
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा थुनछेक बहस जारी छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वकिलहरूको बहस सकिएपछि नेता नेपालका वकिलहरूले बहस थालेका छन्। बहस सकिए आजै थुनछेक आदेश आउनेछ। इजलासलाई साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने अधिकार हुन्छ।
नेता नेपालको पक्षबाट बहस गर्न ठुलो संख्यामा कानुन व्यवसायीहरू उपस्थित भएका छन्।
पतञ्जली योगपीठलाई हदबन्दीभन्दा धेरै जग्गा बिक्री गर्न मन्त्रिपरिषद्बाट अनुमति दिएको विषयमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। जून मुद्दामा उनी बुधबार अदालत उपस्थित भएका हुन्। २०६६ सालमा प्रधानमन्त्री हुँदा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले हदबन्दीको जग्गा बिक्री गर्न अनुमति दिएको थियो।