
सुरक्षासम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूह (बिसिजिएसआई)को १६औँ बैठक भारतको पुणेमा मंगलबार सकिएको छ । दुई दिन चलेको बैठकमा नेपाली सेनाका लागि रक्षा उपकरण आपूर्ति, तालिम, क्षमता विस्तार र सैन्य आदानप्रदानका क्षेत्रमा रक्षा र सुरक्षा सहकार्य सुदृढ पार्ने सहमति भएको छ ।
समूहको १५औँ बैठक १८ असोज ०८० मा पोखरामा भएको थियो । पोखरा बैठकमा दुई पक्षबिच बैठकको माइन्युट पुस्तिकामा हस्ताक्षर भएको थिएन भने यसपटक माइन्युटमा हस्ताक्षर भएको एक अधिकारीले जानकारी दिए ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) गेहेन्द्र राजभण्डारी तथा भारत सरकारको नेतृत्व विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मनु महावरले गरेका थिए । प्रतिनिधिमण्डलमा परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकारीहरू तथा नेपाली सेना र भारतीय सेनाका अधिकारीहरू सहभागी थिए ।
‘बैठकमा दुवै पक्षले सुरक्षा र रक्षा सहकार्यसँग सम्बन्धित विविध विषयजस्तै उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, विपत् राहत कार्य र सैन्य आदानप्रदानबारे फलदायी छलफल गरेका छन्,’ बैठकपछि मंगलबार भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिमण्डलले पारस्परिक रूपमा लाभदायक सहकार्यका सम्भावना खोज्ने क्रममा सार्वजनिक र निजी रक्षा क्षेत्रका उत्पादनस्थलको पनि भ्रमण गरेका छन् ।’ सन् २००३ मा स्थापित यो संयन्त्र द्विपक्षीय रक्षा र सुरक्षा सहकार्यका विषयमा समन्वय गर्ने एक संस्थागत छाता संयन्त्र हो ।