार करिब ८५ लाख रुपैयाँ पर्दछ। जस आधारमा उनीसँग सुनचाँदी मात्र एक करोडबराबरको छ। 

विभिन्न बैंक खातामा भएको नगद पनि उनले सार्वजनिक गरेका छन्। विश्वनाथ पौडेलका नाममा सानिमा बैंकमा रु. १३ लाख २३ हजार १९२, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रु. दुई लाख ५९ हजार ३४४ र सानिमा बैंकमा अमेरिकी डलर ६६ ७८ बराबर मौज्दात रहेको छ। त्यस्तै, प्रतिभा शर्माको नाममा सानिमा बैंकमा रु. १२ हजार ५४७, प्रभु बैंक लिमिटेडमा रु. चार लाख ७३ हजार ८२२ र सानिमा बैंकमा अमेरिकी डलर चार हजार ४४६ रहेको उल्लेख ।  

पौडेलका नाममा विभिन्न कम्पनीको प्रवर्द्धक तथा साधारण सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ। सबै सेयरको हालको बजार मूल्यअनुसार करिब १४ करोडबराबर छ। सानिमा बैंकको दुई लाख ४४ हजार १७६ कित्ता, सानिमा मिडल तमोर हाइड्रोपावरको एक लाख ८८ हजार कित्ता, ग्लोबेको प्रालिको एक लाख ८६ हजार ८३४ कित्ता, संयुक्त ऊर्जा हाइड्रोपावरको पाँच लाख कित्ता र चितवन इनर्जी लिमिटेडको दुई लाख ५० हजार कित्ता प्रवर्द्धक सेयर रहेको छ। 

त्यस्तै, पौडेलको नाममा सानिमा माई हाइड्रोपावरको ९२ हजार ५७९ कित्ता साधारण सेयर रहेको पनि विवरणमा देखाइएको छ। प्रतिभा शर्माको नाममा रहेको ग्लोबेको प्रालिको ७५ हजार कित्ता प्रवर्द्धक सेयरलाई पनि गनर्भर पौडेलको सम्पत्ति विवरणमा देखाइएको छ। त्यस्तै, शर्माको नाममा २०७७ भदौमा रु. ४४ लाखमा खरिद गरिएको सुजुकी कारलाई पनि गभर्नर पौडेलको सम्पत्ति विवरणमा खुलाइएको छ। अधिकांश सम्पत्तिको स्रोतका रूपमा स्वआर्जन र पैतृक सम्पत्ति देखाइएको छ।