
जिल्लाको चन्द्रपुर नगरपालिका–१० स्थित बिनुवा टोलमा शौचालयको सेप्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ। मंगलबार साँझ करिब पौने आठ बजे घर नजिकै खेलिरहेका दुई वर्षीय रन्जे साह र दुई वर्षीया खुश्बु साह सेप्टी ट्यांकीमा खसेर गम्भीर घाइते भएका थिए ।
घटनास्थलमा पुगेको प्रहरी चौकी चेतनगरबाट खटिएको टोलीका अनुसार हृदय पासवानको घरको ट्वाइलेटमा ढक्कनको सट्टा प्लाइ राखिएको थियो । त्यही प्लाइमा टेकेर खेल्ने क्रममा गमिरा साहका छोरा रन्जे साह र जगशिस साहकी छोरी खुश्बु साह सेप्टी ट्यांकीमा खसेका थिए ।
स्थानीयको सहयोगमा तत्काल उद्धार गरी सरकारी अस्पताल चन्द्रपुर पुर्याइए पनि चिकित्सकले उपचारको क्रममा साँझ साढे आठ बजे दुबै बालबालिकाको मृत्यु भएको घोषणा गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले जानकारी दिए ।